२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

‘टुटा एब्सोलुटा’ नियन्त्रणका उपाय सिकाइँदै

प्लान्ट हेल्थ र्यालीअन्तर्गत काभ्रे, नालामा प्लान्ट डाक्टर र किसान ।तस्बिर ; नागरिक

बनेपा - दुई वर्षअघि नेपालमा देखापरेको घातक कीरा ‘टुटा एब्सोलुटा’ केही समयका लागि सुस्ताए जस्तो देखिए पनि यसले गोलभेंडामा क्षति पुर्याउन छाडेको छैन।

यही तथ्यलाई मध्यनजर गर्दै प्लान्ट डाक्टरहरु किसानमाझ पुगेर ‘टुटा एब्सोलुटा’ नियन्त्रणका उपाय सिकाउन थालेका छन् । कृषि विभाग, बाली संरक्षण निर्देशनालय र क्याबी (सेन्टर फर एग्रिकल्चर बायोसाइन्स इन्टरनेसनल–क्याबी) का प्लान्ट डाक्टरहरुले मोबाइल भ्यानमै गोलभेंडा खेती भइरहेका क्षेत्रमा पुगेर किसानलाई सिकाइरहेका छन् ।

‘निर्देशनालयले सन् २०११ देखि नै बेलायतमा मुख्य कार्यालय रहेको कृषि–बायोलोजीसम्बन्धी अध्ययन गर्ने संस्था क्याबीसँगको सहकार्यमा ई–प्लान्ट क्लिनिक सञ्चालनका लागि बाली संरक्षण अधिकृतलाई प्लान्ट डाक्टरको तालिम र नियमित प्लान्ट क्लिनिक सञ्चालन गर्दै आएको छ,’ बनेपा, नालामा भेटिएका कार्यक्रम निर्देशक अच्युतप्रसाद ढकालले भने, ‘क्लिनिकमा धेरै खाले बाली र रोग कीरामा काम हुन्थ्यो । यसपटक एउटै मात्रै बाली गोलभेंडा र त्यसको घातक कीरा टुटा एब्सोलुटाबारे स्थलगत रुपमै जानकारीमूलक सामग्री वितरण र विज्ञसँग किसानको अन्तक्र्रिया गरेका हौं,’ उनले थपे।

गोलभेंडामा टुटा एब्सोलुटाबाट आक्रान्त भएका किसानले आलोपालो गर्दै विषादी प्रयोग गर्दा कीरा नियन्त्रण र खेती व्यवस्थापन गर्न सजिलो भएको अनुभव सुनाएका थिए । ‘सुरु सुरुमा कीरा नै चिन्न सकिएन । गाउँमै सञ्चालित प्लान्ट क्लिनिकमा पाएको ज्ञानले प्रत्येक लटमा खेती गर्दा कीराको जीवनचक्रलाई हेर्दै फरक–फरक तर सुरक्षित विषादी प्रयोग गर्न थालेका छौं । यस तरिकाले कीरा नियन्त्रण हुँदा गोलभेंडा क्षति हुन रोकिएको छ,’ नालाका किसान यादवलाल श्रेष्ठले भने । उनले तीन रोपनीमा गोलभेंडा खेती गर्दै आएका छन्।

प्लान्ट हेल्थ ¥यालीमा वरिष्ठ बाली संरक्षण अधिकृत एवं प्लान्ट डाक्टरहरु रामकृष्ण सुवेदी, मानबहादुर क्षेत्री, सहश्रम चौधरी, देबराज अधिकारी, शालिकराम अधिकारी, पूर्णिमा क्षेत्रीका साथै क्याबीकी कृतिका खन्नाले किसानसँग कीरा व्यवस्थापनमा देखिएका समस्याबारे अन्तक्र्रिया गरिरहेका छन्।

‘परीक्षणका रुपमा पहिलोपटक आयोजित प्लान्ट हेल्थ र्यालीमा किसानको उल्लेख्य सहभागिता पायौं । यसबाट आगामी दिनमा बालीका अन्य रोग कीराबारे यस्तै कार्यक्रम गर्नलाई अनुभव मिलेको छ,’ क्याबी दक्षिण एसियाका कन्ट्री कोअर्डिनेटर डा. विनोद पण्डितले भने । गत आइतबार दधिकोटमा ४६ जना, ब्रह्मायणीमा २५ जना, नालामा ४२ जना, टौखालमा १८ जना र खोपासीमा ३५ जना व्यावसायिक गोलभेंडा खेती गर्दै आएका किसानले सहभागिता जनाएका थिए।

सो अवसरमा टुटा कीरा फैलनमा खेतीमा मात्रै व्यवस्थापन गरेर नपुग्ने र यसका लागि गोलभेंडा सेवन गर्ने उपभोक्तालाई समेत जागरुक बनाउनुपर्ने सुझाव दिइएको थियो । ‘गोलभेंडाको फलभित्र कीरा रहेछ भनेर जथाभावी फ्याँकिदियो भने त्यो कीराले माटोभित्र जीवनचक्र पूरा गरेर फैलने रहेछ,’ कुशादेवीका आइपिएम सहजकर्ता रितकुमार सापकोटाले भने।

हुन पनि दक्षिण अमेरिकामा सन् १९६० मा देखापरेको यो कीरा सन् २०१४ मा भारतको महाराष्ट्र र कर्नाटक राज्यको विभिन्न क्षेत्रमा प्रकोपकै रुपमा फैलिएको थियो । त्यसको दुई वर्षपछि नेपालमा देखापरेको प्लान्ट डाक्टरहरुको भनाइ छ । ‘हालसम्म प्रकाशित जर्नल तथा घटना अध्ययनले गोलभेंडाको फलकै माध्यमबाट टुटा एब्सोलुटा दक्षिण अमेरिकादेखि दक्षिण एसियाका भारत र नेपालसम्म आइपुगेको भन्न सकिन्छ,’ प्लान्ट डाक्टर शालिकराम अधिकारीले भने ।

२०७३ जेठ ३ गते नेपालको गोलभेंडामा पहिलोपटक काठमाडौं, भक्तपुुर, ललितपुर, काभ्रेपलाञ्चोक र धादिङ जिल्लामा घातक कीरा टुटा एब्सोलुटाको आक्रमण सुरु भएयता मुलुकका आधाभन्दा बढी जिल्लामा फैलिएपछि सर्वत्र चासो र चिन्ता व्यक्त गर्न थालिएको छ । ‘हिमालीदेखि तराईका २७ वटा जिल्लामा व्यावसायिक बन्दै गएको गोलभेंडा खेतीमाथि टुटाको आक्रमण हुन थालेको पाइएको छ । यही क्रम रहेको खण्डमा यी जिल्लाका किसानले करोडौं नोक्सानी व्यहोर्नु पर्ने हुन्छ,’ वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले भने।

गोलभेंडाको बेर्ना सारेदेखि नै टुटाले पात, डाँठ, मुनामा क्षति पुर्याउने र फल लाग्नासाथ फलभित्र छेडेर नोक्सानी गर्दै आएको उनको भनाइ छ । ‘हामीले किसानलाई बाहिरबाट गोलभेंडाको बेर्ना नल्याउन, गोलभेंडाको क्रेट आदान–प्रदान नगर्न अनुरोध गर्दै आएका छौं । उपभोक्तालाई समेत बाहिरको गोलभेंडा नखाई गाउँकै खान सल्लाह दिइरहेका छौं,’ सुवेदीले थपे ।

बाली संरक्षण निर्देशनालयले कीरा रोकथामका लागि विभिन्न उपायको सिफारिस गरेको छ । यिनमा कीरा उत्पादक पुतलीलाई पासोमा पार्ने (फेरोमेन ट्र्याप) र सुरक्षित विषादीको प्रयोग रहेको छ । केमिकल विषादीमा स्पिनोस्याड, क्लोरानिट्रिपोल, नोभालुरोन, इन्डोक्साकार्ब, अबामेक्टिन, इमामेक्टिन बेन्जोएट र जैविक विषादीमा नीममा आधारित विषादी प्रयोग गर्न सुझाएको छ । यस्तै, विषादी छर्केपछि पर्खनुपर्ने अवधिलाई पालना गर्न पनि किसानलाई अनुरोध गरेको छ।

यस्तै टुटाको आक्रमण रोक्न निर्देशनालय मातहतका बाली संरक्षण अधिकृत÷प्लान्ट डाक्टरले आफू कार्यरत जिल्लामा गैरसरकारी संस्था, कृषक समूह र किसानकै सहभागितामा कार्यमूलक अनुसन्धान गर्दै आएका छन् । महादेवस्थानको तीनचौतारा जैविक कृषक समूहले फेरोमेन ट्र्याप, झोल मल र जैविक विषादीले किरा नियन्त्रणमा सफलता हासिल गरेको जनाएको छ ।

यस्तै सिप्रेडको सहयोगमा जलवायु अनुकूलन खेती गर्दै आएका रबिओपीका किसानहरुले गोलभेंडाको बिरुवालाई दुई प्रतिशत क्लोरानिट्रिपोलको झोलमा १५ मिनेट जरा डुबाएर रोपेर त्यसपछि १५–१५ दिनको फरकमा माटोमै ५० देखि एक सय मिलीसम्मको यही झोल प्रत्येक बिरुवामा हाल्दा कीरालाई नियन्त्रणमा लिन सकेको बताएका छन् ।
‘अहिले कीरा नियन्त्रणमा प्रयोग भइरहेका जैविक र केमिकल विषादीहरु धेरै महँगो भएकाले किसानलाई भार थपिँदो छ । यसको विकल्पका लागि नार्कलगायतका निकायले थप अनुसन्धान गर्नु पर्छ,’ जिल्ला कृषि विकास कार्यालय काभ्रेका वरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डितले भने ।

यो कीरालाई आश्रयदाता बालीमध्येका आलु, भन्टा, सुर्ती, सिमी आदिसँग गोलभेंडाको बाली चक्र नअपनाउन किसानलाई उनले आग्रह गरेका छन् । ‘बत्तीको पासो (लाइट ट्र्याप) राखेर पुतली संकलन गर्ने वा प्रतिरोपनी एउटाका दरले टिएलएम ल्युर फेरोमन ओटाटी ट्र्याप वा स्टिकी ट्र्यापको प्रयोग गर्न सकिन्छ,’ पण्डितले भने।

मुलुकमा सरकारी तथा गैरसरकारीस्तरबाट यो कीरा नियन्त्रणका लागि विभिन्न काम हुँदै आएका छन् । पोहोर कात्तिकमा धुलिखेलमा आयोजित राष्ट्रिय कार्यशालाले राष्ट्रियस्तरमा टुटा एब्सोलुटा कीरा व्यवस्थापन रणनीति तयार गर्न बाली संरक्षण निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि विभाग, तरकारी विकास निर्देशनालय, कृषि विश्वविद्यालय र गैह्रसरकारी संस्थाको प्रतिनिधि सम्मिलित एक कार्यदल गठन गरेको थियो ।

 

प्रकाशित: १८ जेष्ठ २०७५ ०२:५५ शुक्रबार

टुटा एब्सोलुटा नियन्त्रणका उपाय सिकाइँदै