१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

‘कृषि क्षेत्रको विकास विना समृद्धि असम्भव’

मकवानपुर - संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकास मन्त्री चक्रपाणी खनालले कृषकहरुको जीवनमा परिवर्तन नआई कृषिप्रधान देशको अवस्थामा सुधार नआउँने बताएका छन्। जनसंख्याको करिब ६६ प्रतिशत कृषि पेशामा आवद्ध रहेको भन्दै उनले झण्डै दुई तिहाई हिस्साले समृद्धी ल्याउन भूमिका खेल्नुपर्ने बताए।

मकवानपुर कुखुरा व्यवसायी संघको बिहीबार हेटौंडामा तेस्रो अधिवेशन तथा १२ औं साधारण सभाको उदघाटन गरेपछि उनले सबै किसानलाई सरकारले प्रत्यक्ष अनुदान दिने व्यवस्था गर्न लागेको खुलासा गरे। ‘नेपालको करिब २३ प्रतिशत जमिन मात्र खेती योग्य रहेको छ,’ उनले भने, ‘त्यसमध्ये ३८ प्रतिशत जमिन बाँझो रहेकोले कृषि पेशामा आकर्षण बढाउन सरकार गम्भीर छ।’ ठुला आयोजना निर्माणमा मात्र धेरै अनुदानको व्यवस्था रहेको भन्दै साना किसानलाई पनि सहज रुपमा अनुदान पाउने व्यवस्था गर्न सरकार लागि परेको उनले बताए।

धेरै कृषक कृषि क्षेत्रबाट निरन्तर मारमा परेकाले छोराछोरी बैदेशिक रोजगारीमा गएको बताउँदै उनले भने, ‘कृषि क्षेत्रलाई सुधार्न सके सबैभन्दा धेरै रोजगारी सिर्जना गर्न सकिन्छ।’ उर्जा, पर्यटनमा रोजगारीको सम्भावना भएपनि सबैभन्दा धेरै सम्भावना कृषिमै रहेको जिकिर गर्दै मन्त्री खनालले कृषि क्षेत्रको विकास विना समृद्धी नआउने बताए। नेपालको बेरोजगारी समस्या समाधानको लागि कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उनले कृषिमा प्रविधियुक्त आधुनिक प्रविधी भित्र्याउन सके आमुल परिवर्तन आउने बताए।

कृषि ऋणको व्याजदरलाई न्यून नबनाई कृषी क्षेत्रको विकास असम्भव रहेको भन्दै उनले व्याजदर घटाएर बैदेशिक रुपमा प्रतिष्र्धी बनाईने बताए। ‘बैंकको ऋणमा सरकारले पाँच प्रतिशत अनुदान दिए पनि सात प्रतिशत व्याजमा कसैले कृषि पेशा गर्छ ?,’ उनले प्रतिप्रश्न गरे। कृषि अनुदानलाई सहज र प्रभावकारी बनाउन सरकारले कसरत गरिरहेको भन्दै उनले कृषि ऋणलाई बढीमा तीन प्रतिशतमा सिमित राख्न कृषक बैंक स्थापनाको तयारी भईरहेको बताए। भारत लगायत तेस्रो मुलुकबाट कृषि प्रधान भनिने नेपालले चामल, माछा, मासु, तरकारी, फलफूल आयात गर्नु दुःखद भएकोले भन्दै उनले कृषि क्षेत्रलाई व्यवसायिकरण र किसानलाई आत्मनिर्भर बनाउनु अति आवश्यक रहेको जिकिर गरे।

६६ प्रतिशत जनता कृषिमा निर्भर रहेपनि वार्षिक बजेटको अति न्यून करिब साँढे दुई प्रतिशत मात्र बजेट छुट्याइएको भन्दै उनले यसप्रति सरकार गम्भीर हुनुपर्ने बताए। वीरगंजमा बन्द रहेको कृषि औजार कारखानालाई समयानुकुल सञ्चालन गर्न सरकार लागेको भन्दै उनले कृषि पेशालाई मर्यादित र सम्भावनायुक्त बनाउन सरकार लागिरहेको बताए। कृषि क्षेत्रको विकास र प्रवद्र्धनसँगै किसानको हकहितका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बीच समन्वय गरी अगाडी बढ्न ढिला गर्न नहुनेमा पनि उनले जोड दिए।

कार्यक्रममा तीन नम्बर प्रदेश सांसद प्रेमबहादुर पुलामी, प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गी, नेपाल पोल्ट्री महासंघका सचिव शिवराज केसी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगायतले कृषि तथा पशु, पन्छी व्यवसायलाई गुणस्तरीय रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए। मकवानपुरमा साना–ठूला गरि कुखुरा व्यवसायीको ३ अर्ब भन्दा बढी लगानी रहेको बताईएको छ।

प्रकाशित: ८ पुस २०७५ ०३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App