५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

स्वचालित मेसिन जडान नगरेका पानी उद्योग शील

पानी उद्योगमा शिलबन्दी गर्दै खाद्य निरीक्षण एकाइ चितवनका कर्मचारी। तस्बिरः सविता/नागरिक

चितवन - जिल्ला प्रशासन कार्यालय चितवनको खाद्य निरीक्षण एकाइले स्वचालित (अटोमेटिक) मेसिन जडान नगरी पानी उत्पादन गर्ने उद्योगमा शीलबन्दी गर्न सुरु गरेको छ। सञ्चालनमा रहेका पानी उद्योगलाई  नेपाल सरकारले गएको चैत २६ गतेभित्र स्वचालित मेसिन जडान गरेर उद्योग सञ्चालन गर्न सूचना जारी गरेको थियो।

सोही सूचना बमोजिम जिल्लामा रहेका उद्योगलाई पनि स्वचालित मेसिन राख्न जानकारी गराइएको खाद्य निरीक्षण एकाइ चितवनका खाद्य निरीक्षक प्रविण तिवारीले बताए। उद्योग सञ्चालकलाई बोलाएर सरकारले जारी गरेको निर्देशिकाबारे जानकारी गराएर सरकारले तोकेको म्यादभित्र स्वचालित मेसिन राख्न लगाउने निर्णय गरिएको उनले बताए।

स्वचालित मेसिन राख्न जानकारी गराइएको लामो समय हुँदा पनि मेसिन नराखेको पाइएपछि पानी उत्पादन गर्ने उद्योगमा शिलबन्दी गर्ने काम सुरु गरिएको उनले बताए। पूर्वी चितवन क्षेत्रमा दुई, मुग्लिनमा दुई र भरतपुरमा ११ वटा गरी जिल्लामा १७ वटा पानी उत्पादक उद्योगहरु रहेका छन्। अनुज्ञापत्र लिएर सञ्चालन गरिएका १७ वटा पानी उत्पादन गर्ने यी उद्योगमध्ये १५ वटाले बोतलमा पानी उत्पादन गर्दै आएका छन्। दुइटा उद्योगले पानी उत्पादन गरेर जारमा बिक्री गर्दै आएका छन्।

बोतलमा पानी बिक्री गर्ने उद्योगमध्ये दुइटाले मात्र स्वचालित मेसिन प्रयोग गरेर पानी उत्पादन गर्दै आएको पाइएको छ। नेपाल सरकारले गत वर्षदेखि प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका २०७४ लागू गरेको छ। निर्देशिका अनुसार स्वचालित मेसिनको प्रयोग गरी बोतल सफा गर्ने, पानी भर्ने, बिर्को लगाउने कार्य गर्नुपर्ने व्यवस्था रहेको छ। पानी जाँचसँगै स्वच्छता सुनिश्चित गरी नविकरण गरेर उद्योग सञ्चालन गर्नुपर्ने प्रावधान रहेको छ।  

निर्देशिकाले व्यवस्था गरेअनुसार स्वचालित मेसिन प्रयोग नगरिएका उद्योगको उत्पादन र बिक्री वितरणमा रोक लगाउन क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले खाद्य निरीक्षण एकाइलाई परिपत्र गरेको छ। भदौ महिनामा गरेको परिपत्रअनुसार पानी उद्योगको अनुगमन गरी शिलबन्दी गरिएको खाद्य निरीक्षक तिवारीले बताए। पूर्वी चितवनको खैरहनी नगरपालिकामा रहेको एक, रत्नगर नगरपालिकामा रहेको एक र भरतपुर महानगरपालिकामा रहेका नौवटा उद्योगमा बिहीबार शिलबन्दी गरिएको छ।

खैरहनी नगरपालिका–३ को ‘सिएनपी’ पानी उत्पादन गर्ने ओम जल उद्योग, रत्ननगर नगरपालिका–३ को ‘माउन्टेन’ पानी उत्पादन गर्ने ब्रदर्श फुड एन्ड वेभरेज प्रालिमा शिलबन्दी गरिएको हो। भरतपुर महानगरपालिका–८ को ‘अक्सी फ्रेस’ पानी उत्पादन गर्ने इच्छाकामना इन्डस्ट्री प्रालि, भरतपुर १० सिँचाइ रोडस्थित ‘एक्वा गोर्खा’ पानी उत्पादन गर्ने अप्सरा इन्डस्ट्री, भरतपुर–३ को ‘हेल्थी लाइफ’ पानी उत्पादन गर्ने युनाइटेड मिनरल वाटर एन्ड वेभरेज इन्डस्ट्रिजमा शिलबन्दी गरिएको हो।

यस्तै, भरतपुर–५ को ‘अक्वा डाइट’ पानी उत्पादन गर्ने चितवन वाटर इन्डस्ट्रिज, भरतपुर–४ को ‘रोयल फिसर’ पानी उत्पादन गर्ने लिप्टन सफ्ट ड्रिंक इन्डस्ट्रिज, भरतपुर–२ को ‘ताज’ पानी उत्पादन गर्ने प्रधान मिनिरल वाटर इन्डस्ट्री र भरतपुर–११ को ‘पियोर ड्रप’ पानी उत्पादन गर्ने डिएसएम उद्योगमा शिल लगाइएको छ। रत्ननगर नगरपालिका–४ देवौलीमा अनुज्ञापत्र नलिई ‘अक्वा शक्ति’ पानी उत्पादन गर्ने सञ्जित साहको पानी उद्योगमा पनि शिलबन्दी गरिएको खाद्य निरीक्षक तिवारीले जानकारी दिए।

मुग्लिन क्षेत्रमा रहेका दुई उद्योगमा पनि केही दिनमा नै अनुगमन गरेर स्वचालित मेसिन जोडेको नपाए शिलबन्दी गरिने उनले बताए। भरतपुर–७ विकास चोकमा रहेको आइसल्यान्ड ड्रपको उद्योगमा स्वचालित मेसिन जडान गर्दै गरेको पाइएको उनको भनाइ छ। मेसिन जडान गरेपछि पानी परीक्षण गरेर मात्र बिक्री वितरण गर्न लगाइएको उनले बताए ।
अप्सरा वाटर इन्डस्ट्रीका प्रबन्धक दिपकचन्द्र आचार्य स्वचालित मेसिन किन्नका लागि बुकिङ गरे पनि मेसिन नआइसकेको बताउँछन्। देशभरी कै पानी उद्योगले स्वचालित मेसिन माग गरेका कारण बुकिङ गरिएको लामो समय हुँदा पनि मेसिन नपाएको उनले बताए। ‘लाखौं खर्च गरेर उद्योग खोलिएको छ, रोजगारी दिइएको छ,’ उनी भन्छन्, ‘केही समय तोकेर उद्योग चलाउन दिएर व्यवसायी र कर्मचारीको मर्का बुझिदिए हुन्थ्यो।’

प्रकाशित: ८ भाद्र २०७५ ०४:२५ शुक्रबार

स्वचालित_मेसिन पानी_उद्योग