१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

धानको बाेरा लाेड गरिएकाे ट्रकमा तस्करीको कपडा

धानको गाडीबाट बरामद भएको तस्करीको कपडा। तस्विरः रितेश/नागरिक

वीरगन्ज – पर्साको ठोरीमा प्रहरीले धानको बोरा लोड गरिएको ट्रकबाट आइतबार साँझ १९ पोका कपडा बरामद गरेको छ।
उक्त कपडाको मूल्य २२ लाख रुपैयाँ पर्ने प्रहरीको प्रारम्भिक अनुमान छ। ठोरी हुँदै चितवनको नारायणगढ जाँदै गरेको लु १ ख ३३१० नम्बरको ट्रक पर्साको निर्मल वस्तीबाट एक सय पाँच बोरा धान लोड गरेर हिँडेको थियो। प्रहरीले इलाका प्रहरी कार्यालय ठोरीअगाडि रोकर जाँच गर्दा १९ वटा पोकामा कपडा फेला परेको हो।

तस्करीमा संलग्न व्यक्तिले कपडा तस्करीका नयाँनयाँ तरिका अपनाउँदै आएका छन्। पछिल्लो समय धान बोक्ने ट्रक र ट्याक्टरमा कपडा तस्करी गरिएका घटना सार्वजनिक भएका छन्। एक साताभित्र सुरक्षाकर्मीले दुइटा बेग्लाबेग्लै घटनामा धान ओसार्ने ट्याक्टर र ट्रकबाट करिब ७० लाख मूल्यको तस्करीको कपडा बरामद गरेको छ। मुलुकको आयात–निर्यात व्यापारको करिब एक तिहाइ हिस्सा यस्तै अनौपचारिक रुपमा भएको बताइन्छ।

कुर्ता–सुरुवाल तीन सय चार सेट, कोट र पाइन्टको कपडा ६ सय मिटर, सर्टको कपडा तीन हजार दुई सय ८० मिटर, कुर्ताको कपडा दुई हजार ६० मिटर र साडी ८८ पिस १९ वटा पोकामा ल्याइएको थियो। सिमावर्ती भारतीय बजार इनर्वासम्म ल्याएका भारतीय कपडा तस्करले सीमा पार गराई निर्मल बस्तीसम्म पुर्‍याएर धानको ट्रकमा हालेको अनुमान गरिएको छ। चितवनको माडी नगरपालिका–२, ढिकुनका ट्रकधनी ऋषि सुबेदी, चालक प्रकाश दराई र सहचालक सुजन दराईलाई प्रहरीले ट्रकसहित पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रेवति ढकालले बताए।

एक साता अघि पनि आइतबारै सशस्त्र प्रहरी बलले पर्साको भीखमपुरबाट ४० लाख मूल्यको ५० बन्डल कपडा धान बोकेको ट्याक्टरबाट बरामद गरेको थियो। धान लिएर वीरगन्ज आउँदै गरेको ट्याक्टरलाई सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा कपडा भेटेको थियो। प्रहरी ग्रामीण भेगमा तस्करी नियन्त्रण गर्न सक्रिय देखिएको बेला वीरगन्ज महानगरपालिकाको छप्कैया, भकुवा लगायत साना बाटोहरु अहिले तस्करी रुटमा परिणत भएको स्थानीय बताउँछन्।

प्रकाशित: २२ माघ २०७५ ०१:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App