९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

पर्यटकीय स्थानको महत्व झल्काउने ब्रान्ड निर्माणमा जोड

प्रदेश स्तरीय पर्यटन ब्रान्ड तथा रणनीतिक योजना तर्जुमा गोष्ठीका सहभागी। तस्बिरः सविता/नागरिक

चितवन - प्रदेश ३ मा रहेका हिमाली, पहाडी र तराईका पर्यटकीय स्थान झल्किने गरी पर्यटन ब्रान्ड बनाउनुपर्नेमा जोड दिइएको छ। प्रदेश स्तरीय पर्यटन ब्रान्ड तथा रणनीतिक योजना तर्जुमा गोष्ठीमा सहभागी प्रदेशका सांसद, चितवनका स्थानीय तहका मेयर तथा पर्यटन व्यवसायीले प्रदेशको पहिचान झल्किने ब्रान्ड बनाउन सुझाव दिए। 

पर्यटन विकास आयोजना प्रदेश ३ ले आइतबार सौराहामा गोष्ठी आयोजना गरेको हो। कार्यक्रममा हिमालदेखि तराईको पहिचान झल्कने गरी पर्यटनको ब्रान्ड बनाउन सुझाव दिएका छन्। कार्यक्रममा प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले प्रदेश ३ पर्यटकीय स्थान र आधारमा धनी प्रदेश भएको बताए। प्रदेश समृद्धिको मुख्य आधार पर्यटन रहेकाले यसलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको भनाइ छ।

प्रदेशमा पर्यटनको काम गर्ने तल्लो निकाय नहुँदा भने समस्या रहेको मन्त्री नेपालको अनुभव छ। पर्यटनलाई कृषि, खेल, शिक्षा, स्वास्थ्यसँगै उद्योगसँग जोड्नु अत्यावश्यक रहेको उनको भनाइ छ। प्रदेश साँसद कञ्चन खनालले प्रदेशको विशिष्टीकरणलाई जोडेर पर्यटन ब्रान्ड बनाउनुपर्ने बताउँछिन्। दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा यही प्रदेशमा पाइने बताउँदै उनले गैंडालाई प्राथमिकतामा राखेर ब्रान्ड बनाउन सुझाव दिइन्। 

कार्यक्रमका सहभागीले हिमश्रृंखलामा पर्ने हिमाल र तराईमा पर्ने चितवन राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तुलाई जनाउने ब्रान्ड बनाउनुपर्नेमा जोड दिएका छन्। प्रदेश ३ को मुख्य पर्यटकीय गन्तव्य सौराहालाई केन्द्रमा राखेर ब्रान्ड बनाउन र गुरुयोजना बनाउनुपर्ने सहभागीले बताए। नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बरालका अनुसार  पछिल्लो पटक सन् २००६ मा बनाइएको ‘नेचुरल्ली नेपाल वन्स इज नट इनोज’ ब्रान्डबाटै नेपालको पर्यटन प्रवद्र्धन गर्ने गरिएको छ। 

त्यसअघि नेपालमा विदेशी पर्यटक भित्र्याउन ‘सेन्ड होम अ फ्रेन्ड, फेस्टिभल अफ लाइफ, भिजिट नेपाल’ लगायत पर्यटन ब्रान्ड अघि सारिएको थियो। पर्यटन ब्रान्ड नाम मात्र नभएर यसले देशमा भएका पर्यटकीय विशेषता समेत शब्दबाट बताउने उनी बताउँछन्। ‘पछिल्लो २० वर्षदेखि ब्रान्डिङ गरेर पर्यटन प्रवद्र्धन गर्न थालेका छौं,’ उनी भन्छन्, ‘हरेक प्रदेशको छुट्टाछुट्टै पर्यटन ब्रान्ड बनाएर धेरैभन्दा धेरै पर्यटक भित्र्याउनुपर्छ।’ ब्रान्डले अरुभन्दा किन फरक छौं भन्ने बताउने भएकाले पर्यटनमा ब्रान्ड आवश्यक भएको उनको भनाइ छ। 

नेपाल आउने पर्यटकमा करिब ४० प्रतिशत दोहो-याएर घुम्न आउने गरेका छन्। ब्रान्डले पर्यटकलाई दोहो-याएर आउने बनाउने उनी बताउँछन्। ब्रान्डले नामाकरण मात्र नगरी  परिभाषा र सञ्चार दिने शक्ति समेत राख्ने उनले बताए। नेपाल भ्रमण वर्ष २०२० का लागि पनि स्लोगनसहितको ब्रान्ड तयार गरिएको छ। ‘भिजिट नेपाल २०२० लाइफ टाइम एक्सपेरियन्स’ ब्रान्ड तयार गरिएको पर्यटन बोर्डको ब्रान्ड म्यानेजर श्रद्धा श्रेष्ठ बताउँछिन्। 

प्रदेश ३ को पर्यटन विकास आयोजनाका प्रमुख राजु क्षेत्रीका अनुसार सरकारले पर्यटन भ्रमण वर्षका लागि सार्वजनिक गरेको सयौं नयाँ पर्यटकीय गन्तव्यमा प्रदेश ३ को २५ स्थान परेका छन्। यसअघि नै पर्यटकीय क्षेत्रको रुपमा स्थापित १७ वटा गन्तब्य प्रदेशमा छन्। आयोजनाले थप १३ नयाँ स्थानलाई पर्यटकीय स्थानका रुपमा अघि बढाउँदैछ। चालु आर्थिक वर्षका लागि आयोजनासँग एक अर्ब एक करोड रुपैयाँ बजेट रहेको उनले बताए। 

प्रदेशका १३ जिल्लामा पर्यटनका एक सय ७२ योजना निर्माण गर्ने काम आयोजना गर्ने उनले जानकारी दिए। जसमा १८ वटा भ्यू टावर निर्माणका योजना छन्। गएको कात्तिकमा कार्यालय स्थापना गरिएको आयोजनाले यही वर्ष प्रदेशको तीन वर्षीय पर्यटकीय र रणनीतिक गुरुयोजना तयार गर्नेछ। 

प्रकाशित: २ पुस २०७५ ०१:३२ सोमबार

पर्यटन रणनीतिक_योजना व्यवसायी ब्रान्ड