७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

बजेटभन्दा घाटा ठूलो

काठमाडौं - निर्यातको तुलनामा आयातको दर उच्च भएपछि चालु आर्थिक वर्षमा बजेटभन्दा व्यापार घाटाको आकार ठूलो हुने देखिएको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको चार महिनामा व्यापार घाटा चार खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ।

गत वर्ष सोही अवधिको तुलनामा व्यापार घाटा ४० प्रतिशतले बढेको छ। यही हिसाबमा आयात–निर्यातको अनुपात कायम रहने हो भने यो वर्षको बजेटभन्दा व्यापार घाटा ठूलो हुने देखिएको हो। मुलुकको चालु आवको बजेट १३ खर्ब १५ अर्बको रहेको छ।

केन्द्रले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७५/०७६ को पहिलो चार महिनाको तथ्यांक अनुसार मुलुकको व्यापार घाटा चार खर्ब ५४ अर्ब ४७ करोड नाघेको हो। यो गत आवको सोही अवधिको तुलनामा ४०.३ प्रतिशतले धेरै भएको केन्द्रले जनाएको छ।

तथ्यांकअनुसार चार महिनामा मुलुकको कुल वैदेशिक व्यापार ३६.१ प्रतिशतले बढेर पाँच खर्ब १३ अर्ब पुगेको छ। कुल व्यापारमा निकासीको योगदान ५.७ र आयातको ९४.३ प्रतिशत छ।

यस अवधिमा मुलुकको कुल निर्यात १०.७ प्रतिशतले बढेर २९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। आयात ३८.१ प्रतिशतले बढेर चार खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ पुगेको हो।

निकासीमा सामान्य वृद्धि भए पनि आयात वृद्धिदर उच्च हुँदा व्यापार घाटा कम हुन नसकेको केन्द्रका नायब कार्यकारी निर्देशक सुयश खनालले बताए। पछिल्लो समयमा पुनर्निर्माणको काम भइरहेको बेला  फलामे उत्पादन, मेसिनरी पार्टस्को आयात वृद्धि भएको उनले बताए। ‘औद्योगिक उत्पादन, निर्माण सामग्रीको आयात बढ्दा आत्तिइहाल्नु पर्दैन,’ खनालले भने, ‘उपभोग्य सामानको आयातमा वृद्धि हुँदा मात्र मुलुकलाई घाटा हुने हो।’

धागो, ऊनी गलैंचा, तयार पोसाक, फलाम तथा फलामका उत्पादन लगायतले मुलुकको निर्यात व्यापारमा उच्च योगदान गरेका छन्। पछिल्लो चार महिनामा यार्नको निकासी १९ प्रतिशतले बढेर दुई अर्ब ९३ करोड ३१ लाख पुगेको छ। कुल निर्यातमा यसको योगदान १० प्रतिशत रहेको केन्द्रले जनाएको छ।

पछिल्लो समयमा नेपाली धागोको माग बढ्दै गएको खनालले बताए। टर्कीमा नेपाली धागोलाई लगाइएको अवरोध हट्नु, जापान, इटाली लगायत देशमा भएको प्रदर्शनीमा माग धेरै आउनाले निर्यात बढेको खनालको भनाइ छ।

त्यसैगरी, ऊनी गलैंचाको निर्यात झण्डै १८ प्रतिशतले बढेर दुई अर्ब ७६ करोड, तयारी पोसाक १२ प्रतिशतले बढेर दुई अर्ब ४० करोड र फलाम तथा यसका उत्पादनको निर्यात ४६ प्रतिशतले बढेको छ। पछिल्लो चार महिनामा दुई अर्ब २१ करोडका फलामे उत्पादन निकासी भएको छ।

त्यसैगरी, स्वदेशमा आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ र फलाम तथा फलामका उत्पादन मात्रै २६ प्रतिशतभन्दा धेरै छन्। पछिल्लो चार महिनामा यी दुई वस्तु मात्रै एक खर्ब २७ अर्ब २७ करोड रुपैयाँभन्दा धेरै मूल्यको आयात भएको छ।

तथ्यांक अनुसार चार महिनाको अवधिमा पेट्रोलियम पदार्थको आयात ६८ प्रतिशतले बढेर ६९ अर्ब सात करोड नाघेको छ। त्यस्तै, फलाम तथा फलामका उत्पादनको आयात ६२ प्रतिशतले बढेर ५८ अर्ब २० करोडभन्दा माथि पुगेको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा भएका प्रदर्शनीले नेपालको निर्यात वृद्धिमा केही सहयोग गरेको खनालले बताए। चीनमा भएको अन्तर्राष्ट्रिय व्यापार मेला, जापान, भारत, जर्मनी लगायत देशमा भएका व्यापार मेला तथा प्रदर्शनीमा नेपाली वस्तुको माग राम्रो रहेको उनले बताए।

केन्द्रले ऊनी, गलैंचा, फेल्ट लगायत वस्तु उत्पादनमा सात सय ५० जनालाई तालिम दिएको र रोजगारी समेत उपलब्ध गराएको बिहीबारको पत्रकार सम्मेलनमा खनालले जानकारी गराए।

सातै प्रदेशको उत्पादनको प्रोफाइल बनाइने
सरकारले सातैवटा प्रदेशमा उत्पादन हुने विभिन्न वस्तुको प्रोफाइल बनाउने भएको छ। स्वदेशमा उत्पादन हुने वस्तुको जानकारी लिन र निर्यात गर्न सजिलो होस् भनेर प्रोफाइल बनाउन लागिएको खनालले बताए।

‘केन्द्रले सातै प्रदेशमा उत्पादन हुने वस्तुको प्रदेशअनुसार प्रोफाइल बनाउँदैछ,’ खनालले जानकारी गराए, ‘यसको सुरुवात हामीले गरिसकेका छौं।’ यसै क्रममा मंसिर १६ गते सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीसँग, १७ गते कर्णाली प्रदेश र २६ गते ५ नम्बर प्रदेशका मुख्यमन्त्रीसँग यस विषयमा छलफल गर्न लागिएको उनले जानकारी गराए।

‘यसले अन्तरप्रदेश व्यापार समेत बढाउने छ,’ खनालले भने, ‘साथै यी वस्तुको निर्यातसमेत कसरी गर्न सकिन्छ भनेर अध्ययन गरिनेछ।’

प्रकाशित: १४ मंसिर २०७५ ०१:२५ शुक्रबार

वैदेशिक_व्यापार बजेट_घाटा