७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

उखुको मूल्य न्यूनतम पाँच सय ४५ ताेक्न माग

सर्लाहीको दक्षिणी क्षेत्रस्थित खेतमा फुलिसकेको उखु। तस्बिर : टंक क्षेत्री/नागरिक

सर्लाही - किसानले यस वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल न्यूनतम पाँच सय ४५ रुपैयाँ हुनुपर्ने माग गरेका छन्। नेपाल उखु उत्पादक महासंघ, नेपाल उखु उत्पादक किसान संघ, मिलगेट उखु उत्पादक संघ, किसान हकहित समिति सर्लाहीका नेताहरुको संयुक्त बैठकले न्यूनतम मूल्य पाँच सय ४५ रुपैयाँ हुनुपर्ने माग गरेको हो।

उखु र चिनीको मूल्य तय गर्न भन्दै अध्ययन प्रतिवेदन पेस गर्न सरकारद्वारा केही महिनाअघि गठित कार्यदलका सदस्यसमेत रहेका नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले लागतका आधारमा उखुको प्रतिक्विन्टल न्यूनतम पाँच सय ४५ रुपैयाँ तय हुनुपर्ने बताए।

‘किसानको परिश्रम एवं लागतका आधारमा उखुको प्रतिक्विन्टल न्यूनतम पाँच सय ४५ रुपैयाँ तय हुनुपर्छ,’ मैनालीले भने, ‘परिश्रम र लागतका आधारमा उचित मूल्य तय भएन भने किसान आगामी दिनमा उखुखेती गर्ने कि नगर्ने भन्नेबारे सोच्न बाध्य हुनेछन्।’ त्यस्तै पुस तेस्रो साता बित्न लाग्दासमेत चिनी उद्योगहरु सञ्चालन नहुँदा उखु खेतमै सुक्न थालेकाले अविलम्ब उद्योग सञ्चालनको वातावरण बनाउन समेत उखु किसान सम्बद्ध संघ संगठनले माग गरेका छन्। किसानलाई गलाउने उद्देश्यले उद्योगपतिहरुले विभिन्न बहानामा उद्योग सञ्चालनमा ढिलाइ गरेको र सरकारसमेत मुकदर्शक बनेको मैनालीले आरोप लगाए।

सात दिनभित्र उद्योग सञ्चालन गर्न तथा गत वर्षकै उखुको सरकारले किसानलाई अनुदानबापत दिने भनेको प्रतिक्विन्टल ६५ रुपैयाँ ३६ पैसा र उद्योगले दिन बाँकी प्रतिक्विन्टल पाँच रुपैयाँ ३६ पैसा समेत अविलम्ब भुक्तानी गर्न किसानले माग गरेका छन्। सरकारले किसानलाई दिने भनेको अनुदान अन्तर्गतको २६ करोड रुपैयाँभन्दा बढी बजेट गत असोजमै मलंगवास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमा आएर थन्किरहेको छ।

आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यले उखु किसान सम्बद्ध संघसंगठनले पुस २० गते शुक्रबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन बजारमा नाराजुलुससहित इलाका प्रशासन कार्यालयमा ज्ञापन पत्र दिने कार्यक्रम समेत राखेका छन्। माग पूरा नभए चरणबद्ध रुपमा सशक्त आन्दोलन गरिने महासंघ अध्यक्ष मैनालीले चेतावनी दिए।
मुलुकमै सबैभन्दा बढी उखु खेती हुने सर्लाहीमा तीनवटा चिनी उद्योग रहेका छन्। हरिवनस्थित इन्दुशंकर चिनी उद्योग, पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर पहिलादेखि नै सञ्चालनमा रहेको सर्लाहीमा यस वर्षदेखि बगदहस्थित महालक्ष्मी सुगर मिलले समेत उखु क्रसिङ्ग गर्ने तयारी गरेको छ।

प्रकाशित: २० पुस २०७५ ०४:४१ शुक्रबार

किसान उखुको_मूल्य