१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

दसैंमा आधा अर्बका खसी–बोका बिक्री

काठमाडौं –विगत वर्षको तुलनामा यो वर्ष काठमाडौं उपत्यकामा खसी–बोका, भेडाच्यांग्रा  कम बिक्री भएका छन् । चौपाया खरिद–बिक्री सेवा संघका अनुसार दसैंभरिमा करिब आधा अर्ब रुपैयाँका खसी–बोका, च्यांग्राको कारोबार भएको हो।

दसैंलाई लक्ष्य गरेर व्यापारीले करिब ५० हजार खसी–बोका, भेडाच्यांग्रा खरिद गरेर ल्याए पनि करिब ३५ हजारमात्र बिक्री भएको संघले जनाएको छ । राजधानीबाट गृह जिल्ला जानेको संख्या बढेकाले खसी–बोका खपत कम भएको संघका पूर्वअध्यक्ष गोविन्द पाठकले बताए । ‘दसैंलाई ल्याएका खसी–बोका बिक्री नभएर स्टक छन्,’ अध्यक्ष पाठकले भने, ‘अपेक्षा अनुसार बिक्री भएनन् ।’ स्टक खसीबोका अब बिक्री गर्ने उनले बताए।

भारतबाट ल्याएका खसी–बोकाको तुलनामा स्थानीय धेरै बिक्री भएको पाठकले बताए । व्यवसायीसहित नेपाल खाद्य संस्थानले पनि च्यांग्रा र खसी–बोका ल्याएर बिक्री गरेको थियो । ३५ हजार खसी–बोका प्रतिगोटा करिब १४ हजार रुपैयाँका दरले ४९ करोड रुपैयाँ हुन्छ । त्यसका अतिरिक्त नेपाल खाद्य संस्थानले करिब एक हजार च्यांग्रा र खसी बिक्री गरेको थियो।

दसैंलाई लक्ष्य गरेर व्यवसायीले भारतबाट करिब ६० करोड रुपैयाँका खसी–बोका ल्याएका थिए । उपत्यकामा दसैंमा खपत हुने खसी–बोका, भेडा–च्यांग्रामध्ये २० प्रतिशतमात्र स्वदेशी उत्पादन हुन्छ । बजारको मागअनुसार स्वदेशमा पर्याप्त उत्पादन नहुँदा मासुमा भारतीय निर्भरता छ।

पहाड, तराईमा बाख्रापालन र हिमाली जिल्लामा भेडा–च्यांग्रापालनलाई प्रोत्साहन गर्न वार्षिक अर्बौं रुपैयाँ लगानी गर्दै आए पनि हरेक वर्ष विदेशबाट अर्बौंको मासु आयात हुँदै आएको छ । दसैं–तिहारमा मांशाहारीले घरघरै खसी–बोका काट्ने परम्पराले मासुको माग उच्च हुन्छ । स्वदेशी उत्पादनले १५–२० प्रतिशतमात्र थेग्ने संघले जनाएको छ । चाडपर्वमा सहरी क्षेत्रमा खसी–बोका, भेडा–च्यांग्रासहित राँगा, कखुरा, बंगुरको मासु खपत उच्च हुन्छ । व्यवसायीले उदयपुर, सिन्धुली, खोटाङ, सिराहा, सल्यान, दाङ, कैलाली, जाजरकोट लगायत जिल्लाबाट पनि खसी–बोका ल्याएका थिए।

यो वर्ष दसैंमा उपभोक्ताले महँगो मासु उपभोग गरेका छन् । गत वर्षभन्दा यो वर्ष खसीको मूल्य किलोमा ४५ र च्यांग्राको २५ रुपैयाँ बढेको थियो । खाद्य संस्थानले जिउँदो खसी–बोकाको मूल्य किलोको पाँच सय १० रुपैयाँ र च्यांग्राको मूल्य किलोको सात सय १० रुपैयाँ तोकेको थियो । सो मूल्यमा किलोमा १० रुपैयाँ छुट दिएको थियो । व्यवसायीले भने जिउँदो खसीबोका किलोको पाँच सय ३० रुपैयाँ र च्यांग्राको सात सय ५० रुपैयाँमा बेचेका थिए । खसी–बोका किलोको एक हजार रुपैयाँ र च्यांग्राको मासु १५ सयदेखि १८ सय रुपैयाँसम्म किलोमा बिक्री भएको थियो।

प्रकाशित: ६ कार्तिक २०७५ ०४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App