७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

दुई दिने साना किसान सम्मेलन हुने

काठमाडौं – राजधानीमा आगामी बिहीबारदेखि दुई दिने (फागुन १६ र १७ गते) साना किसान सम्मेलन हुने भएको छ। ‘साना किसानको समृद्धि : कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ भन्ने नाराका साथ साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (तत्कालीन साना किसान विकास बैंक), नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड र साना किसान सहकारी संस्था लिमिटेडले सम्मेलन आयोजनामा गर्न लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने आयोजकले जनाएको छ।

सम्मेलनमा मुलुकभरका करिब एक हजार साना किसान प्रतिनिधि एवं विभिन्न क्षेत्रका राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञ, अन्वेषक, अध्येता, अभ्यासकर्ता, विद्यार्थी, योजनाविद् तथा नीति निर्माता लगायत करिब १२ सयको सहभागिता रहने आयोजकले जनाएको छ। 

‘साना किसानमा उद्यमशीलता विकास गराई कृषि सहकारीमार्फत कृषि क्षेत्रको रुपान्तरण गर्ने अभियान नै साना किसान विकास कार्यक्रमको अबको दिशा हो भन्ने कुरामा आम साना किसानलाई परिचालन गर्न सघाउ पुर्‍याउन यो सम्मेलन आयोजना गर्न लागिएको हो,’ आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘गरिबी निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, उत्पादन विकास, रोजगारी सिर्जना तथा पर्यावरण संरक्षण जस्ता दिगो विकास लक्ष्यले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्ने सम्बन्धमा सम्मेलनमा १४ सत्रमा प्रस्तुत हुने २८ वटा कार्यपत्र तथा १० औं भिडियो एवं अनुभव केन्द्रित हुनेछन्।’ ती कार्यपत्र तथा प्रस्तुतिमाथि सम्बन्धित विज्ञबाट टिप्पणी र आमसहभागीबाट प्रश्नोत्तर समेत हुनेछ।

२०३२ देखि सञ्चालित साना किसान विकास कार्यक्रमले ७० जिल्लामा करिब नौ सय साना किसान कृषि सहकारी संस्थाको स्थापना गरी आठ लाख विपन्न तथा साना किसान परिवारलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।

 

प्रकाशित: १४ फाल्गुन २०७५ ०२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App