१६ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपालको जलविद्युत र पर्यटनमा सर्वियाले सघाउने

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकबीच भेटवार्ता भएको छ। युरो–एसिया इनर्जी सेक्युरिटी फोरममा भाग लिन सर्विया पुगेका मन्त्री पुनले शनिवार उपप्रधानमन्त्री इभिकासँग भेट गरी द्विपक्षीय हित र सहकार्यका विषयमा छलफल गरेका थिए।

नेपाल र सर्विया असंलग्न आन्दोलनका सहयात्री मुलुक भएको भन्दै मन्त्री पुनले आगामी दिनमा समेत विश्व मञ्चमा प्रस्तुत हुंदा साझा धारणा बनाएर जाने प्रस्ताव समेत राखेका थिए। उनले दुवै देशको सम्बन्ध मजबुद बनाउन उच्चस्तरीय भ्रमणको आदान प्रदानमा जोड दिनुपर्ने धारणा राखे। ‘हामी पुराना सहयात्री मुलुक पनि हौं, नेपाल र सर्वियाको द्वन्द्व र शान्तिको झण्डै उस्तै–उस्तै अनुभव छ, आगामी दिनमा विश्व मञ्चमा समेत साझा धारणा बनाएर अघि बढौं।’ 

नेपाल स्थायित्वको युगमा प्रवेश गरिसकेको र लगानीको उचित वातावरण बनेको जानकारी गराउँदै मन्त्री पुनले नेपालको उर्जा र जलविद्युत क्षेत्रमा लगानीको लागि सर्वियाली लगानीकर्तालाई उत्प्रेरित गरिदिन आग्रह गरे। उनले सरकारले १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य अघि सारेको भन्दै त्यसमा लगानी जुटाउने आफ्नो पहलमा साथ दिन अनुरोध गरे।

सरकारले नेपालमा विदेशी पर्यटकहरुलाई भित्र्याउन भिजिट २०–२० कार्यक्रम अघि सारेको भन्दै त्यसमा सर्भियाली पर्यटकलाई नेपाल भ्रमणमा पठाउने वातावरण बनाइदिन पनि उनले उपप्रधानमन्त्री इभिकासंग आग्रह गरे। 

जवाफमा सर्वियाका उपप्रधानमन्त्री इभिकाले नेपालसंगको सम्बन्ध मजबुद बनाउन सर्विया इच्छुक रहेको भन्दै नेपालमा लगानीको लागि आफूले निजी क्षेत्रलाई उत्प्रेरित गर्ने र सर्वियाली पर्यटकलाई नेपाल भ्रमणमा जानको लागि वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरे। 

उनले इनर्जी फोरममा नेपालले सहभागीता जनाउनुले पनि नेपाल र सर्वियाबीचको सम्बन्ध मजबुद भएको पुष्टि गरेको भन्दै आगामी दिनमा समेत दुवै देशको बीचमा थप सहकार्य हुने विश्वास व्यक्त गरे। 

प्रकाशित: १० कार्तिक २०७५ १३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App