१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

देशभर ९० प्रतिशत धान रोपाइँ

काठमाडौं – देशभर अहिलेसम्म करिब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विकास मन्त्रालयले यही साउन १७ गते बिहीबारसम्म संकलन गरेको अभिलेखअनुसार देशका धेरै भागमा रोपाइँ सम्पन्न भएको छ। 

गत वर्ष साउनको दोस्रो साता (यही अवधि) सम्म ७७ प्रतिशत मात्र रोपाइँ भएको थियो। अघिल्लो वर्ष भदौ १३ गतेसम्म ९५ प्रतिशत रोपाइँ भएकामा यस वर्ष साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान मन्त्रालयले गरेको छ। 

गत आर्थिक वर्षमा देशभर ५१ लाख ५१ हजार मेट्रिक टन धान फलेकामा अहिले करिब ५५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ। आ.व २०७३–०७४ मा ५२ लाख ३० हजार मेट्रिक टन धान फलेको अभिलेख मन्त्रालयसँग छ। 

मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाका अनुसार धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र निकै राम्रो मानिन्छ। त्यस क्षेत्रबाट धानको उत्पादकत्वमा समेत वृद्धि भई कूल उत्पादनको ७१ प्रतिशत योगदान रहेको छ भने पहाडी क्षेत्रमा २९ प्रतिशत उत्पादन हुने गरेको छ। मौसमको प्रतिकूलता, दैवी प्रकोप, अतिवृष्टि तथा अनावृष्टिले रोपाइँमा नकारात्मक प्रभाव परी कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ। मौसमको अनकूलता हुँदा उत्पादनमा पनि वृद्धि हुने गर्दछ। 

मुलुकमा १५ लाख ५२ हजार हेक्टर जमीनमा धानखेती गरिन्छ। धान उत्पादनमा करिब १० प्रतिशतले घटबढ भएमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले घटबढ हुने तथ्यांक छ। तीन दशकयता धान उत्पादनको दर प्रतिवर्ष करीब चार प्रतिशतले वृद्धि हुने गरेको पाइएको छ। 

विसं २०६६ देखि ४ वर्षसम्म धानको उत्पादनमा ४० लाख लाख मेट्रिक टनको हाराहारीमा भएको भए पनि वि.सं २०७० देखि हालसम्म निरन्तर ५० लाख मेट्रिक टनभन्दा बढी उत्पादन भएको छ। पछिल्लोपटक विकास भएका ज्ञान, सीप, प्रविधि तथा उन्नत जातका बीउबिजनको विकास भएका कारण उत्पादन बढेको पाइन्छ। 

स्वदेशमा उत्पादन हुने धानबाट करिब ३० लाख मेट्रिक टन खानयोग्य चामल बन्ने गर्दछ। देशभर हाल चामलको माग ३८ लाख मेट्रिक टन रहेको हुँदा सो उत्पादनमा करिब ८ लाख मेट्रिक टन चामल अपुग हुने गर्दछ। गत वर्ष करिब २६ अर्ब बराबरको चामल आयात भएको अभिलेख छ। 

अर्थविद राधेश्याम मालाकारले देशमा हुने उत्पादनभन्दा बढी वस्तु उपभोग गरिएमा विदेशबाट आयात बढाउनुपर्ने बताउँदै त्यसले व्यापार घाटा वृद्धि भई देशको अर्थतन्त्रमा नकारात्मक असर गर्ने विचार व्यक्त गरे। मुलुकका विभिन्न स्थानमा उत्पादन हुने गहुँ, मकै, कोदो, फापरलगायत खाद्य सामग्रीको राम्रो उत्पादन हुने गरे पनि त्यसको उपभोगमा कमी आएका कारणले चामलको आयात बढेको छ। 

देशभर गहुँ २० हजार मेट्रिक टन, मकै २३ लाख मेट्रिक टन, कोदो तीन लाख मेट्रिक टन उत्पादन हुने गरेको छ।  (रासस)

प्रकाशित: १९ श्रावण २०७५ ०९:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App