१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

‘बजेट समानुपातिक तवरमा विनियोजन गरियोस्’

काठमाडौं- संघीय संसद्मा प्रि–बजेट छलफल भइरहेको बेला बाँके र बर्दियाका स्थानीय, प्रदेश र संघका जनप्रतिनिधिले समानुपातिक तवरले विकास बाँडफाँड गर्न माग गरेका छन्।

पहुँचवाला राजीतिक दलका नेताले प्रतिनिधित्व गर्ने स्थानमा बढी बजेट विनियोजन हुनसक्ने सम्भावना देखिएको बेला उनीहरूले बजेट विनियोजनलाई समानुपातिक बनाउन खबरदारी गरेका हुन् । बिहीबार काठमाडौंमा जम्मा भएर बाँके र बर्दियाका तीनै तहका जनप्रतिनिधिले प्रदेशको राजधानी चयन गर्नेबेला गरिएको बलमिच्चाई जस्तै बजेट विनियोजनमा गरिए मान्य नहुने समेत चेतावनी दिए ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमसेर राणाले जसरी ५ नम्बर प्रदेशको राजधानी पूरै प्रदेशका लागि अपायक पर्ने ठाउँमा तोकिएको छ अबको बजेट विनियोजनमा त्यस्तै शैली अपनाउने हो भने बाँके र बर्दिया अर्को प्रदेशमा किन नमिसिने भन्ने प्रश्न उठ्न सक्ने बताए ।

पूर्व सिँचाइ मन्त्री तथा बर्दियाबाट निर्वाचित सांसद सञ्जय गौतमले पश्चिमका दुई जिल्लामा पर्यटनको विकास हुनसक्ने सम्भावना भएकाले नेपालगन्जमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट विनियोजन हुनुपर्ने माग गरे । साथै आउँदो बजेटमा नै बर्दियामा कृषिमा आधारित ठूलो परियोजना सुरु गरिनु पर्ने बताए ।

बाँकेबाट प्रतिनिधित्व गर्ने सांसद महेश्वरजंग गहतराजले बजेट विनियोजन गर्दा पछि परेका क्षेत्रलाई उठाउन पहल हुनुपर्ने बताए । अर्का सांसद नन्दलाल रोकायले भेरी अञ्चल अस्पताललाई स्तरोन्नति गर्ने भनिएको वर्षौं भइसक्दासमेत केही उपलब्धी हुन नसकेको बेला यसपटकको बजेटमा भेरी अञ्चल अस्पतालको स्तरोन्नतिका लागि बजेट विनियोजन हुनुपर्ने माग गरे ।

पूर्व मन्त्री समेत रहेका सांसद मोहम्मद इस्तियाक राईले बजेट बनाउँदा सबैलाई मान्य हुने गरी विनियोजन गर्न सुझाव दिए । सोही कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले वर्षौंदेखि ठूला आयोजना सञ्चालन हुन नसकेको बेला नेपालगन्जमा अन्तर्राष्ट्रिय विमानस्थल र ठूला कार्यक्रम गर्नका लागि सभागृह निर्माण गर्नुपर्नेमा जोड दिइन् । उद्योगी पशुपति मुरारकाले भौगोलिक अवस्थाले नेपालगन्ज मध्य र सुदूरपश्चिमको प्रमुख केन्द्र भए पनि विकासको दृष्टिकोणले पछि परेको उल्लेख गर्दै नेपालगन्जलाई लोडसेडिङमुक्त बनाउन आवश्यक रहेको बताए।

बाँके र बर्र्दियाका तीन तहका जनप्रतिनिधि सहभागी रहेको उक्त छलफलले आउँदो बजेटमा नेपालगन्जमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, बर्दियामा कृषिका परियोजना सुरु, निर्माणाधीन सिक्टा सिँचाइ, भेरी बबई डाइभर्सन र बबई सिँचाइ आयोजना तोकिएको समयका सक्न बजेट विनियोजन गर्न र नौबस्तामा यसघअघि नै छुट्ट्याइएको तीन सय ९० विघा जमिनमा औद्योगिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन गर्नुपर्ने माग गरेका छन् ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले निर्माणाधीन क्यान्सर अस्पतालले मध्य र सुदूरपश्चिमका २४ जिल्लाका बासिन्दालाई सेवा पु¥याउने भए पनि सरकारले बजेट दिन नसकेको गुनासो गरे । सांसद पूर्णा सुवेदीले बाँके र बर्दिया नयाँ मुलुक भइकन पनि विकास निर्माणले तीव्रता पाउन नसक्दा पुराना सहरमा सीमित हुने खतरा बढेको बताइन् । ५ नम्बर प्रदेशकी सांसद कृष्णा केसीले सरकारले साना आयोजनाका बजेट विनियोजन गर्नुको साटो ठूला आयोजनामा लगानी गर्नुपर्ने सुझाव दिइन् । एमाले नेता लक्ष्मण ज्ञवालीले बाँके र बर्दियाको भौगोलिक स्थिति प्रदेश नम्बर ५ भन्दा ६ नम्बर प्रदेशसँग जोडिने बताए । अब पनि पछि पार्ने खेल भए मान्य नहुने उनको भनाइ छ ।

 

प्रकाशित: २८ वैशाख २०७५ ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App