१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

चिया खेतीका लागि सम्भाव्यता अध्ययन

सम्भाव्यता अध्ययनका लागि दोर्पाचिउरीडाँडामा लगाइएको चियाको बिरुवा निरीक्षण गरिँदै। तस्बिर : नागरिक

खोटाङ – खोटाङको दोर्पाचिउरीडाँडाको माथिल्लो भेगमा व्यावसायिक चिया खेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको माथिल्लो भेगमा पर्ने खावाडाँडा, चैते र दुधिले क्षेत्रमा व्यावसायिक रुपमा चिया खेती लगाउन सम्भाव्यता अध्ययन गरिएको हो।

दोर्पाचिउरीडाँडा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा व्यावसायिकरुपमा चिया तथा कफी खेतीका लागि पारित गरिएको नीति तथा कार्यक्रमअनुसार सुरुमै कम्तीमा २० हजार रोपनी जग्गामा चिया खेतीका लागि विज्ञ टोलीमार्फत सम्भाव्यता अध्ययन कार्य पूरा गरिएको हो। वडा कार्यालय दोर्पाचिउरीडाँडाको पहलमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय बिर्तामोड झापाले दोर्पाचिउरीडाँडामा चियाको सम्भाव्यताबारे अध्ययन गरेको हो।

चिया खेतीमार्फत वडाको समृद्धिका लागि जगतबहादुर चौहानको अध्यक्षतामा गठन गरिएको चिया उत्पादन समूहमा आवद्ध किसानलाई चिया खेतीसम्बन्धी एकदिने प्राविधिक एवं सैद्धान्तिक ज्ञानबारे जानकारी दिएपछि शुक्रबार चिया खेतीका लागि छानिएको क्षेत्रको भौगोलिक अवस्थाबारे स्थलगत अध्ययन गरिएको वडाध्यक्ष लिला चौहानले बताए । प्रारम्भिकरुपमा १३ रोपनी निजी जग्गा र अन्य ऐलानी जग्गामा लगाइने चिया खेती क्रमशः विस्तार गर्दै लैजाने लक्ष्य लिइएको छ । निरीक्षण–अवलोकनका क्रममा १७ सयदेखि दुई हजार मिटर उचाइमा रहेको सो जग्गामा विशिष्ट गुणस्तरको चिया उत्पादन गर्न सकिने सम्भावना देखिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालयका चिया प्राविधिक नविन कोइरालाले बताए । ‘दोर्पाचिउरीडाँडाको भू–बनोट, हावापानी, तापक्रम, चिस्यान चिया खेतीका लागि एकदमै उपयुक्त देखिएको छ,’ कोइरालाले भने, ‘यहाँको माटो उर्वर पाइएको छ । माटोमा प्रांगारिक पदार्थको मात्रा पनि बढी देखिएकाले इलामकैजस्तो चियाको सम्भावना देखेका छौं।’

दोर्पाचिउरीडाँडा लगायत ठाउँमा चियाखेतीका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नीति तथा कार्यक्रम पारित गरेका आधारमा वडा कार्यालयले यसको सम्भाव्यता अध्ययन गरेको जनाएको छ । यसअघि बिना प्राविधिक दोर्पाचिउरीडाँडाको लेकाली क्षेत्रमा लगाइएका चियाको बोट राम्रो भएकाले चियाखेतीको सम्भावना रहेको राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड क्षेत्रीय कार्यालयका प्रशासन सहायक मिनबहादुर लिम्बूले बताए।

चियाखेतीको सम्भावनालाई पुष्टी गर्न बोर्डको क्षेत्रीय कार्यालयले ल्याब टेस्टका लागि दोर्पाचिउरीडाँडाको माटो लिएर गएको छ । इलाममा माटो परीक्षणपछि चियाखेतीको सम्भाव्यता आधिकारिकरुपमा पुष्टी हुने जनाइएको छ । गाईबस्तु चरणकारुपमा प्रयोग हुँदै आएको नांगो पाखालाई चियाखेतीमा सदुपयोग गर्दै किसानको आयआर्जनका लागि प्रयोग गरिनेछ । सडकले छोएका कारण चिया बगानका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै कन्यामलाईझैं पर्यटकको गन्तव्यस्थलकारुपमा विकास गर्न सकिने अध्ययन टोलीको सुझाव छ । खेर गइरहेको जग्गालाई सदुपयोग गर्दै गाउँमै रोजगारीको वातावरण सिर्जना गरेर किसानलाई व्यावसायिक बनाउने लक्ष्यसाथ काम थालिएको वडाध्यक्ष चौहानले बताए । ‘लेकाली क्षेत्रका उपयोगबिहीन जग्गालाई सदुपयोग गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जनाका लागि चियाखेती गर्ने सोच अघि बढाइएको हो,’ वडाध्यक्ष चौहानले भने, ‘भौगोलिक र वातावरणीयरुपमा इलामकै जस्तो सम्भावना रहेको पुष्टी भएको छ । यसले हामीलाई उत्साहित बनाएको छ।’

प्रकाशित: २४ भाद्र २०७५ ०६:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App