१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

तीन विकल्पमा निगम

काठमाडौं - वित्तीय संकटमा परेको नेपाल वायुसेवा निगमले दुई वाइड बडी जहाज किन्दा लिएको ऋणको किस्ता (ब्याज र साँवा) बुझाउन नसकेपछि के गर्ने भन्ने विकल्पमा अल्झिएको छ।

लामो दुरीको अन्तर्राष्ट्रिय उडान गर्ने भन्दै निगमले दुई सय ७४ सिटे दुई थान ‘ए ३३०–२००’ सिरिजका वाइड बडी जहाज खरिद गर्न नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषसँग १२–१२ अर्ब रुपैयाँ ऋण लिएको थियो। निगमले १५ वर्षका लागि लिएको ऋणको तीन–तीन महिनामा एक अर्ब १३ करोड रुपैयाँका दरले किस्ता बुझाउनु पर्छ। किस्ता बापतको रकम बुझाउन नसकेपछि निगम कसरी यसको व्यवस्थापन गर्ने भन्नेमा अल्झिएको हो।

– आफ्नै आम्दानीबाट तिर्ने, – सरकारसँग ऋण लिने, – साँवामा गाभ्ने

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जहाज पूर्ण रुपमा सञ्चालनमा नआउँदासम्म निगमलाई किस्ता हाल्न समस्या भएको जानकारी दिए। ‘निगमले पुस र चैतमा तिर्ने किस्ताका लागि समस्या हुने देखिएको छ,’ अध्यक्ष खरेलले भने, ‘त्यसको समाधान कसरी गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौं।’ उनका अनुसार निगमसँग यसका लागि तीनवटा विकल्प छन्। पहिलो सरकारसँग ऋण लिने, दोस्रोमा किस्ता रकमलाई साँवा बनाउने र तेस्रोमा निगमको आफ्नै आम्दानीबाट तिर्ने।

‘ठूलो रकम भएकाले तत्काललाई निगम आफैंले कमाएर किस्ता हाल्ने सम्भावना कम छ,’ उनले भने, ‘अब हामी कि सरकारसँगै पैसा लिन्छौं, त्यो विकल्प नभएको खण्डमा लगानी कोष र सञ्चय कोषको किस्ता साँवामा रुपान्तरण गर्छाैं।’ सरकारसँग ऋण लिने र कोषसँग साँवा बनाउने दुवै विषयमा निगमले छलफल गरिरहेको उनले बताए।
निगमले वाइड बडी जहाजलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सकेको छैन। जहाजको आम्दानीभन्दा खर्च बढी भएपछि निगम वित्तीय संकटमा परेको छ। निगम त्रैमासिक रुपमा पुसमा तिर्नुपर्ने किस्ता पनि तिर्न सक्ने अवस्थामा छैन।

पुसमा तिर्नुपर्ने निगमको दोस्रो किस्ता हो। पहिलो वाइड बडी गत असार १४ र दोस्रो साउन १० मा काठमाडौं आएपछि किस्ता सुरु भएको थियो। तीन–तीन महिनामा हाल्नुपर्ने पहिलो किस्ता असोजमा चुक्ता गरिसकेको छ। निगमका अनुसार ऋण सम्झौता गर्दै पहिलो किस्तामा ब्याज मात्रै हाल्ने सहमति भएको थियो। सोही अनुसार पहिलो किस्ता अन्तर्गत ब्याजमात्रै ७९ करोड रुपैयाँ हालेको निगमले जनायो। पहिलो किस्तामा ब्याजमात्रै हाल्न पनि निगमको आम्दानीले पुगेको थिएन। निगमका अनुसार आम्दानीबाट अपुग रकम आन्तरिक स्रोतबाट व्यवस्था गरिएको थियो। तर, दोस्रो किस्ताको रकम कुनै उपायबाट व्यवस्था गर्न सक्ने अवस्थामा निगम छैन।

निगमका अनुसार किस्ता हाल्न करिब ५० करोड जति जम्मा भएको छ। आम्दानीको रकमले मात्रै नपुग्ने भएपछि दोस्रो त्रैमासिक (पुस) किस्ताको लागि निगम विकल्प खोज्न थालेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार निगमले सरकारसँग यसअघि नै २० अर्ब रुपैयाँ मागेको छ। मन्त्रालयले निगमलाई पैसा दिन अर्थ मन्त्रालयसँग अनुरोध पनि गरिसकेको छ। तर, निगमलाई पैसा दिन अर्थ मन्त्रालय सकारात्मक नरहेको मन्त्रालयका सूचना अधिकारी समेत रहेका आचार्यले बताए। ‘निगमलाई पैसा दिन अर्थ मन्त्रालय त्यत्ति सकारात्मक देखिन्न,’ उनले भने, ‘सरकारले नदिएपछि किस्ताको विषयमा सायद निगमले केही सोच्दै होला।’ उनका अनुसार निगम आफूले विकल्प खोज्नुपर्छ। निगमले कुनै हालतमा नसकेको खण्डमा सरकारको तर्फबाट सोचिनेछ।

निगमले यसअघि श्वेतपत्र जारी गरेर पनि निगमलाई पैसा आवश्यक परेको जनाएको छ। तर, सरकार पैसा दिन नसक्ने पक्षमा देखिएकाले निगमले किस्ता रकमलाई साँवा नै बनाउने तयारी थालेको छ। खरेलका अनुसार साँवा बनाउने विषयमा छलफल चलिरहेको छ। दुई किस्तालाई साँवा बनाएमा त्यसपछिको किस्ता भने निगमले आफ्नै आम्दानीबाट तिर्न सक्छ।

फागुनभित्र निगमका वाइड बडी जहाज कोरिया, जापान लगायत देशमा उड्न थाल्नेछन्। त्यसैगरी, निगमसँग अहिले भइरहेको आन्तरिक र बाह्य उडान भर्ने सबै जहाज पूर्ण सञ्चालनमा आउनेछन्। अहिले निगमसँग दुई सय ७४ सिटे दुईथान ‘ए३३०–२००’ वाइड बडी, एक सय ५८ सिटे दुईथान ‘ए३२०–२००’ न्यारो बडी र एक सय ९० सिटे एकथान ‘बि७५७–२००’ सिरिजको बोइङ छ। अन्तर्राष्ट्रिय उडान गर्ने यी पाँच जहाजमध्ये बोइङ ग्राउन्डेड छ। केही हप्तामै उक्त गाउन्डेड बोइङ मर्मत गरेर उडाउनको लागि तयारी गरिने खरेलले जानकारी दिए।

त्यसैगरी, आन्तरिक उडानको लागि ५८ सिटे दुईथान ‘एमए–६०’ छन्। सुगम क्षेत्रमा उडान गर्ने यी दुई जहाजमध्ये पनि एउटा ग्राउन्डेड छ। १७ सिटे चार ‘वाई१२–ई’ मध्ये दुईवटा ग्राउन्डेड छन्। त्यसैगरी, १९ सिटे दुईवटा ‘डिएचसी६–ट्विनअटर’ मध्ये एउटामात्रै सञ्चालनमा छ।

आन्तरिक उडान गर्ने गाउन्डेड सबै जहाज फागुनभित्र पूर्ण रुपमा मर्मत हुने निगमले जनाएको छ। यी सबै जहाज मर्मत भएपछि सञ्चालनमा आउने र सोही अनुसार आम्दानी हुने अनुमान निगमको छ। तर, आन्तरिक उडान गर्ने जहाज पूर्ण रुपमा सञ्चालनमा आउँदैमा निगमको आम्दानी बढ्ने भने देखिँदैन। निगमको आम्दानी बढाउन वाइड बडी र न्यरो बडी जहाजकै गन्तव्य थप्नुपर्ने देखिन्छ। अहिले वाइड बडी र न्यारो बडी जहाज भारतको नयाँ दिल्ली, मुम्बई, बैंगलोर, मलेसियाको क्वालालम्पुर, कतारको दोहा, दुबई, हङकङ र बैंकक लगायत छोटा गन्तव्यमा उडिरहेका छन्।

निगमले चीन, जापान, कोरिया, अस्ट्रेलिया, युरोप, अमेरिका जस्ता लामो दुरीमा उडाउन ल्याएको दुईवटा वाइड बडी पनि गन्तव्य तय गर्न नसक्दा त्यही न्यारो बडीले उडान गरिरहेकै छोटो दुरीमा उडाइरहेको छ। लामो गन्तव्यमा उडाउन वाइड बडी जहाज खरिद गर्न सरकारले २०७४ वैशाख ७ गते करिब २५ अर्ब रुपैयाँमा जमानी बस्ने निर्णय गरेको थियो। त्यसपछि निगमले दुई वाइड बडी जहाज खरिद गर्न सञ्चय कोष र लगानी कोषबाट १२–१२ अर्ब ऋण लिन सम्झौता गरको थियो। त्यसपछि सञ्चय कोष र लगानी कोषबाट रकम किस्ता किस्तामा ल्याएर दुईवटा जहाज असार र साउनमा ल्याए पनि ती जहाज सञ्चालनमा ल्याउन निगमले सकेको छैन।

प्रकाशित: ४ पुस २०७५ ०१:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App