९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

खाली प्लटका लागि नयाँ आवेदन

काठमाडौं - भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा खाली भएका नयाँ प्लटका लागि दुई हप्ताभित्र नयाँ आवेदन खोलिने भएको छ । यसअघि छनोट भएका कम्पनीमध्ये ६ वटा नआउने भएपछि खाली भएका करिब १६ वटा प्लटका लागी नयाँ आवेदन खुलाउन लागिएको हो।

विशेष आर्थिक क्षेत्र प्राधिकरणले नयाँ आवेदन खुला गर्ने तयारी गरेको छ । ‘यसअघि छनोट भएका ६ वटा कम्पनी नआउने भएपछि आवेदन खुलाउन लागिएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले भने, ‘अबको दुई हप्तामा नयाँ आवेदन खुला गर्छौं।’

प्राधिकरणले केही दिनभित्रै विशेष आर्थिक क्षेत्र सञ्चालक समितिमा नयाँ आवेदन खुला गर्न प्रस्ताव लैजाने भट्टले बताए । समितिबाट स्वीकृत भएपछि भैरहवा सेजभित्र उद्योग स्थापना गर्न इच्छुक उद्योगीलाई आवेदनका लागि आह्वान गरिनेछ।

भैरहवा सेजमा उद्योग स्थापनाका लागि छनोट भएका २४ वटा उद्योगमध्ये ६ वटा कम्पनी सम्झौताका लागि आएका छैनन् । उनीहरुका लागि छुट्याइएका करिब १६ वटा प्लट खाली भएका छन्।

यसअघि सम्पर्कमा नआएका उक्त ६ वटा कम्पनीलाई एक हप्ताको समयावधि दिएर सूचना जारी गरिएको थियो । उक्त समयावधिभित्र पनि ती कम्पनीहरू नआएपछि प्राधिकरण नयाँ प्रकृयामा गएको हो।

राम्रो लगानी गर्ने भनेर आवेदन दिएको किरण सुजसमेत भैरहवा सेजमा उद्योग स्थापना गर्न आएन । प्राधिकरणका अनुसार किरण सुजले एक अर्ब लगानी गर्ने बताएको थियो । उक्त कम्पनीले आठवटा प्लटका लागि आवेदन दिएको थियो । त्यस्तै उद्योग स्थापना गर्न नआउने अन्य केही गार्मेन्ट उद्योग लगायतका पाँचवटा कम्पनी सम्झौताका लागि आएनन्।

भैरहवा सेजमा उद्योग स्थापना गर्नका लागि प्राधिकरणले १८ वटा उद्योगसँग सम्झौता गरिसकेको छ । ती उद्योगहरूले पूर्वाधार निर्माण कार्य सुरु गरिसकेका छन् । शक्ति मिनरल प्रालीले उद्योको लागि आवश्यक पर्ने मेसिनसमेत ल्याइसकेको छ । उसले आफ्नो पूर्वाधार बनाइरहेको छ । शक्ति मिनरलले खनिज पदार्थ प्रशोधन गरेर भारत निर्यात गर्ने बताएको छ। 

त्यस्तै, अरु उद्योगले पनि आफ्नो पूर्वाधार निर्माणका लागि डिजाइनिङ गरिरहेका छन् । केही उद्योगहरुले आफूलाई आवश्यक पर्ने मेसिन र पार्टपूर्जा भारत र चीनमा अर्डर गरिसकेका प्राधिकरणले जनाएको छ।  

भैरहवा सेजमा स्थापना हुने भनिएका २४ वटा उद्योगले करिब १० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेका थिए । ६ वटा उद्योग नआउने भएपछि झन्डै दुई अर्ब लगानी घट्ने र आठ अर्ब रुपैयाँ लगानी अनुमान गरिएको छ । प्राधिकरणका अनुसार भैरहवा सेजमा स्थापना हुने १८ वटा उद्योगमा करिब चार हजार जनाले रोजगारी पाउने छन्।

सेज स्थापनाको मुख्य उद्देश्य स्वदेशमा उत्पादित वस्तु निर्यात गर्नु हो । सेजमा स्थापना भएको उद्योगले ७५ प्रतिशत सामान निर्यात गर्नु पर्ने छ । उत्पादनकले २५ प्रतिशतभन्दा धेरै उत्पादनहरू नेपालको आन्तरिक बजारमा बिक्री गरेमा केन्द्रीय कार्यालयले जरिवानाका लागि सिफारिस गर्ने व्यवस्था गरिएको छ।

सरकारले कम्तिमा प्रत्येक प्रदेशमा एक–एक सेज निर्माण गर्ने योजना अगाडि सारेको छ । यस अन्तर्गत प्रदेश १ मा विराटनगर, प्रदेश २ मा सिमरा, प्रदेश ३ मा पाँचखाल, प्रदेश ४ गोर्खा, प्रदेश ५ मा भैरहवा, प्रदेश ६ मा जुम्ला र प्रदेश ७ को धनगढीमा सेज निर्माण गर्ने योजना अगाडि सारिएको छ । यसमध्ये भैरहवाका सञ्चालनको तयारीमा रहेको छ।

प्रकाशित: ८ आश्विन २०७५ ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App