१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

अनुमति लिएका ६ उद्योग आएनन्

बुटवल - दुई–दुई पटकसम्म उद्योग सञ्चालन सम्झौता तथा दर्ताको आव्हान गर्दा पनि उद्योगीहरु नआएपछि भैरहवा सेजमा अन्तिम पटक सात दिने म्याद थप गरिएको छ। यसअघि उद्योग स्थापनाका लागि अनुमति लिएर सम्झौता गर्न नआएका उद्योगहरुलाइ विशेष आर्थिक क्षेत्र प्राधिकरणले गत बिहिबार सुचना प्रकाशित गरी सात दिनभित्र उद्योग दर्ता तथा भू–बहाल सम्झौता गर्न आव्हान गरेको हो।

सेज प्राधिकरणले यसअघि दुई पटक साउन पहिलो साता र भदौ दोस्रो साता १५ दिने सूचना निकाली लगानीकर्तालाई भू–बहाल सम्झौताका लागि आव्हान गरेको थियो। सो अवधिमा यसअघि उद्योग स्थापनाका लागि अनुमति पाएका २४  उद्योगमध्ये १८  उद्योगले मात्रै भू–बहाल सम्झौता तथा दर्ता गरी उद्योग स्थापनाको प्रक्रियामा आएका छन्। ६ वटा उद्योग भू–बहाल सम्झौता तथा दर्ता प्रक्रियामा गएका छैनन्।

यसअघि अनुमति लिएका २४ मध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव गरेको किरण सुजले नै अहिलेसम्म दर्ता गरेको छैन। उसको प्रस्तावित लगानी एक अर्ब ५४ करोड रुपैयाँ रहेको छ । त्यस्तै दोस्रो ठूलो लगानीकर्ता जगदम्बाले एक अर्ब १६ करोड लगानी प्रस्ताव यसअघि पेस गरेको थियो। ६ वटा प्लटका लागि अनुमति लिएको एसियन थाइ फुड्सले पनि दर्ता तथा भू–बहाल सम्झौता गरेको छैन।

एक साताभित्र भू–बहाल सम्झौता गरी उद्योग स्थापनाको प्रक्रिया अघि नबढाए उद्योग सञ्चालनको अनुमतिपत्र खारेज गरिने सेज प्राधिकरणले जनाएको छ । ‘असोज ४ गतेभित्र सञ्चालन सम्झौता तथा दर्ता गर्न नआउने लगानीकर्ताको अनुमति पत्र नियमअनुसार खारेज गर्ने तयारी भइरहेको छ,’ सेज प्राधिकरणका प्रवक्ता सुन्दर थापाले भने। अन्य थुप्रै लगानीकर्ता लाइनमा रहेकाले यसअघि अनुमति लिएका उद्योगी नआए नयाँले  मौका पाउने उनले बताए।

अनुमति लिएर दर्ता तथा भू–बहाल सम्झौता नगर्नेमा जगदम्बा सिन्थेटिक प्रालि, किरण सुज म्यानुफ्याक्चर्स प्रालि, एसियन थाइ फुड्स, एक्सेल गार्मेन्ट प्रोसेसिङ इन्डस्ट्रिज प्रालि,  श्यामकुमार लोनियाको उद्योग र मिनरल वाटर इन्डस्ट्रिज छन् । यी ६ उद्योगले २५ वटा प्लट बुक गरेका छन्।

सबैभन्दा धेरै लगानी र प्लट लिएको  किरण सुजले प्रयोगमा आइसकेको मसिनरी सामान उद्योगमा लगाउन पाउनु पर्ने माग गरेको छ । उसले पुरानो मेसिन प्रयोग गर्न पाउनु पर्ने मागसहितको निवेदन प्राधिकरणमा दिएको सेजका प्रवक्ता थापाले बताए । तर सेज ऐनमा भने पुरानो मेसिनरी तथा उपकरण प्रयोग गर्न नपाइने स्पष्ट उल्लेख छ।

यस सम्बन्धी समस्या समाधानका लागि उद्योग मन्त्रालयले केही दिनअघि एउटा समिति गठन गरेर छलफल गरिरहेको सेजका प्रवक्ता सुन्दर थापाले बताए । समितिले विशेष प्रकारका उद्योगको हकमा निश्चित समय चलेका पुराना उपकरण तथा मेसिन लैजान पाइने व्यवस्थाका लागि सिफारिस गर्न सक्ने बताइएको छ। समितिको सिफारिस मन्त्रिपरिषद्मा पेस गरी निर्णय गर्नुपर्ने प्रावधान छ।

सेजमा २० रुपैयाँ प्रतिस्क्वायर मिटर भाडा निर्धारण गरिएको छ। भू–बहाल सम्झौता गरी उद्योग दर्ताको दिनदेखि जग्गाको भाडा तिर्नुपर्छ । उद्योगले पहिलो वर्ष जग्गा भाडामा ५० प्रतिशत दोस्रो वर्ष ४० र तेस्रो वर्ष २५ प्रतिशत छुट पाउने व्यवस्था छ । यही व्यवस्था अनुरुप दर्ता गरिसकेका १८ वटा उद्योगले ७० लाख रुपैयाँ भाडाबापत प्राधिकरणलाई बुझाइसकेका छन्।

सेजमा हालसम्म एउटा मात्रै उद्योग स्थापनाको काम भइरहेको छ ।  शक्ति मिनरल्सले उद्योग निर्माणको काम अन्तिम चरणमा पु-याएको छ । बाँकी १७  उद्योगले पनि असोजदेखि निर्माणको काम थालिसक्ने सेज प्राधिकरणले जनाएको छ। बढ्दो व्यापार घाटा कम गर्ने मुख्य उद्देश्यसाथ सरकारले १७ वर्षअघि भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनको योजना ल्याएको थियो।

सेजका उद्योगले सुरुका पाँच वर्ष आयकर छुट पाउने छन् । निर्यात गर्ने वस्तुमा प्रयोग भएको कच्चा पदार्थ र मेसिनरी सामानको आयातमा भन्सार छुट हुनेछ । यहाँ स्थापना हुने उद्योगले हाल १० मेघावाट विद्युत्को माग गरेका छन्। यहाँ उद्योग निर्माणका लागि पुग्ने बिजुली भए पनि उद्योग सञ्चालन गर्न पुग्ने विद्युत्को जोहो भने अझै भइसकेको छैन।

लगानीकर्ताले उद्योग निर्माणको काम सकुन्जेल २० मेघावाट विद्युत् सेजमा ल्याइपु-याउने सेज प्राधिकरणले जनाएको छ । एक–डेढ वर्षभित्रै २० मेघावाट विद्युत् उपलब्ध गराउने प्राधिकरणको प्रतिबद्धतासँगै लगानीकर्ताहरु उद्योग दर्ता र सम्झौताको प्रक्रियामा आएका हुन्।

प्रकाशित: २ आश्विन २०७५ ०६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App