५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

लाङटाङ हाइड्रोपावरका लागि लगानी जुट्यो, ४ बैंकले २ अर्ब ७३ करोड लगानी गर्ने

काठमाडाैं - आरएम ग्रुप अन्तर्गतको मल्टी इनर्जी डेभलपमेन्ट प्रा.लि. ले रसुवाको गोसाईंकुण्ड गाउँपालिकामा निर्माण गर्न लागेको लाङटाङ हाइड्रोपावरका लागि लगानी जुटेको छ। राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो। २० मेगावाट क्षमताको उक्त आयोजनाका लागि सनराइज बैंककोअगुवाइमा चारवटा बैंकले लगानी गर्ने भएका छन्। सहायक लगानीकर्ता बैंकमा सिद्धार्थ बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक र जनता बैंक छन्।

कार्यक्रममा मल्टी इनर्जी डेभलपमेन्ट प्रा. लि. का अध्यक्ष कृष्ण आचार्य र नेतृत्वकर्ता सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बजाचार्यले सम्झौताको प्रति आदानप्रदान गरे। आयोजनाको कूल लगानी चार अर्ब पाँच करोड प्रक्षेपण गरिएकामा शेयरधनीहरुबाट १ अर्ब ३२ करोड र बैंकहरुले २ अर्ब ७३ करोड ४० लाख लगानी गर्ने मल्टी इनर्जीका अध्यक्ष आचार्यले जानकारी दिए। सम्झौताअनुसार लगानीको अगुवाई गरेको सनराइज बैंकले १ अर्ब २ करोड ५२ लाख, सिद्धार्थ बैंकले ७६ करोड ९० लाख, एनसिसी बैंकले ५२ करोड २३ लाख र जनता बैंकले ४२ करोड ७३ लाख रुपैयाँ ऋण उपलब्ध गराउने छन्। आयोजनाको सम्भाव्यता अध्ययन, विद्युत खरिद बिक्री सम्झौता, वातावरणीय प्रभाव अध्ययन मूल्यांकन लगातका काम सम्पन्न भएपछि बित्तीय व्यवस्थापन सम्झौता भएको हो। साविकमा १० मेगावाट क्षमताको उक्त आयोजनाको अध्ययनका क्रममा पछि १० मेगावाट क्षमता थप गरिएको थियो।

आयोजनाको सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइन लगायत मुख्य संरचना निर्माणका लागि चिनियाँ कम्पनी छोङगिङ वाटर टर्वाइन वर्क्स (सीडब्लुटीडब्लु) सँग ठेक्का सम्झौतासमेत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। सम्झौता अनुसार ठेकेदार कम्पनीलाई सुरुमा कूल लागतको १० प्रतिशत र आयोजनाबाट विद्युत उत्पादन सुरु भएको ७ सय दिनपछि बाँकी रकम उपलब्ध गराइने छ। आयोजनाको काम सम्पन्न भएपछि मात्र रकम भुक्तानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्झौता गरिएको लाङटाङ खोला नेपालकै पहिलो आयोजना भएको दाबी अध्यक्ष आचार्यको छ।आगामी २०७७ साल पुस महिनाभित्र आयोजनाको निर्माणकार्य सम्पन्न गर्नेआयोजनाको लक्ष्य छ।

प्रकाशित: २० भाद्र २०७५ १५:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App