५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

संस्थानको खसीबोका सकियो

काठमाडौं – नेपाल खाद्य संस्थानले दसैंका अवसरमा उपत्यकामा बिक्री गर्न ल्याएको तीन सय सातवटै खसीबोका बिक्री भएको छ । संस्थानले मकवानपुरबाट सो परिमाणमा खसीबोका किनेर ल्याएको थियो । दाङलगायत पश्चिमी जिल्लाबाट करिब हजार खसीबोका ल्याउने लक्ष्य राखिए पनि सो क्षेत्रमा किन्न नसकेपछि मकवानपुरबाट ल्याएको हो।

निजी क्षेत्रका व्यापारीले कृषकलाई उच्च मूल्य दिएका कारण लक्ष्यअनुसारको खसीबोका खरिद गर्न नसकिएको संस्थानका प्रवक्ता शंकरप्रसाद सापकोटाले जानकारी दिए । संस्थानले सोमबार बिहानसम्म ६ सय ५० च्यांग्रा बिक्री गरिसकेको छ । मुस्ताङबाट नौ सय २० च्यांग्रा खरिद गरी ल्याइएको थियो।

खसीबोका प्रतिकिलो पाँच सय र च्यांग्रा प्रतिकिलो सात सय रुपैयाँका दरले बिक्री गरिएको संस्थानले जनाएको छ । थापाथलीस्थित संस्थानको धान गोदामबाट ती खासीबोका, च्यांग्रा बिक्री गरिएको थियो । यसअघिका वर्षमा खसीबोका तथा च्यांग्रा बिरामी परेर संस्थानलाई नोक्सान हुने गरे पनि यसपटक भने कुनै पनि चौपाया बिरामी नपरेको प्रवक्ता सापकोटाले बताए।

संस्थानले मुस्ताङबाट च्यांग्रा प्रतिकिलो पाँच सय २५ र मकवानपुरबाट खसीबोका प्रतिकिलो चार सय ३० रुपैयाँमा ल्याएको थियो । मंगलबार साँझसम्म च्यांग्रा बिक्री गरेर सक्ने लक्ष्य संस्थानको छ । बाँकी च्यांग्रा बिक्री गरेपछि मात्र आर्थिक कारोबारको तथ्यांक सार्वजनिक गरिने संस्थानले जनाएको छ । संस्थानले गत शुक्रबार खसीबोका तथा च्यांग्राको बिक्री सुरु गरेको थियो।

निजी क्षेत्रका व्यापारीको एकाधिकार तोड्न सरकारले बर्सेनि संस्थानमार्फत खसीबोका तथा च्यांग्रा बेच्ने गरेको छ । बजारमा सरकारको उपस्थिति नहुँदा निजी क्षेत्रका व्यापारीले चाडपर्वको मौका छोपी उपभोक्तालाई चर्को मूल्यमा खसीबोका तथा च्यांग्रा बिक्री वितरण गरेको बताइन्छ।

संस्थानको खसीबोका सकिएपछि निजी क्षेत्रका व्यापारीबाट उपभोक्ता ठगिनु नपरोस् भन्ने उद्देश्यले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खसी बजारको अनुगमनलाई तीव्रता दिएको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले अस्वाभाविक मूल्य राखेर खसीबोका बिक्री गरेको पाइए व्यापारीलाई कडा कारबाही हुने बताए।  (रासस)

प्रकाशित: ३० आश्विन २०७५ ०४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App