६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

४९६ परियोजनामा ३५० अर्ब लगानी प्रतिबद्धता

काठमाडौं - गत आर्थिक वर्षमा स्वदेशी र विदेशी उद्योगी व्यवसायीले अहिलेसम्मकै सबैभन्दा धेरै लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।

उद्योग विभागका अनुसार गत वर्ष तीन खर्ब ५० अर्ब ५८ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको हो ।
मुलुकभरका चार सय ९६ वटा परियोजनालाई आएको यो प्रतिबद्धता अहिलेसम्मकै उच्च हो । यसअघि आव ०७०-७१ मा दुई खर्ब ८७ अर्ब ८० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो।

गत आवमा आएको लगानी प्रतिबद्धता अघिल्लो आवको भन्दा झन्डै एक सय ४५ प्रतिशतले बढी छ । त्यो वर्ष मुलुकमा कुल एक खर्ब ६३ अर्ब १७ करोडको लगानीको प्रतिबद्धता आएको थियो।विभागका सूचना अधिकृत दुर्गाप्रसाद भुसालले मुलुकमा लगानी प्रतिबद्धता ह्वात्तै बढेको बताए ।‘गत वर्षमा वैदेशिक र स्वदेशी लगानीको प्रतिबद्धता उच्च भएको छ,’ नागरिकसँग कुरा गर्दै बिहीबार भुसालले भने, ‘मुलुकमा लगानी गर्ने वातावरण बन्दै गएकाले प्रतिबद्धता बढेको हो।’

लगानी प्रतिबद्धता आउनु राम्रो हो । प्रतिबद्धता अनुसार लगानी हुने वातावरण बनाउन आवश्यक भएको व्यवसायीको भनाइ छ । ‘लगानी आउनु राम्रो हो तर प्रतिबद्धता भए अनुसारको लगानी हुन सकेको छैन,’ उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले भने, ‘अझै पनि मुलुकमा लगानी गर्ने वातावरण भएको महसुस हुन सकेको छैन।’

गत वर्ष सबैभन्दा धेरै लगानी प्रतिबद्धता ऊर्जामूलक परियोजनामा आएको छ । यस क्षेत्रमा झन्डै दुई अर्ब ३४ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ, जुन कुल प्रतिबद्धताको ३३ प्रतिशत हो । दोस्रो सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको क्षेत्र उत्पादनमूलक उद्योग हो । उत्पादनमूलक क्षेत्रमा ७७ अर्ब २६ करोड ६४ लाखको प्रतिबद्धता आएको छ । तेस्रो पर्यटक क्षेत्रमा २३ अर्ब ८५ करोड ५५ लाखको प्रतिबद्धता छ ।

गत वर्ष लगानी प्रतिबद्धता ह्वात्तै बढे पनि परियोजनाको संख्या भने कम छ । आर्थिक वर्ष ०७३-७४ मा कुल परियोजना संख्या पाँच सय १० रहेकोमा गत वर्ष चार सय ९६ मात्र छ । गत वर्ष सबैभन्दा धेरै परियोजना पर्यटन क्षेत्रमा एक सय ५९ छन् । उत्पादनमूलक क्षेत्रमा एक सय ३० वटा रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, सेवामूलक क्षेत्रमा एक सय १४ र ऊर्जामूलक क्षेत्रमा ३९ वटा परियोजना सञ्चालनको लागि दर्ता भएका छन् ।
ठूला स्तरका परियोजना आउँदा गत वर्ष संख्या कम भए पनि लगानी प्रतिबद्धता धेरै भएको हो । विभागको तथ्यांकअनुसार ७८ वटा ठूला स्तरका परियोजनामा तीन खर्ब २८ अर्ब ५२ करोड लगानी प्रतिबद्धता आएको छ । त्यस्तै, ७६ वटा मझौला उद्योगमा १४ अर्ब ९२ करोड र तीन सय ४२ वटा साना परियोजनामा सात अर्ब १४ करोड ४२ लाख रुपैयाँ प्रतिबद्धता आएको छ।

यी चार सय ९६ परियोजनाले २७ हजार तीन सय ३९ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । साना परियोजनाले १० हजार चार सय २४, ठूलाले १० हजार दुई सय २६ र मझौलाले ६ हजार ६ सय ८९ जनालाई रोजगारी दिने प्रतिबद्धता गरेका छन् ।   गत वर्ष वैदेशिक लगानीमा पनि उल्लेख्य वृद्धि भएको छ । वैदेशिक लगानीको प्रतिबद्धता २६६ प्रतिशत बढेर अघिल्लो वर्षभन्दा ४० अर्बभन्दा माथि पुगेको छ।

विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७४-७५ मा ५५ अर्ब ६४ करोड ५६ लाखभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । त्यसअघिको वर्ष ०७३-७४ मा यस्तो प्रतिबद्धता १५ अर्ब २० करोड ६४ लाख थियो ।विभागमार्फत आएको कुल ५५ अर्ब ६४ करोड ५६ लाख वैदेशिक लगानी प्रतिबद्धतमध्ये ३६ अर्ब २५ करोड १५ लाख रुपैयाँ ऊर्जामा आएको छ । ऊर्जा तथा सिमेन्ट उद्योगमा चिनियाँ व्यवसायी आकर्षित हुँदा वैदेशिक लगानी बढेको देखिन्छ।


गत वर्ष आएको लगानी प्रतिबद्धता अहिलेसम्मकै उच्च हो ।

विभागले १० करोडभन्दा माथि स्वदेशी र ५० लाखभन्दा माथि विदेशी लगानीको परियोजना दर्ता गर्छ ।
मुलुकमा अहिले पनि विभिन्न समस्या रहेकाले प्रतिबद्धता आउँदैमा लगानी भइहाल्छ भन्न नसकिने व्यवसायी बताउँछन् । नीति, कानुन र सोच परिवर्तन नगर्दासम्म लगानीको वातावरण बन्न नसकेको उनीहरुको भनाइ छ । भौतिक पूर्वाधारको अवस्था पनि कमजोर छ।

उद्योग विभागमा गरिने प्रतिबद्धता अनुसारको लगानी बढीमा १० वर्षभित्र आइसक्नुपर्ने सामान्य नियम छ । उद्योग हेरेर एक वर्षदेखि १० वर्षसम्म लगानी ल्याउनुपर्ने भन्ने भए पनि यसमा कडाइ नभएको विभागको भनाइ छ । औद्योगिक व्यवसायी ऐन आएपछि १० वर्षको समय तोकिएको थियो ।

 

प्रकाशित: ४ श्रावण २०७५ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App