१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

अदुवामाथिको भारतीय प्रतिबन्ध हट्यो

गत माघ पहिलो साता झापाको काँकडभिट्टा भन्सार वरपर निकासी रोकिँदा अलपत्र अदुवा लोड गरिएका ट्रक ।फाइल तस्बिर :नागरिक

विराटनगर - कानुन बनाएर नेपाली अदुवा भित्रिन रोक्न खोजेको भारतले उल्टै नेपालको ‘फ्रेस जिन्जर’माथिको प्रतिबन्ध हटाएको छ । भारतीय पक्षले गत सोमबार  यस्तो निर्णय लिँदै नेपालको ‘फ्रेस जिन्जर’को आयात खुला गरेको हो।

‘नेपाली अदुवाको निर्यातमा हुँदै आएको अवरोध अब हुने छैन,’ वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले नागरिकसँग भने, ‘जुलाई २ मा भारतीय पक्षले प्रतिबन्ध हटाउने निर्णय लिएको छ ।’ उनका अनुसार भारतमा ‘फ्रेस जिन्जर’ विदेशबाट आयात गर्न प्रतिबन्ध थियो ।

यसपटकदेखि नेपालको ‘फ्रेस जिन्जर’लाई भने उसले ‘प्रतिबन्धित वस्तु’को सूचीबाट हटाएको छ ।तर, केही वर्षयता विभिन्न बहानामा अदुवा तथा अन्य कृषिवस्तु रोक्दै आएको भारतले अदुवामा करको बोझ भने थपेको थप्यै छ । अन्य कृषि वस्तुको निर्यातमा पनि अनेकौं झमेला थोपरेर नेपाली पक्षलाई समस्यामा पारेको भारतले अदुवामा अर्को कुनै बहाना झिक्ला कि भन्ने त्रास भने कायमै छ।

करको बोझ थपिए पनि नेपाली निर्यातकर्ताले बजारको विकल्प नहुँदा अनेकौं सास्ती सहेर पनि अदुवा लगातार भारत पठाइरहेका छन् । पाँच प्रतिशत जिएसटी र १० प्रतिशत कस्टम ग्यारेन्टी तिरेर नेपालको अदुवा भारत निर्यात भइरहेको छ । अदुवा व्यवसायीका अनुसार पश्चिम बंगाल राज्य सरकारले नेपालबाट आयात हुने अदुवामा १० प्रतिशत कर लिइरहेको छ ।

तर, ‘फ्रेस जिन्जर’माथिको प्रतिबन्ध हटाउने निर्णयले नेपाली पक्ष उत्साही बनेको छ । भारतको नयाँ निर्णयपछि अदुवा निर्यातमा निरन्तर लाग्दै आएको अंकुश हट्ने अपेक्षा नेपाली पक्षको छ।विभिन्न बहानामा पटक–पटक आयात रोक्दै आएको भारतले सन् २०१८ को सुरुआतबाट  कानुन बनाएरै नेपालमा उत्पादित अदुवा रोक्ने नीतिको कार्यान्वयन थालेको थियो । भारतीय अदुवा उत्पादकहरुले नेपालबाट अदुवा आयात रोक्न लगातार दिइरहेको दबाब अनुसार भारतले आयात रोक्दा विगतमा कयौंपटक निर्यात ठप्प भएको थियो।

‘जिएसटी लागू भएपछि फ्रेस जिन्जरमा कानुनतः अवरोध उत्पन्न भएको थियो,’ नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष नरेन्द्र खड्काले भने, ‘त्यो कानुनी प्रावधान हटाउने भारतीय निर्णयले अब सहज हुने आस पलाएको छ ।’अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्षसमेत रहेका खड्काका अनुसार सन् २०१७ को जुलाइबाट वस्तु तथा सेवा कर (जिएसटी) लागू भएसँगै बनेको भारतीय कानुन अनुसार प्रशोधित अदुवा ‘जिन्जर’मा पाँच प्रतिशत कर लाग्ने र  ‘फ्रेस जिन्जर’ कररहित बनेको थियो ।

एक्कासि करको बोझ थपिएर प्रतिस्पर्धी क्षमता गुमाएपछि  भारतीय आयातकर्तासँगको समन्वयमा नेपाली पक्षले आफ्नो उत्पादनलाई ‘फ्रेस जिन्जर’ शीर्षकमा पठाउन थालेको थियो ।  तर, करको बोझबाट जोगिन नेपाली पक्षले उपाय लगाएकै बेला भारतले फ्रेस जिन्जरमा प्रतिबन्ध लगाएको थियो । गएको माघ पहिलो साता कोलकातास्थित भन्सार विभागले ‘फ्रेस जिन्जर’ शीर्षकमा आइरहेको अदुवा रोक्न मातहतका भन्सारलाई निर्देशन दिएको थियो ।

त्यसयता अनेकौं बहानामा अदुवाको निर्यात रोकिँदै आएको छ । यद्यपि, नेपाली पक्षले भारतीय आयातकर्ताले भने बमोजिम अत्यधिक कर तिरेर अदुवा भारत पठाइरहेको थियो ।‘जिन्जरका रुपमा पठाउँदा लागत नै धान्न नसक्ने अवस्था थियो  कर नलाग्ने गरी फ्रेस जिन्जर भनेर पठाउँदा त्यसमा प्रतिबन्ध थियो,’ नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका कार्यालय प्रमुख सत्यम खड्काले भने, ‘यसले हाम्रो अदुवाको भारत निर्यात सधैंलाई रोकिने खतरा देखिएको थियो ।

तर, नयाँ निर्णयले आशा जगाएको छ ।’  नेपाली उत्पादनको मुख्य बजार भारतले केही वर्षयता आफैं उत्पादन बढाउँदै लगेका कारण त्यहाँ अदुवा आयात रोक्न चर्को दबाब छ । त्यसो त त्यही बेला   ‘जिन्जर’ र ‘फ्रेस जिन्जर’बीचको झमेला पार लगाउने गरी पहल गरिदिन व्यवसायीले सरकारसँग माग गरेका थिए । तर, यो विषयमा कुनै प्रगति भएको थिएन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तथा अन्य द्विपक्षीय छलफलपछि यसपटक भने भारतले प्रतिबन्ध हटाउने निर्णय लिएको हो । यसले अदुवाको एकमात्र अन्तर्राष्ट्रिय बजार भारतमा अदुवा निकासी सहज बन्ने आस पलाएको व्यवसायीको भनाइ छ।

 हटेन हैरानी
अदुवा निर्यातको बाटो सहज हुने खबर सार्वजनिक भएको यहीबेला अन्य कृषि वस्तुको निर्यातमा भने हैरानी थपिँदो छ । भारतीय पक्षको अनुदार व्यवहारले चिया, गोलभेंडा, इस्कुस जस्ता कृषि उत्पादनमा  विभिन्न बहानामा अवरोध जारी छ । हरियो चिया भारतले ‘ल्याब टेस्ट’ को बहानामा एक महिनाअघि लामो समयसम्म आयात रोकेको थियो । अहिले क्वारेन्टाइन सूचीमै नपरेको भन्दै गोलभेंडा र इस्कुसको आयात रोकेको छ ।

काँकडभिट्टा नाकाबाट पूर्वमा उत्पादन भएको गोलभेंडा निकासी रोकिएपछि किनबेच पनि ठप्प भएको छ । निकासी गर्ने कृषि उपजको सूचीमा नरहेको भन्दै भारतीय पक्षले निकासी रोकेको हो ।  केही दिनदेखि किनबेच रोकिँदा उत्पादन भएको गोलभेंडा थन्किएर बसेको अवस्था छ । दैनिक टिप्नुपर्ने गोलभेंडा बिक्री नभएपछि पूर्वी पहाडका किसानले बारीबाट टिपेकै छैनन्।  

कृषि वस्तुको व्यापारमा प्रयोगशालाको समस्याले नेपाली पक्षलाई सबैभन्दा धेरै तनाव दिएको छ । नाकामा आफैं परीक्षणको प्रबन्ध पनि नगर्ने, नेपालको प्रयोगशालाको रिपोर्टमा भरोसा पनि नगर्ने भारतीय शैलीले नेपाली कृषि वस्तुको अन्तर्राष्ट्रिय व्यापार सधैं जोखिमपूर्ण बन्दै आएको छ । नेपालको पूर्वी नाकासँग जोडिएको भारतको पानीट्यांकी नाका र त्यसको नजिकै कतै पनि खाद्यवस्तु परीक्षण हुँदैन ।

परीक्षणका लागि कोलाकाताकै ल्याब पुर्याउनुपर्छ । ‘कोलकाताबाट रिपोर्ट आउन कम्तीमा सात दिन लाग्छ, त्यसबेलासम्ममा ताजा कृषि उत्पादन बिग्रिसकेको हुन्छ,’ महासंघ प्रदेश अध्यक्ष खड्काले भने, ‘यसले ज्यादै समस्या भएको छ । यो बाध्यता हटाउने पहल सरकारले गर्नुपर्छ ।’ नेपाली पक्षले लामो समयदेखि नाकामै ल्याब टेस्ट गर्ने व्यवस्था गरिदिन आग्रह गर्दै आएको छ । तर, अहिलेसम्म त्यस्तो व्यवस्था भएको छैन । अहिले पनि परीक्षणका लागि कोलकाता नै पु¥याउनुपर्छ । यसले जोखिम बढाएको छ ।



 

प्रकाशित: २१ असार २०७५ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App