चितवन - भरतपुर–१, रामनगरका विशाल अधिकारी गत बिहीबार विहान सौराहामा थिए। छोरा, श्रीमती र दिदीसहित सौराहा घुम्न पुगेका उनले हात्ती सफारी गरे। बिहान सवा सात बजे जंगल सफारी गएका उनी डेढ घन्टामा फर्किए। जंगलमा दुईवटा गैंडा देखे। चित्तल, मयुर पनि भेटिए। उनले यसअघि सौराहा आएर एकपटक हात्ती सफारी र जंगल वाक गरेका थिए।
परिवारसँग पहिलोपटक हात्ती सफारी गर्दा रमाइलो भएको उनी बताउँछन्। सरकारी जागिरे उनी काममा चितवनबाहिर फर्किनुअघि परिवारलाई घुमाउन सौराहा ल्याएका थिए। ‘सबैजना घुम्दा रमाइलो भयो,’ उनी भन्छन्, ‘बिदा परेकाले परिवारसँग घुम्न समय मिल्यो, छुट्टै रमाइलो भयो।’
पोखरा सिर्जना चोककी माया गुरुङ पनि १४ जनाको समूहमा सौराहा आइपुगेकी थिइन्। परिवारका सदस्य र आफन्तसँग लुम्बिनी घुमेपछि उनी सौराहा आएकी हुन्। ‘एक दिन लुम्बिनी बस्यौं, एक दिन सौराहा,’ उनले भनिन्, ‘चाडपर्वमा सबै भेट भएर घुमघाम गर्दा रमाइलो हुन्छ।’ बिहीबार बिहान हात्ती सफारी गरेर जंगल घुमेका मायाको टिम पोखरा फर्किने तयारीमा थिए।
यो साता सौराहा स्वदेशी पर्यटकले नै भरियो। विशाल र माया जसरी नै परिवार र आफन्तसँग समूहमा आउने पर्यटक धेरै भए। सौराहामा स्वदेशी पर्यटक काठमाडौं, पोखरा लगायत स्थानबाट समूहमा घुम्न आएको भेटिए। क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरेका अनुसार यसअघि नेपाली र विदेशी नयाँ वर्षमा आन्तरिक पर्यटक बढी हुन्थे। पर्वको बिदाका समयमा पनि पर्यटक बढ्न थालेका छन्।
‘यसपटकको दसैंमा चार दिन नेपाली पर्यटकले नै सौराहा भरियो,’ उनी भन्छन्, ‘परिवार र आफन्तसँग समूहमा घुम्न आउने धेरै भए।’ यसअघि सौराहामा नेपाली पर्यटकको चहलपहल करिब ३० प्रतिशत जसो हुने गथ्र्यो। विजयादशमीलगत्तै ७० प्रतिशतको हाराहारीमा स्वेदशी पर्यटक सौराहामा रहेको उनले बताए। सौराहामा करिब ५५ सय पर्यटक बस्ने सुविधा छ । नेपालीहरुमा घुम्ने संस्कृति विकास भएको उनले बताए।
पारिवारिक भेटघाटसँगै रमाइलो गरौं र घुमौं भनेर पर्यटक आएको उनको भनाइ छ। बिदाको बेला घुम्न निस्कनेले सौराहालाई विश्राम गर्ने स्थानका रुपमा समेत प्रयोग गर्ने गरेको अध्यक्ष घिमिरे बताउँछन् । पूर्वबाट पश्चिम तथा काठमाडौं, पोखराबाट अन्य ठाउँमा जान आउनेले समेत सौराहामा एक रात बिताएर जाने गरेको उनले बताए। बालबच्चासहित घरका ज्येष्ठ सदस्यसमेत लिएर आउनेको संख्या बढी भएको उनले बताए।
डे टुरिस्ट पनि उत्तिकै
दसैंको टिकापछिका चार दिन सौराहाको सबैजसो होटल पर्यटकले भरिए । सौराहामा रात बस्ने गरी मात्र नभई दिउँसो घुम्ने गरी आउने पर्यटक पनि बढेको सौराहाका पर्यटन व्यवसायी टिकाराम गिरी बताउँछन् । सौराहाको राप्ती किनारको ड्याम साडड ढाकिने गरी पर्यटक आएको उनले बताए। ‘टिकापछि परिवारसँग बस्ने गरी आउने मात्र नभई घुमेर फर्किने डे टुरिस्ट पनि धेरै आए,’ उनी भन्छन्, ‘नजिकका मात्र नभई लामो दुरीका पनि सौराहा आउने र दिनभर घुमेर बेलुकी फकर्ने उत्तिकै छन्।’
राति नाइट गाडी चढेर आउने र दिनभर घुमघाम गरेर बेलुकी फर्कने पर्यटक पनि आएको उनले बताए। आफ्ना निजी सवारीसाधन, मोटरसाइकल, कारमा आउने आन्तरिक पर्यटक पनि उल्लेख्य थिए। क्षेत्रीय होटल संघका अध्यक्ष घिमिरेका अनुसार सौराहामा घुम्न एकजना नेपालीलाई ६ हजार रुपैयाँदेखिका प्याकेज उपलब्ध छन्।
होटलको स्तर अनुसार १४ हजारसम्मको दुई रात तथा तीन दिनको प्याकेज उपलब्ध हुन्छन्। प्याकेजमा खाने बस्नेसहित डुंगा सफारी, जिप सफारी तथा हात्ती सफारी लगायत स्थानीय सांस्कृतिक कार्यक्रम अवलोकनलाई समेत प्याकेजमा समेटिएको पाइन्छ। हात्ती सफारी गर्न ११ सय र निकुञ्जभित्र जिप सफारी गर्न १५ सय रुपैयाँ शुल्क राखिएको छ। निकुञ्जबाहिरका मध्यवर्ती क्षेत्रका वनमा भने आठ सयभन्दा कम मै जिप सफारी गर्न सकिन्छ।
प्रकाशित: १५ कार्तिक २०७५ ०४:५६ बिहीबार