१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

ट्रेकिङ गाइडको पारिश्रमिक २० प्रतिशत बढ्यो

काठमाडौं – ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले ट्रेकिङ गाइडको पारिश्रमिक बढाएको छ। टानका महासचिव आङपेम्बा शेर्पाले हालको पारिश्रमिकमा २० प्रतिशत बढाइएको जानकारी दिए।

शेर्पाका अनुसार ट्रेकिङरुट अनुसार गाइडले फरक–फरक पारिश्रमिक पाउँछन्। सोही पारिश्रमिकमा २० प्रतिशत बढाइएको हो। टानले असिस्टेन्ट गाइड, पोर्टर तथा सहयोगीको समेत २० प्रतिशतले पारिश्रमिक बढाएको जनाएको छ। बढ्दो मंहगीसँगै मजदुर संगठन तथा गाइडहरुले पारिश्रमिक बढाउन गर्न माग गर्दै आएका थिए। सोही अनुसार पारिश्रमिक बढाएर कार्यान्वयन गर्न सरोकारवाला सबैलाई मंगलबार सूचना जारी गरिएको टानले जनाएको छ।

गाइड, असिस्टेन्ट गाइड, पोर्टर तथा सहयोगीले हाल पाइरहेको पारिश्रमिकमा २० प्रतिशत बढाइएको टानले जनाएको छ।

बढाइएको पारिश्रमिक अनुसार अन्नपूर्ण तथा लाङटाङ क्षेत्रमा जाँदा गाइडले प्रतिदिन २१ सय रुपैयाँ पारिश्रमिक पाउनेछन्। सहायक गाइडले दुई हजार र सहयोगी मजदुरले १९ सय रुपैयाँ पारिश्रमिक पाउनेछन्। त्यसैगरी सगरमाथा क्षेत्रमा जाने गाइडले २३ सय, सहायक गाइड र सहयोगी मदजुरले दैनिक २१ सय रुपैयाँ पारिश्रमिक पाउनेछन्। खाना तथा बस्नको व्यवस्था गाइड आफैंले गर्नुपर्छ। टानले वृद्धि गरेको पारिश्रमिक गाइडलाई दिनको लागि सबै कम्पनी तथा संघसंस्थालाई पत्रचार गरिसकेको छ। महासचिव शेर्पाका अनुसार टानले तोकेको भन्दा कम पारिश्रमिक लिएर काम नगर्न र नलगाउन सूचना जारी गरिएको छ।

टुर गाइडको पनि बढ्यो

यसअघि टुर गाइडको पारिश्रमिक पनि बढेको थियो। नाटाका अध्यक्ष सिएन पाण्डेका अनुसार दुई साताअघि टुर गाइडको पारिश्रमिक २० प्रतिशतले वृद्धि गरिएको हो। टुर गाइडको पारिश्रमिक पर्यटकको संख्या अनुसार फरक पर्छ।

त्यसैगरी आधा दिन र पूरा दिन तथा ठाउँ अनुसार पारिश्रमिक निर्धारण गरिन्छ। उपत्यकामा सामान्यतया आधा दिन (चार घण्टा)को टुर हुन्छ। त्यसमा पर्यटक अनुसार पारिश्रमिक निर्धारण हुन्छ। बढाइएको पारिश्रमिक अनुसार एक देखि दुई जना पर्यटक आधा दिन घुमाउँदा गाइडले  १४ सय ६५ रुपैयाँ पाउँछन्। त्यसैगरी, तीनदेखि ६ जना घुमाउँदा १८ सय १५ पाउँछन्। २० भन्दा बढी पर्यटक घुमाउँदा २६ सय २५ पाउँछन्। उपत्यकामा टुर गाइडले मात्र पर्यटक घुमाउन पाउँछन्। ट्रेकिङ गाइडले ट्रेकिङ रुटमा पर्यटक घुमाउँछन्।

 

प्रकाशित: १५ फाल्गुन २०७५ ०२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App