२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

आयातका वस्तुको सूची हेरफेर गर्दैछौंः मन्त्री खतिवडा

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले वैदेशिक मुन्द्रा सञ्चितीमा परेको चापलाई व्यवस्थापन गर्न आयात गरिने वस्तुको सूची परिवर्तन गर्न थालिएको बताएका छन्। प्रतिनिधिसभाको बुधवारको बैठकमा सांसदले गरेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री खतिवडाले यस्तो धारणा राखेका हुन्।

प्रश्नको जवाफ दिँदै उनले भने, ‘अहिले पुँजीगत काममा प्रयोग हुने सामानको आयात बढेको छ। यसले अर्थतन्त्रलाई सकारात्मक गति दिन्छ। विलासिता र महंगो मूल्यका उपभोग्य सामानको आयात घटाउने विषयमा हामीले हेर्दैछौं। यसका लागि आयातको सूची परिवर्तन गर्नुपर्छ।’

मन्त्री खतिवडालाई गाउँपालिकामा बैंक तथा वित्तीय संस्थाको सेवा नपुगेको विषयमा समेत सासंदले प्रश्न गरेका थिए। उनीहरुको प्रश्नको उत्तरमा मन्त्री खतिवडाले आगामी असार मसान्तसम्म सबै स्थानीय तह बैंकको संजालमा जोडिने बताए। उनले भने, ‘सुरक्षाका कारण पनि बैंकहरु स्थानीय तहमा जान अप्ठेरो मानेका हुन्। यो आर्थिक वर्षको अन्तिमसम्म सबै स्थानीय तहमा बैंक पुगी सक्छन्।’

विदेशी मुद्रा सञ्चिती व्यवस्थापनका लागि सरकारले यसअघि नै दुई हजार पाँच सयको सटही सुविधालाई १ हजार ५ सयमा झारी सकेको छ। सासंद गगन थापाको सटही सुविधा अझै घट्दै जाने हो कि भन्ने प्रश्नमा मन्त्री खतिवडाले भने, प्रतिव्यक्ति आय भन्दा बढीको सटही सुविधा दिने कि नदिने भन्ने विषयमा वहस गर्ने बेला भएको छ। अहिलेलाई सरकारले यसलाई घटाउने कुनै सोंच बनाएको छैन।’

प्रकाशित: २३ माघ २०७५ १०:४४ बुधबार

संसद आयात अर्थमन्त्री