काठमाडौं - नेपाल खाद्य संस्थानले शुक्रबारबाट दसैंका च्यांग्रा र खसी बिक्री सुरु गर्ने भएको छ। संस्थानले काठमाडौंका उपभोक्तालाई बेच्न मुस्ताङमा नौ सय २५ च्यांग्रा किनेको छ।
शुक्रबारबाट च्यांग्रा र खसी बिक्री सुरु गर्ने संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए। ‘हिमाली जडीबुटी खाएका मुस्ताङी च्यांग्रा बिहीबार काठमाडौं आइपुग्छन्,’ सापकोटाले भने, ‘हेटौंडाबाट खसी पनि ल्याएका छौं ।’ च्यांग्रा र खसीको मूल्य भने बिहीबारमात्र तोक्ने सापकोटाले बताए। संस्थानले हेटौंडाबाट एक हजार खसी ल्याउने जनाएको छ । संस्थानले बजार मूल्यभन्दा १० रुपैयाँ सस्तोमा मासु बिक्री गर्न लागेको हो । उपभोक्तालाई स्वस्थ्य र सस्तोमा मासु खुवाउने व्यवस्था मिलाउन विभिन्न जिल्लाबाट भेडा–च्यांग्रा र खसी–बोका ल्याएर बिक्री गर्न लागिएको संस्थानले जनाएको छ।
दसैं, तिहारलाई लक्ष्य गरेर व्यवसायीले भारतबाट करिब ६० करोड रुपैयाँका खसी–बोका खरिद गरेको जनाएका छन् । दसैंमा मासु खपत उच्च हुने भएकाले स्वदेशी उत्पादनले नथेगेपछि करिब ४४ हजार खसी–बोका भारतबाट ल्याउने चौपाया खरिद–बिक्री सेवा संघले जनाएको छ । खसी–बोका बिक्री सुरु भएको संघले जनाएको छ । ‘केही आइसके,’ संघका पूर्वअध्यक्ष गोविन्द पाठकले भने, ‘अरु पनि आउने क्रम जारी छ।’
उपत्यकामा दसैं–तिहारमा खपत हुने करिब ५५ हजार खसी–बोका, भेडा–च्यांग्रामध्ये २० प्रतिशतमात्र स्वदेशी उत्पादनले धान्ने संघले जनाएको छ । ५५ हजारमध्ये ११ हजार विभिन्न जिल्लामा उत्पादित खसी–बोका र भेडा–च्यांग्रा बजारमा बिक्री हुन्छ । प्रतिगोटा १४ हजार रुपैयाँका दरले यो सिजनमा करिब ७७ करोड रुपैयाँको कारोबार हुने संघको अनुमान छ । भारतबाट ल्याउने ४४ हजारलाई प्रतिगोटा १४ हजारका दरले हिसाब गर्दा करिब ६१ करोड ६० लाख रुपैयाँ हुन्छ।
बजारको मागअनुसार स्वदेशमा पर्याप्त उत्पादन नहुँदा मासुमा भारतीय निर्भरता रहेको संघले जनाएको छ। सरकारले मासुमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा नेपाली उपभोक्ताले दसैं–तिहारमा भारत र चीनबाट आयात गरिएको मासु उपभोग गर्नुपर्ने छ । पहाड, तराईमा बाख्रापालन र हिमाली जिल्लामा भेडा–च्यांग्रा पालनलाई प्रोत्साहन गर्न वार्षिक अर्बौं रुपैयाँ लगानी गर्दै आए पनि हरेक वर्ष विदेशबाट अर्बौंको मासु आयात हुँदै आएको छ।
दसैं–तिहारमा मांशाहारीले घरघरै खसी–बोका काट्ने परम्पराले मासुको माग उच्च हुने भएकाले भारतबाट करिब आधा अर्बका खसीबोका ल्याउने चौपाया खरिद–बिक्री सेवा संघले जनाएको छ। स्वदेशी उत्पादनले १५–२० प्रतिशतमात्र थेग्ने संघले जनाएको छ।
चाडपर्वमा सहरी क्षेत्रमा खसी–बोका, भेडा–च्यांग्रासहित राँगा, कखुरा, बंगुरको मासु खपत उच्च हुने भएकाले त्यसको लागि गाउँगाउँबाट पशु ल्याउने तयारी गरिएको छ।
व्यवसायीले उदयपुर, सिन्धुली, खोटाङ, सिराहा, सल्यान, दाङ, कैलाली, जाजरकोट लगायत जिल्लाबाट पनि खसी–बोका ल्याउँछन्।
माग बढ्ने भए पनि चाडमा मासुको अभाव हुन नदिने व्यवसायीले बताएका छन् । दसैं–तिहारको लागि आवश्यक मासु व्यवस्थापन गर्न गाउँगाउँ पुगेर खसी–बोका संकलन गरी राजधानी ल्याएर बेच्न सुरु गरेका छन् ।
चाडपर्वमा उपभोक्तालाई स्वस्थ्य मासु ख्वाउन पशु विभागअन्तर्गतका पशु क्वारेन्टाइनले समेत निगरानी बढाएको छ छ । मासुजन्य वस्तुको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले भारतबाट प्रवेश गर्ने सीमा क्षेत्रका क्वारेन्टाइनमा पनि चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ। मासु प्रयोजनको पशु जिल्लाबाट निकासी गर्दा सम्बन्धित जिल्लाको पशु सेवा कार्यालयबाट स्वास्थ्य जाँच गरी प्रमाणपत्र लिनुपर्छ।
चाडको बेला गुणस्तहीन मासु लगायत वस्तु बिक्री वितरण रोक्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्ता हित संरक्षण विभागले पनि टोली गठन गरेर परिचालन गरेको छ।
प्रकाशित: २५ आश्विन २०७५ ०६:३३ बिहीबार