१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

कोलकाता बन्दरगाहमा इसिटिएस शुभारम्भ

कोलकाता बन्दरगाहमा ‘इसिटिएस’ प्रणाली उद्घाटन गरिदै। तस्विर/ नागरिक

वीरगन्ज - नेपाली आयातकर्ताले तेस्रो मुलुकसँगको व्यापारमा उपयोग गर्दै आएको भारतको कोलकाता बन्दरगाहबाट रेलमार्फत हुने कन्टेनर ढुवानीमा शुक्रबार साँझ इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (इसिटिएस)को शुभारम्भ भएको छ।  कोलकातास्थित भारतीय भन्सार कार्यालयको आयोजनामा राखिएको ‘इसिटिएस’को भारतका लागि कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्याल र भारतीय अधिकारीले उद्घाटन गरेका थिए। उनीहरुले ‘इसिटिएस’ जडित कन्टेनर लिएर कोलकाताबाट रक्सोल हुँदै वीरगन्ज सुक्खा बन्दरगाह आउन लागेको मालवाहक रेललाई हरियो झण्डा देखाएर बिदा गरेका थिए। 

‘निकै सुखद कुरा हो यो, नेपालको लामो प्रतिक्षापछि यो योजना साकार भएको छ,’ उद्घाटन कार्यक्रमका प्रमुख अतिथि माहावाणिज्यदूत अर्यालले भने, ‘तेस्रो मुलुकसँगको नेपाली आयात व्यापार नयाँ चरणमा प्रवेश गरेको छ।’ यसलाई दीर्घकालीन रुपमा सफल तुल्याउन नेपाल र भारत दुवैतिरबाट सहकार्य र समन्वयले निरन्तरता पाउनुपर्छ।’

कार्यक्रममा बोल्दै भारतीय भन्सारका कमिसनर मनिष चन्द्रले कागजी प्रक्रिया हटेपछि नेपालले व्यापारमा सहजता महशुस गर्ने टिप्पणी गरे। कोलकाता र हल्दिया बन्दरगाहको स्वामित्व ग्रहण गर्ने भारत सरकारको संस्था कोलकाता पोर्ट ट्रस्टका अध्यक्ष बिनित कुमारले अब नेपाली आयात व्यापार धेरै झन्झटबाट मुक्त भएको बताए। 

कोलकाता बन्दरगाहप्रति नेपालका आयातकर्तामा नराम्रो बन्न थालेको छवी यसले सुधार गर्दै लैजाने उनको भनाइ थियो। नेपाली कार्गो व्यवस्थापनमा बन्दरगाहलाई अब सहजता हुने उनले बताए। रेलमार्फत नेपाली कन्टेनर ढुवानी गर्ने संस्था भारतीय कन्टेनर निगम लिमिटेड (कन्कोर)का कोलकातास्थिजत महाप्रबन्धक एसके रहमान, कोलकाता पोर्ट ट्रस्टका डेपुटी अध्यक्ष बालाजी अरुणकुमार लगायतले शुभकामना व्यक्त गरेका थिए। 

यो प्रणाली लागू हुनासाथ नेपालका लागि हुने कन्टेनर ढुवानीमा भन्सार प्रक्रिया हटेको छ। कोलकाता पोर्ट ट्रस्ट मातहतको हल्दिया बन्दरगाहमा पनि यही प्रणालीमा शुक्रबारदेखि आएको छ। शुक्रबार साँझ हिँडेको मालवाहक रेलमा उद्घाटनका २० वटा ‘इसिटिएस’ जडित कन्टेनर हालेर हरियो झण्डा देखाइएको हो। यसबाट समुद्रपारको व्यापारमा पारवहन लागत न्यूनीकरण हुने सरोकारवालाले बताएका छन्। पहिलो चरणमा कोलकाताबाट रेलमार्गमार्फत हुने ढुवानीमा यो प्रणाली लागू गरिने र क्रमशः सडक मार्गमा पनि कार्यान्वयनमा ल्याइने कोलकातास्थित नेपाली महावाणिज्यदूत अर्यालले बताए। 

प्रकाशित: ५ फाल्गुन २०७५ ०५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App