४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

शेयर बजारमा सामान्य सुधार

काठमाडाैं- लगातार ओरालो लाग्दै आएको शेयर बजारमा मंगलवार सामान्य सुधार आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.०६ बिन्दुले बढेर एक हजार १०२.६४ बिन्दुमा पुगेको छ। 

ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३७ बिन्दुले बढेर २३४.२५ बिन्दुमा पुगेको छ। कुल १७४ कम्पनीको सात लाख ३३ हजार ४२२ कित्ता शेयर रु २२ करोड ५२ लाख ३१ हजार ४४३ मूल्यमा खरीद बिक्री भए। 

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर बढेको छ। व्यापार २.७ र अन्य उपसमूह ३.१५ बिन्दुले घटेको छ । यस्तै बैंकिङ २.०४, होटल ४.४१, विकास बैंक १.१५, जलविद्युत् ४.९८, वित्त ३.०५, निर्जीवन बीमा ३.०१, उत्पादन २८.६१, लघुवित्त ५.२८ र जीवन बीमा १२.१४ बिन्दुले बढेको छ। 

सामान्य बढेको बजारमा सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.४४ प्रतिशत, सेन्ट्रल फाइनान्स ४.५९, गुर्खाज फाइनान्स लिमिटेड ३.८५ र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३.५३ प्रतिशतले कमाएका छन्। यस्तै सिन्धु विकास बैंकका शेयरधनीले ७.९३, घलेम्दी हाइड्रोपावर लिमिटेड ४.९७, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ४.७६, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ४.२२ र मिथिला लघुवित्त वित्तीय संस्था ३.४४ प्रतिशतले गुमाएका छन्। 

यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड २६ लाख १६ हजार ११४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ८७ लाख ५३ हजार ६०० र एनआइसी एशिया बैंकको रु एक करोड २० लाख ८२ हजार ४४१ बराबरको कारोवार भएको छ। 

यस्तै, स्टकमा आज लाइफ इन्स्योरेन्स कम्पनी नेपालको मूल्य समायोजन भएको छ। कुल १२ प्रतिशत शेयर लाभांश प्रदान गरेपछि प्रतिकित्ता रु एक हजार ४३२ मा मूल्य समायोजन भएको हो । सो कम्पनीको औसत शेयर मूल्य रु दुई हजार १०३ रहेको छ। यसैगरी मेगा बैंक लिमिटेडको १० लाख ३० हजार ९४८ कित्ता शेयर लाभांश स्टकमा सूचीकृत भएको छ। रासस

प्रकाशित: २१ फाल्गुन २०७५ १२:०७ मंगलबार

शेयर_बजार नेपाल_स्टक_एक्सचेञ्ज कारोवार