१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

थाइल्यान्डको चर्चित ब्रान्ड होटल धुलिखेलमा

दुसित थानी हिमालयन रिसोर्ट एन्ड स्पाको डिजाइन

बनेपा – पर्यटकीय गन्तव्य धुलिखेलमा पर्यावरणलाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रिसोर्ट निर्माण भइरहेको छ । यो रिसोर्ट थाई होटल ब्रान्ड दुसित थानीको व्यवस्थापनमा सञ्चालन हुनेछ । पर्यटन वर्ष सन् २०२० लाई लक्ष्य गरी धुलिखेल–११ मा ओमस्टोन एसिया क्यापिटल नेपाल प्रालिले सो रिसोर्ट निर्माण गरिरहेको हो।

‘हामीले थाइल्यान्डको हस्पिटालिटी कम्पनी दुसित थानी पब्लिक लिमिटेडलाई यहाँ ल्याउन लागेका हौं । निर्माण सम्पन्न गरेलगत्तै लक्जरी माउन्टेन टप रिसोर्ट व्यवस्थापन गर्ने गरी यसअघि नै ऊसँग सम्झौता भइसकेको छ,’ ओमस्टोनका प्रबन्ध निर्देशक रमेश हमालले भने, ‘सम्पूर्ण लगानी हाम्रो, व्यवस्थापन र ब्रान्ड दुसित थानीको हुनेछ।’

सम्झौताअनुसार रिसोर्टको नाम दुसित थानी हिमालयन रिसोर्ट एन्ड स्पा रहने उनको भनाइ छ । यससँगै नेपालमै पहिलोपटक टेवारन ‘स्पा’समेत रिसोर्टमा रहनेछ । ‘यो पनि अन्तर्राष्ट्रिय ब्रान्डको ‘चेन स्पा’ हो । सन् २००० बाट बैंककमा सुरु भएको यो स्पा थाइल्यान्डको बैंकक, पटाया, हुवा हिन, चियाङमाई, फिलिपिन्स, माल्दिभ्स, केन्या, युएसए, चीन र इजिप्टमा फैलिएको छ,’ हमालले भने।

१५ वर्षदेखि थाइल्यान्डमा रियल स्टेट र कन्सल्टेन्सी व्यवसाय गर्दै आएको ओमस्टोनले फुकेटमा पहिलोपटक लक्जरी काटा गार्डेन रिसोर्ट सञ्चालन गरेको छ । यस्तै, एसिया, युरोप, अफ्रिका र क्यारेबियन मुलकमा हस्पिटालिटी प्रोजेक्ट सम्पन्न गरेको हमालको भनाइ छ । रिसोर्ट परिसरभित्र तीन हजारभन्दा बढी बिरुवा रोप्ने उनले बताए। 

बिपी राजमार्गको काभ्रेभन्ज्याङबाट नमोबुद्ध जाने सडकको पात्लेखेतमा पर्ने रिसोर्टले ५८ रोपनी क्षेत्रफल चर्चेको छ । कम्पनीले पर्यावरणीय हिसाबले त्यहाँ स–साना घरहरु मात्रै बनाइरहेको छ । बढीमा दुई तल्लामात्रै रहने ती घरहरुमा ६४ कोठा हुनेछन् । रिसोर्टभित्र प्लास्टिक प्रयोग नगर्ने र गाडी नगुड्ने गरी डिजाइन गरिएको उनले बताए।

रिसोर्टबाट निष्कासन हुने पानीजन्य फोहोर व्यवस्थापनका लागि सिवेज ट्रिटमेन्ट प्लान्ट (एसटिपी) जडान गर्ने योजना छ । ‘हामी पर्यावरणलाई केन्द्रमा राखेर काम गर्दैछौं । नेपालका केही ठूला होटलले मात्रै एसटिपी राखेको जानकारी पाएका छौं,’ हमालले थपे।

धुलिखेल नगरपालिकाको पहिलो नगर सभाले यसलाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यको पहिचान बनाएको नगर बनाउने निर्णय गरेको छ । नगरले पर्यटन गुरुयोजना र लगानीमैत्री वातावरण सिर्जना गरेकै कारण एसियाकै प्रतिष्ठित ब्रान्ड होटल धुलिखेलमा भित्रिएको ११ नम्बरका वडाध्यक्ष विष्णु धितालको भनाइ छ । नगरसभाले २५ जनाभन्दा बढीलाई रोजगारी दिने उद्योग–व्यवसायलाई पाँच वर्षसम्म स्थानीय कर छुट दिने र उद्योग–व्यवसाय स्थापना र सञ्चालनका लागि आवश्यक पर्ने सडक, पानी तथा बिजुली व्यवस्थापनमा सहजीकरण गरिदिने निर्णय गरेको उनले बताए। 

धुलिखेल उपत्यकासँगै जोडिएको प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ । सूर्योदयको मनमोहक दृश्यावलोकनका साथै दर्जनौं हिमशृंखला एकैपटक अवलोकन गर्न सकिने स्वच्छ र शान्त धुलिखेलले स्वदेशी तथा विदेशी पर्यटकलाई सहजै आकर्षित गर्छ। 

हालसम्म धुलिखेल आउने पर्यटकमा ६० प्रतिशत स्वदेशी र बाँकी विदेशी छन् । पछिल्लो समय काठमाडौं साँखुबाट लप्सेफेदी, नगरकोट, धुलिखेल, नमोबुद्ध हुँदै बल्थलीसम्म ‘भिलेज ट्रेकिङ’ रुट कायम गरिएको हुँदा धुलिखेल आउने र यहाँ हुँदै अन्यत्र जाने स्वदेशी र विदेशी पर्यटकको संख्या बढिरहेको छ। 

प्रकाशित: १७ आश्विन २०७५ ०५:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App