२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

स्टक क्लियरेन्स मेलामा सामान किन्नेको भीड

काठमाडौं – दसैंमा एकै छानामुनि सामान किन्न आउनेको भिड भृकुटीमण्डपस्थित स्टक क्लियरेन्स एक्स्पोमा देखिएको छ। नजिकिँदै गरेको दसैंलाई लक्ष्य गरी सुरु गरिएको मेलामा उपभोग्य वस्तुका साथै लत्ता कपडा लगायत वस्तु खरिदमा आकर्षक छुट समेत पाइने भएकाले भिड बढेको आयोजकको दाबी छ। 

दसैंका सामान किन्न कता जाने भन्ने योजना बनाउनेलाई एकै स्थानमा सुपथ मूल्यमा सामान उपलब्ध गराउन मेला गरेको आयोजकको भनाइ छ । मेलामा पहिलो दिनदेखि नै सामान किन्न आउनेको बाक्लो उपस्थिति देखिएको हो। दुई दिनसम्ममा २५ हजार बढीले मेला भ्रमण गरेका छन्।

राजधानीका साथै आसपासका उपभोक्तालाई लक्षित गर्दै स्वदेशी तथा विदेशी ब्रान्डका वस्तु तथा सेवाका ७२ वटा प्रदर्शनी तथा बिक्री केन्द्र मेलामा राखिएको छ। इभेन्ट सोलुसन प्रालिले आयोजना गरेको मेला नेपाल चेम्बर अफ कमर्सले प्रवद्र्धन गरेको छ। 

चाडपर्वका बेला आयोजना हुने मेलाले आम उपभोक्तालाई धेरै सहज हुने विश्वास चेम्बर अफ कमर्सले लिएको छ। सोमबारसम्म चल्ने मेलामा दसैंका लागि आवश्यक सबै किसिमका सामाग्री सस्तो मूल्यमा किनमेल गर्न पाइने आयोजक इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए। 

‘मेलामा कपडा, जुत्ता, ह्यान्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजका ७२ स्टल छन्। मेलामा बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्रान्डका सामान खरिद गर्न सकिन्छ।’ प्रधानले भने । नेपाल, भारत तथा बंगलादेश लगायत मुलुकका व्यवसायी मेलामा सहभागी छन्।

प्रकाशित: १४ आश्विन २०७५ ०५:२९ आइतबार

स्टक_क्लियरेन्स_मेला भृकुटीमण्डप दसैं