१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

भैरहवा सेजमा उद्योगको ओइरो

काठमाडौं - मुलुकमा औद्योगिक वातावरण बन्दै गएपछि मुलुककै पहिलो विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापना गर्ने व्यवसायीको आकर्षण बढेको छ । विद्युतको उपलब्धता, सेवा सुविधा र मुलुकमा राजनीतिक स्थिरताको संकेत देखिएपछि नयाँ उद्योग स्थापना बढ्न थालेको हो।

यसअघि झन्डै आधामात्र प्लटका लागि आवेदन परेको भैरहवा सेजमा पछिल्लोपटक मागेको आवेदनमा आवश्यकताभन्दा पनि बढीले उद्योग स्थापनाको लागि जग्गा माग गरेका छन् । ‘पछिल्लोपटक मागेको आवेदनमा उपलब्ध प्लटभन्दा धेरैको लागि आवेदन परेको छ,’ विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले भने, ‘प्रतिस्पर्धाका आधारमा धेरै निर्यात गर्न सक्ने सफल उद्योगलाई जग्गा उपलब्ध गराइने छ ।’
भैरहवा सेजमा रहेकामध्ये ६९ वटा प्लट यसअघि नै विभिन्न उद्योगले लिइसकेका छन् । बाँकी रहेका ३१ प्लटको लागि प्राधिकरणले आवदेन माग गरेको थियो । ३१ प्लटको लागि ३८ वटा आवेदन परेको भट्टले जानकारी गराए । गत हप्ता बुधबारसम्मको एक महिनाको अवधिमा परेका उक्त आवेदनलाई १५ दिनभित्रै ‘सर्ट लिस्ट’ गरेर सम्भौता गरिने प्राधिकरणले जनाएको छ ।

उपलब्ध प्लटभन्दा धेरै आवेदन आएकाले त्यसबाट राम्रो कम्पनी छानिने छन् । ‘आएका आवेदनबाट राम्रो कम्पनी र धेरै निर्यात गर्न सक्ने उद्योगलाई प्लट उपलब्ध गराइनेछ,’ भट्टले भने, ‘सबै उद्योगलाई जग्गा उपलब्ध गराउने अवस्था छैन ।’ आवेदन दिनेमा जुत्ता, चप्पल, स्टिल, पाइप उद्योग बढी छन् ।पछिल्लो समय सेजमा आकर्षण बढ्नुको कारण विद्युत्को उपलब्धता, सरकारले दिने सेवा सुविधा, सेज नियमावली, जग्गा पाउन समस्या र राजनीतिक स्थिरता लगायतलाई मानिएको छ । सबै राजनीतिक दलले अबको बाटो आर्थिक समृद्धि भनेर प्रतिबद्धता जनाएकाले पनि विश्वासको वातावरण सिर्जना भएको भट्टले बताए ।

भैरहवा सेजमा पहिलोपटक आवेदन माग्दा नियमावली तथा सेज ऐनको अभाव थियो । हाल सेज ऐन आएर नियमावली समेत बनिसकेको छ । कानुनी प्रक्रिया सरल र व्यवसायीले सुरक्षित महसुस गरेकाले उद्योग स्थापना गर्न इच्छा देखाएका हुन् । ‘पहिले नियमावलीको अभाव थियो । व्यवसायीलाई कस्तो नियमावली आउने हो भन्ने थियो,’ भट्टले भने, ‘नियमावली आएसँगै उद्योगीहरूले धेरै इच्छा देखाइरहेका छन्।’

सेजमा उद्योगीहरू आकर्षित हुनुमा अर्को महत्वपूर्ण पक्ष विद्युत्को उपलब्धता हो । सेज उद्घाटन भएर सञ्चालनको तयारी भइरहे भए पनि अहिलेसम्म विद्युत् कहिले आउने हो भन्ने मै शंका थियो । विद्युत् प्राधिकरणले डेडिकेटेड फिडरबाट बिजुली ल्याउन ढिला गर्ने भएपछि आवश्यक परे सिधै लाइन ल्याउन सक्ने भएको छ । ‘अब उद्योगले आवश्यकता अनुसार तत्कालै बिजुली पाउने छन्,’ भट्टले भने, ‘डेडिकेटेड फिडरबाट विद्युत् नआउँदासम्म सिधै ल्याउन सक्ने व्यवस्था मिलाएका छौं ।’ भैरहवा सेजमा विद्युत् प्राधिकरणले १५ मेगावाट विद्युत् उपलब्ध गराउने सहमति भएको थियो।

सेजभित्र स्थापना हुने उद्योगलाई दिइने सेवा, सुविधाले पनि उद्योगीलाई आकर्षित गरेको छ । सेजभित्र स्थापना हुने उद्योगले उनीहरूलाई चाहिने सम्पूर्ण सुविधा त्यहाँभित्रै पाउने छन् । उद्योग दर्ता, कर तिर्ने सुविधा, बैंकिङ लगायतका आवश्यक सेवा, सुविधा एकद्वार प्राणालीबाट उपलब्ध हुनेछ । त्यसैगरी, हाल मुलुकमा उद्योग स्थापना गर्न जग्गा पाउन गाह्रो र महँगो पनि छ । सेजभित्र उपलब्ध हुने जग्गा अन्य ठाउँमा भन्दा सस्तो पर्छ । प्राधिकरणका अनुसार प्रतिवर्गमिटर प्रतिमहिना २० रुपैयाँ भाडा लाग्छ।

यसअघि १३ वटा उद्योगसँग प्राधिकरणले सम्झौता गरेको छ । ती उद्योगले अर्को हप्तादेखि पूर्वाधार निर्माण गर्ने प्राधिकरणले जनाएको छ । ती उद्योगले भैरहवा सेजमा तीन अर्ब ५० करोड रुपैयाँ लगानी गर्दैछन् । अनुमति पाउने उद्योगहरूमा जगदम्बा सिन्थेटिक, सुगम नानो हर्बल, किरण सुज लगायत उद्योग छन् ।सेजभित्र स्थापना भएका उद्योगले आफ्नो उत्पादनको ७५ प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित: ३ जेष्ठ २०७५ ०२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App