९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

किसानलाई अलैंची भित्र्याउने चटारो

पाकेको अलैंची टिप्दै बाँझेच्यानडाँडा मबुका किसान। तस्बिर : दमन राई/नागरिक

खोटाङ – खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका किसान ज्ञानबहादुर शाही हिजोआज अलैंची टिप्न र सुकाउन व्यस्त छन्। बेंसी क्षेत्रमा लगाइएको अलैंची पाकेपछि भदौ मध्यतिरबाटै शाहीको व्यस्तता बढेको हो। नगदेबालीकारुपमा अलैंची खेती सुरु गरेका शाहीले वार्षिक करिब आठ मन अलैंची उत्पादन गर्दै आएका छन्। 

त्यस्तै, खोटेहाङ गाउँपालिका–४ बड्कादियालेका विशाल राईलाई पनि अहिले आफ्नो बगानको अलैंची टिप्ने र गुणस्तरीय विधि अपनाएर सुकाउन भ्याइनभ्याइ छ। पाकेको अलैंची दानाको झुप्पा काटेर घरमा भित्र्याउने, छोडाउने र भट्टीमा हालेर सुकाउनु विशालको दिनचर्या बनेको छ । उनले वर्षमा करिब ६ मनसम्म अलैंची बिक्री गर्ने गरेका छन्। 

अलैंची पाक्ने सिजन सुरु भएसँगै खोटाङका किसानको व्यस्तता बढेको छ । बेंसी क्षेत्रमा लगाइएका अलैंची अलि चाँडो पाक्ने भएकाले भदौदेखि नै किसानलाई चटारो लागेको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा मबुका किसान संग्राम राईले बताए । बेंसी अर्थात पाँच हजारदेखि सात हजार मिटर उचाइमा लगाइएको अलैंची भदौदेखि नै टिप्न थालिएको हो। 

किसानका अनुसार बेंसी क्षेत्रमा प्रायः भदौ र असोजभित्र अलैंची टिप्ने र थन्काउने काम सकिन्छ । एक हजार आठ सय मिटरदेखि दुई हजार दुई सय मिटरसम्मको उचाइ भएको लेकाली क्षेत्रमा प्रायः कात्तिकदेखि मंसिरसम्म अलैंची टिप्ने चटारो हुने राईले बताए । ‘बेंसीमा अलैंची चाडो पाक्छ, लेकमा ढिलो पाक्छ,’ डाँडाखर्क बहुउद्देश्यीय कृषि फर्मका सञ्चालकसमेत रहेका राईले भने, ‘त्यही भएर भदौदेखि मंसिरसम्म अलैंची किसानको महत्वपूर्ण समय हो।’ 

केही वर्षयता अलैंचीको भाउ निरन्तर ओरालो लागे पनि यसको खेतीप्रति किसानको उत्साह घटेको छैन । केही रोपनी जग्गाबाट अलैंची खेती सुरु गरेका किसानले बर्सेनि अलैंची खेतीको क्षेत्र विस्तार गरिरहेका छन्। मसला, जडीबुटी तथा औषधिकारुपमा प्रयोग गरिने अलैंची खेती जिल्लाको ६४ वडाको विभिन्न जग्गामा गर्न सकिने सम्भावना छ। ‘अलैंची खेतीबाटै किसानको आर्थिक समृद्धि सम्भव छ,’ खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका किसान इन्द्र नारथुंगेले भने, ‘जग्गाको उचाइ र भूगोल अनुसार सुहाउँदो जातको अलैंची लगाउन सके सम्भावना राम्रो छ ।’ २०६८ मा पाँच रोपनी क्षेत्रफलमा अलैंची लगाएर खेती सुरु गरेका नारथुंगेले अलैंचीको क्षेत्रफल २५ रोपनी पु-याएका छन्। 

एक लाख ५१ हजार ३५०.१५ हेक्टर क्षेत्रफल रहेको खोटाङमा अधिकांश खाद्य तथा नगदे बालीको खेती हुन्छ । तर, कम मेहनतमै अन्य बालीनालीको तुलनामा बढी आम्दानी लिन सकिने भएकाले पछिल्लो समय जिल्लाका कृषक अलैंचीतर्फ आकर्षित हुने क्रम बढ्दो छ । अलैंची निकासीबाट हरेक वर्ष जिल्लामा करोडौं रकम भित्रिन्छन् पनि । कतिपय एउटै गाविसबाट समेत करोडभन्दा बढीको अलैंची निकासी हुने गरेको छ । अलैंचीको दाना वा बेर्ना बिक्रीबाट जिल्लाका सयौं किसानको आर्थिक अवस्थामा परिवर्तन आएको छ । गाउँमा राम्रो ठाउँमा मन लागेको खाने लाउने र बस्ने वातावरण बनाएका छन् । कतिपयले आफूलाई अलैंची खेतीकै आम्दानीका कारण सहर बजारमै स्थापित गराएका छन् । धान उत्पादन हुने उर्वर सिमसारे खेतमा समेत हिजोआज अलैंचीको बोट झुल्न थालेका छन्। 

थोरै लगानीमा छिटो र बढी आम्दानी लिन सकिने भएकाले दशकयता जिल्लाका कृषक अलैंचीतर्फ आकर्षित हुँदै गएको रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका किसान हात्तीराम राईले बताए । ‘अलैंचीको आम्दानीसँग अन्य बालीनालीको आम्दानी तुलना गर्नै सक्दैन,’ अलैंची खेतीमै संलग्न हात्तीरामले भने, ‘भाउ नपाउँदा पनि किसानका लागि अलैंचीकै आम्दानी बढी हुन जान्छ ।’ खेर गएको भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैंची हाल जिल्लाको एक हजार ६ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा खेती गरिँदै आइएको छ । किसानमा अलैंचीको खेती गर्ने विधि, बेर्ना रोप्ने, गोडमेल गर्ने, टिप्ने, सुकाउने र भण्डारण गर्ने उपयुक्त विधिको ज्ञानको अभाव भने खड्किएको पाइएको छ। 

प्रकाशित: १४ आश्विन २०७५ ०६:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App