१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सहकारीका माध्यमबाट गरिबी निवारण : सहकारी मन्त्री

राष्ट्रिय सहकारी विकास बोर्डमा अध्यक्षको पदबहाली कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल। तस्बिर : नागरिक

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीका माध्यमबाट गरिबी निवारण गर्न सकिने बताएकी छिन्। राष्ट्रिय सहकारी विकास बोर्डले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो धारणा राखेकी हुन्।

मन्त्री अर्यालले वर्तमान सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपाल अभियानलाई सहकारीले सघाउन सक्ने बताइन्। ‘सहकारीको माध्यमबाट गरिबी निवारण गर्नुपर्छ,’ मन्त्री अर्यालले भनिन्, ‘सहकारीलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरे सम्भव छ।’

मुलुकभर ३४ हजार पाँच सय सहकारी भए पनि अपेक्षित रुपमा उत्पादनमूलक क्षेत्रमा लगानी नगरिरहेको अवस्थामा मन्त्री अर्यालले सहकारी क्षेत्रलाई फलदायी बनाउनु पर्नेमा जोड दिइन्। ‘जनताको अपेक्षा पूरा गर्ने माध्यम सहकारी हुन सक्छ,’ उनले भनिन्, ‘सहकारीको पुँजीलाई विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ।’ सहकारी क्षेत्रलाई व्यवस्थित गर्नका लागि कार्ययोजना बनाएर अघि बढ्ने उनले बताइन्। मन्त्री अर्यालले बिहीबार राष्ट्रिय सहकारी विकास बोर्डको अध्यक्षको पदबहालसमेत गरिन्। बोर्डमा मन्त्री अध्यक्ष रहने व्यवस्था छ।

कार्यक्रममा बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारी क्षेत्रलाई व्यावसायिक बनाउनु पर्ने बताए। सहकारीको लक्ष्यअनुसार अगाडि बढे समृद्ध नेपालको परिकल्पना साकार हुने बताए। ‘सहकारीको पुँजीलाई आयमूलक क्षेत्रमा लगानी गर्नुपर्छ,’ पौडेलले भने, ‘मुलुकको विकासमा सहकारीले सघाउन सक्छन्।’ उनले सहकारी ऐन, २०७४ जारी भइसकेकाले सहकारीको नियमावली ल्याउनुपर्ने बताए।

कार्यक्रममा बोर्डका निर्देशक शिवप्रसाद घिमिरेले बोर्डले सरकार र सहकारीबीच सम्वयन गरेर अघि बढेको जानकारी गराए। सहकारीको प्रवद्र्धनमा बोर्डले महत्वपूर्ण भूमिका निर्वाह गरेको घिमिरेको भनाइ छ। ‘सहकारी अभियान र सरकारबीच बोर्डले पूलको काम गरिरहेको छ,’ उनले भने।

प्रकाशित: १ भाद्र २०७५ ०३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App