१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सहकारीमा महिला सहभागिता बढ्दै

हरिवनस्थित सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा आइतबार उपस्थित। तस्बिर : टंक/नागरिक

सर्लाही - आइतबार हरिवनस्थित सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा स्थलमा पुरुषको तुलनामा महिलाको संख्या निकै बढी देखिन्थ्यो। ग्रामीण स्वयं सेवक समाजको सभाहलमा भएको कार्यक्रममा महिलाको उपस्थिति खचाखच थियो। भित्र नअटेर बाहिर बरन्डादेखि यत्रतत्र महिला छरपष्ट देखिन्थे।

पछिल्ला केही वर्षयता जिल्लास्थित बचत तथा ऋण सहकारी संस्थामा सेयर सदस्यका रुपमा महिलाको संख्या ह्वात्तै बढ्न थालेको छ । जानकारहरुका अनुसार उत्तरी क्षेत्रका हरेकजसो बचत तथा ऋण सहकारी संस्थामा पुरुषको तुलनामा महिला सेयर सदस्य बढी रहेका छन् । आव ०७४÷७५ मा आठ करोड १३ लाख ७७ हजार नौ सय २४ रुपैयाँ कारोबार गरेको सामुदायिक आधारशिलामा कुल सेयर सदस्य संख्या एक हजार चार सय ५५ जना रहेका छन् । महिला सेयर सदस्य संख्या भने आठ सय ७७ जना रहेको संस्थाका व्यवस्थापक रविन्द्रबहादुर थापाले जानकारी दिए ।
‘पछिल्लो समय संस्थामा महिला सेयर सदस्य संख्या ह्वात्तै बढेको छ,’ व्यवस्थापक थापाले भने, ‘श्रीमानले वैदेशिक रोजगारीबाट पठाएको पैसा झिक्नका लागि सजिलो हुने भएकाले पनि सहकारी संस्थामा महिला सेयर सदस्य संख्या बढ्न थालेको हो ।’ त्यस्तै महिलाको महत्वपूर्ण पर्व हरितालिका तीजको अवसरमा दर खुवाउने कार्यक्रम गर्ने गरेका कारण पनि पछिल्लो समय सहकारी संस्थामा महिलाको आकर्षण बढेको थापाको कथन छ।

प्रदेश २ कै उत्कृष्ट सहकारी संस्थाको रुपमा पुरस्कृत भइसकेको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्थामा नौ हजार चार सय दुईजना सेयर सदस्य छन् । त्यहाँ महिला सेयर सदस्य संख्या पाँच हजार तीन सय ४३ रहेको छ । हरेक बचत तथा ऋण सहकारी संस्थामा पुरुषको तुलनामा महिला सेयर सदस्य बढी देखिएको बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष समेत रहेका सगुनका अध्यक्ष बाबुराम घिमिरेले बताए । ‘पुरुषहरु वैदेशिक रोजगारीमा जाने गरेकाले उनीहरुले कमाएर पठाएको पैसा झिक्ने लगायत घरमा रहेका महिला सदस्य सहकारीको सेयर सदस्य बन्ने गरेकाले पछिल्लो समय सहकारीमा महिलाको सहभागिता निकै बढेको छ,’ घिमिरेले भने, ‘महिला सदस्य बढ्नु सकारात्मक पाटो भए पनि एउटै महिला ५–६ सहकारी संस्थामा आवद्ध हुने गरेकाले भविष्यमा कानुनी समस्या आउने देखिन्छ।’

पछिल्लो समय तीजको दर खुवाउने कार्यक्रममा सहकारी संस्थाबीच होडबाजी नै चलेकाले एउटै महिला ५–६ वटा सहकारी संस्थामा सेयर किन्ने गरेको घिमिरेको कथन छ । ‘सहकारी संस्थाले आयोजना गर्ने तीजको दर खुवाउने कार्यक्रममा रमाइलो पनि गर्न पाइने र भत्तासमेत हात पर्ने भएपछि महिलाको सहभागिता बढेको छ,’ उनले भने । १९ वर्षअघि स्थापना भएर हाल एक अर्ब सात करोड ६१ लाख ७६ हजार ६ सय ६२ रुपैयाँ कारोबार गरिरहेको सगुनले पछिल्लो केही वर्षयता तामझामका साथ तीज विशेष कार्यक्रम गर्न थालेपछि पनि महिलाको संख्या ह्वात्तै बढेको हो ।
सहकारी संस्थामा महिलाको सहभागिता बढ्नु सकारात्मक पाटो भएको अन्तर पार्टी महिला सञ्जाल सर्लाहीकी अध्यक्ष बुककुमारी थापाले बताइन् । ‘पछिल्लो समय महिला दिदीबहिनीमा चेतनास्तर बढ्दै गएको छ,’ उनले भनिन्, ‘त्यसैले सहकारी संस्थालगायत सामाजिक संघसंस्थामा महिलाको सहभागिता निकै बढेको हो।’

प्रकाशित: १५ आश्विन २०७५ ०६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App