९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

आदित्य ट्रेडलाई ३६ करोड मागदावी सहित मुद्दा

नागरिक - राजस्व अनुसन्धान विभागले गैर कर विजक जारी गरी राजस्व चुहावट गरेको र विदेशी विनिमय अपचलन गरेको आरोपमा आदित्य ट्रेड सप्लायर्सका संचालक अमित कुमार सहनीलाई विगो र जरिवाना सहित ३६ करोड एक लाख रुपैयाँ मागदावी सहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायरा गरेको छ।

भारतीय नागरिक सहनीले आर्थिक वर्ष २०६७/६८ देखि २०७५/७६ को ८ वर्षसम्म राजस्व चुहावट र विदेशी विनिमय अपचलन गरेको रकमको जरिवाना समेत गरी कुल ३६ करोड एक लाख रुपैयाँ पुगेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए। सो मागदावी रकममध्ये १४ करोड ९५ लाख राजस्व चुहावटतर्फको हो। उक्त रकमको जरिवाना सहित २९ करोड ९० लाख हुन्छ’, उनले भने ‘बाँकी दुई करोड तीन लाख विदेशी विनिमय अपचलनतर्फको हो। राजस्व चुहावटतर्फ ९ अर्ब ६१ करोड भन्सार महसुल हो भने तीन करोड १३ लाख मूल्य अभिवृद्धि कर  र  दुई लाख २० करोड आयकर गरी १४ करोड ९५ लाख रहेको मैनालीले बताए।

विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १७ (१) बमोजिम विगो असुली गर्न लागिएको हो। दुई करोड तीन लाख रुपैयाँ विगोको तीन गुणासम्म जरिवाना ६ करोड ११ लाख असुल गरी कैद सजायको समेत माग गरिएको छ।  विभागले भैरहवा नाका आसपासबाट भन्सार चोरी पैठारी गरी पैठारी गरेका मालवस्तुको भन्सार महसुल, मूल्य अभिवृद्धि कर(भ्याट) र आयकर समेत छली गरेको आरोपमा मुद्दा दायरा गरेकाे महानिर्देशक मैनालीले जानकारी दिए। राष्ट्र बैंकले निर्दिष्ट गरेको सीमा सुविधाको दुरुपयोग गरी एटीएमलगायतका माध्यमबाट भारतका विभिन्न सहरबाट रकम झिक्नेकाम निज सहनीले गरेका छन्। 

 

प्रकाशित: १ फाल्गुन २०७५ ११:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App