१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

यतीको एटिआर ७२–५०० पोखरा उड्ने

पोखरा – पर्यटकीय सिजन सुरु भएसँगै निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले ठूलो आकारका जहाजबाट काठमाडौं–पोखरा–काठमाडौं रुटमा उडान थाल्ने भएको छ । यतीले पछिल्लो पटक ल्याएको ७२ सिट क्षमताको एटिआर ७२–५०० जहाजबाट बुधबारदेखि काठमाडौं–पोखरा–काठमाडौं उडानको तालिका बनाएको छ।

यतीका सञ्चार अधिकृत भीमराज राईका अनुसार बुधबारदेखि दैनिक दुईवटा उडान एटिआर ७२–५०० बाट गर्ने तालिका बनाइएको छ । यात्रु संख्या बढेको खण्डमा आवश्यकता अनुसार उडान थप्न सकिने उनले बताए । एटिआर बाहेक यतीले ३० सिट क्षमताको जेटस्ट्रिम ४१ जहाजबाट पनि अरु उडान गर्ने उनले बताए । यतीले यतिबेला काठमाडौं–पोखरा–काठमाडौं रुटमा दैनिक १२ वटासम्म उडान तालिका बनाएपनि दैनिक १० वटासम्म उडान नियमित रुपमा भइरहेको उनले बताए।

७२ सिट भएपनि पोखरा विमानस्थलको धावनमार्ग कम भएकाले पूर्ण क्षमतामा भने यात्रु बोक्न सक्ने छैन । बढीमा ६० जना यात्रु एउटा उडानबाट आउजाउ गर्नेगरी हालका लागि उडान थाल्ने राइले बताए । ‘सुरुवात ६० जना यात्रु बोकेर गर्ने हो,’ उनले भने । राईका अनुसार यतीले हालका लागि एटिआर ७२ को दैनिक दुई उडान पोखराका लागि राखेको छ । हरेक दिन बिहान साढे ७ र ९ बजे उडान गर्ने तालिका तय गरेको उनले बताए। 

पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाँइले पनि यतीले ठूलो आकारको जहाजबाट उडान सुरु गर्न थालेको बताए । ‘एकैपटक धेरै यात्रु बोक्ने हुँदा आउजाउमा सहज हुनेछ । हवाई टिकट नपाउने समस्या बिस्तारै हल हुनेछ,’ उनले भने, ‘ठूलो जहाजबाट उडान हुँदा हवाई टिकटको अभाव टर्नेछ ।’ अहिले सिजनका बेला पोखरा–काठमाडौं रुटमा यात्रुले चाहेको बेला हवाई टिकट पाउन सक्दैनन्। 

उनका अनुसार पोखरा विमानस्थलको धावनमार्ग एक जार चार सय ४७ मिटर छ । धावनमार्ग छोटो हुँदा एटिआर ७२ ले पुरा यात्रु क्षमतामा यात्रु बोक्न सक्दैन । ‘मौसम चिसो भएका बेला बढी भार बोक्न सक्छ । तातो हुँदा कम भार बोक्ने हो,’ गुरागाँइले भने, ‘गर्मीमा भन्दा जाडो महिनामा एटिआर ७२ ले धेरै यात्रु बोक्नेछ । तापक्रम अनुसार जहाजले बोक्ने तौल क्षमता निर्धारण हुन्छ ।’ अहिले  उडान गरिरहेका जहाजले पनि तापक्रम अनुसार थोरै र धेरै यात्रु बोक्दै आएको उनले बताए। 

प्रकाशित: १७ आश्विन २०७५ ०४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App