१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

३१ बर्षपछि दोहोर्‍याएर शिलान्यास

सहजपुर–बीपीनगर–बोगटान सडक खण्डको सिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर : नागरिक

कैलाली – २०४४ सालमा तत्कालीन जिल्ला विकास समितिका सभापति भरतबहादुर खड्काले सिलान्यास गरेको सहजपुर–बीपीनगर–बोगटान सडक खण्डको ३१ वर्षपछि मंगलबार एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सिलान्यास गरेका छन्। सो सडक खण्ड कालोपत्रे गर्नका लागि भारतको एक्जिम बैंकमार्फत् भारत सरकारले दुई अर्ब रुपैयाँ ऋण सहयोग गरेको हो। 

नेपालको पूर्वाधार विकासका लागि पाँच सय ५० मिलियन डल खर्च गरिने नेपाल–भारत सरकारबीच २०७१ मंसिर ९ गते सहमति भएको थियो । नेपालका १७ स्थानमध्ये डोटीको बोगटान  सडक खण्डलाई कालोपत्रे गर्न छनोट गरिएको थियो। सडक कालोपत्रेको सुरुवातका लागि डोटीको बीपीनगर पुगेका प्रधानमन्त्री ओलीले स्थानीयलाई सम्बोधन गर्दै लामो समयदेखि कच्ची सडकका रुपमा रहेको सहजपुर–बीपीनगर–बोगटान सडक खण्डलाई कालोपत्रे बनाएर यहाँको कृषिजन्य उत्पादनलाई टेवा पुर्‍याउने लक्ष्य रहेको उनले बताए। सडक शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अब सडक कालोपत्रे भएपछि बोगटान क्षेत्रको कृषि उत्पादनले बजार पाउने र किसानलाई सहज हुने बताए। सम्बोधनकै क्रममा उनले भने, ‘अब जनताले निरास हुनुपर्दैन, लोकतान्त्रिक गणतन्त्रात्मक देश भएकाले अब जनताले चाहेको काम हुन्छ।’ उनले जनताको सरकार भएकाले कसैले पनि भोकै मर्नु नपर्ने बताए। बेरोजगार युवालाई प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने बताउँदै उनले भने, ‘अब कोही पनि युवा बेरोजगार भएर विदेशी भूमिमा पसिना बगाउनु पर्ने छैन, स्वदेशमै रोजगारी सिर्जना हुनेछ।’ 

कांग्रेसका तर्फबाट सुदूरपश्चिम प्रदेश सभाका सांसद तथा तत्कालीन बोगटान सडकको सिलान्यासकर्ता भरतबहादुर खड्काले ३१ वर्षअघि सिलान्यास भएर सहजपुरदेखि बीपीनगरसम्मको १८ किलोमिटर सडकको ट्र्याक खोलिएको ठाउँमा अहिले आएर पुनः सिलान्यस गरिनु हास्यास्पद हो।’ २०३८ मा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनपछि पहिलोपटक कैलालीको सहजपुरदेखि डोटीको बीपीनगरसम्मको १८ किलोमिटरका लागि २०४४ मा सडक सिलान्यास भएको थियो। पछि सोही सडकलाई बोगटान सडक नामकरण गरिको हो। 

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने
डडेल्धुराको स्याउलेमा रहेको नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनको उद्घाटनपछि डोटीको बीपीनगर पुगेर सडक सिलान्यास गरेका प्रधानमन्त्री ओलीले मंगलबार सुदूरपश्चिम प्रदेशमै बस्ने भएका छन्। उनले बुधबार धनगढीस्थित सुदूरपश्चिम प्रदेशको प्रदेश सभा भवनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। ओलीले प्रदेश सभा भवनमा सम्बोधन गरेपछि काठमाडौं फिर्ता हुने तालिका रहेको बताइएको छ।

प्रकाशित: ८ फाल्गुन २०७५ ०१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App