९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

जुम्लामा व्यावसायिक टर्कीपालन

जुम्लामा व्यावसायिक रूपमा गरिएको टर्कीपालन। तस्बिर : डिबी बुढा/नागरिक

जुम्ला – चन्दननाथ नगरपालिका–४, मालाभीडका नारायण चौलागाईलाई अहिले एकछिन पनि फुर्सद छैन। दुई महिनाअघिसम्म निकै फुर्सदिला रहेका उनी व्यावसायिक टर्कीपालनमा लागेपछि व्यस्त बनेका हुन् । बिहान बेलुकीको समय टर्की र लौकाट जातको अस्ट्रेलियन जातको चराको रेखदेखमै बित्ने गरेको छ।

कर्णालीमै पहिलो टर्की फर्म दर्ता गराएर विदेशी जातको चरा घरमै पाल्न थालेका हुन्। ‘टर्की मासु र अन्डाको लागि उपयुक्त चरा मानिँदै आएको छ,’ उनले भने, ‘यहाँको हावापानीमा हुर्काउन सके जुम्लामा मासुको माग पूरा हुने अपेक्षा गरेका छौं।’

उनले कर्णालीमै पहिलो पटक ‘टर्की’ र ‘लौकाट’ अस्ट्रेलियन चरा पालन सुरु गरेका छन्। यो मासुको लागि पालिन्छ। प्रतिचरा वयस्क हुँदा पोथी ८ र भालेको १२ केजीसम्म बिक्री हुन्छ । चल्ला जन्मेको ६ महिनापछि मासु खान योग्य हुन्छ।

लोकमणी बहुपंक्षी पालन टर्की फर्म स्थापना गरेर चैत ५ गते चितवनको माणिक टर्की फर्मबाट सय वटा चल्ला जुम्ला पुर्याइएको थियो । प्रतिचल्ला ८ सय ५० रूपैयाँमा खरिद गरिएको हो। ‘लौकाट नामक चरा फागुन २५ गते सुर्खेतबाट ल्याएको थिएँ,’ उनले भने, ‘प्रतिलौकाट चराको एक हजार तीन सय ५० रूपैयाँ मूल्य हाले ।’ यो चरालाई व्यावसायिक रूपमा पालन गर्न सके पर्यटन आकर्षणको केन्द्र जुम्लालाई बनाउने सकिने अवस्था छ। ‘दानापानी, उपचार लगायतको प्रबन्ध मिलाउन सके रोजगारीका लागि विदेसिनु पर्दैन। विदेशकै चरा पालेर स्वदेशमा रोजगारीको वातावरण सिर्जना गर्न सकिन्छ। यसका लागि इच्छाशक्ति र लगानीको खाँचो छ,’ उनले भने।

कृषि अनुसन्धान केन्द्र नार्कका अनुसार यी दुवै जातका चरा चिसो र गर्मी दुवै हावापानीमा पाल्न सकिन्छ। ‘१५ वर्षअघि तत्कालीन कार्तिकस्वामी गाविसका दत्तबहादुर शाहीले टर्की पालन गरेको सुनेको थिएँ,’ उनले भने, ‘उनले गरेको परीक्षणका आधारमा व्यावसायिक रूपमा जुम्लामा फेरि टर्की पालन सुरु गरेको छु। यो चराले स्थानीय कुखुराले खाने सबै प्रकारका दाना खान्छन् । घाँसमा कक्सफुट, लुसुन, जौका पातलगायत तरकारीजन्य सागपात सबै दानाको रूपमा प्रयोग हुँदै आएको छ। यहाँको हावापानीमा यो व्यवसाय गर्न सकिनेमा उनी ढुक्क छन्। ‘यो चरा जुम्लामा पाल्न निकै सजिलो छ, यहाँको बजारमा प्रतिकेजी ९ सय ५० रूपैयाँ बिक्री गर्ने तयारी भइरहेको छ।

क्यानेडियन नागरिक एन्ड्रो जुम्लामा पिएचडी गर्न आएका थिए, उनले टर्की पालनबारे निकै सुनाउँथें, मौरीको प्रशिक्षण दिन लामो समय जुम्ला बसेका उनले मलाई टर्की व्यवसायमा आकर्षित बनाइसकेका थिए,’ उनले भने, ‘पहिलेदेखि टर्की व्यवसाय अँगाल्ने सोच भए पनि अहिले बल्ल सपना साकार हुँदैछ । ‘टर्की पाल्नुस्, म भिसा थपेर भए पनि व्यवसायमा सघाउँछु,’ चौलागाईले क्यानेडियन नागरिकले भनेको सम्झिए। तर, उनको भिसा थपिएन। टर्की चराको मासु रोस्ट बनाउन उपयुक्त हुन्छ।

क्यानेडियन नागरिकले उनलाई टर्की व्यवसाय गर्न सुझाएपछि उनले इन्टरनेटबाट यसबारे बुझ्न थाले। ‘युट्युबमा टर्की सम्बन्धी केही भिडियो हेरें, त्यो भिडियोबाट मैले हिउँ पर्ने र सुख्खा क्षेत्रमा पनि टर्की व्यवसाय गर्न सकिन्छ भन्ने थाहा पाएँ। त्यसपछि जुम्लामा टर्की पालन गर्ने निधो गरेँ,’ उनले थपे। उनी प्राविधिक कार्यालय जुम्लाका कर्मचारी हुन्। अवकाशपछिको जीवन टर्कीपालनमा खर्चने उनको योजना छ।

‘यहाँ ल्याउँदा दुई सय ग्रामका थिए, अहिले एक केजीसम्म पुगिसकेका छन्,’ उनले भने। यो चरामा रोग व्याधिको संक्रमण कम देखिन्छ । अहिले उनको टर्की फर्म हेर्नकै लागि दैनिक चार/पाँच जना आउँछन्। अवलोकनकर्ताले सुझाव सल्लाह दिने र चल्ला अर्डर गर्ने गरेको उनी बताउँछन्।

फर्म सञ्चालनक रिता उपाध्याय चौलागाईँले चराको नाम सुनेर रहर लागेपछि ल्याएर अनुसन्धान गर्न थालेको बताइन्। यो व्यवसायलाई फस्टाउन सके आर्थिक समृद्धिमा टेवा पुग्ने छ । टर्की पालनलाई व्यावसायिक रूपमा अघि बढाउन सकेमा राम्रै उपलब्धि हासिल हुने देखिएको छ। टर्की फर्ममा जिल्लास्थित सरकारी अधिकारीको ध्यान केन्द्रित हुन थालेको छ। स्थानीयको चासो टर्की पालनमै देखिएको छ । चौलागाईले भने, ‘टर्की पालनबारे चासो राख्ने र पाल्न उत्सुक देखिने किसान घरमै पुगेर परामर्श लिन्छन्।’

अहिले ब्रोइलर कुखुराका कारण लोकल कुखुरा लोप हुँदै जान थालेका छन्। स्थानीय देवीकृष्ण अधिकारी पहिलो पटक जुम्लामा टर्की व्यवसाय थालेको भन्दै मासुजन्य पदार्थको मागलाई धान्ने विश्वास व्यक्त गर्छन्। उनले भने, ‘यो व्यवसाय गर्न निकै चुनौती थपिएको भए पनि फर्मभित्र पस्दा सबै प्रकारका दुःख बिर्सने गरेको छ। कुखुरा पालन जस्तै यो चरा व्यवसायले जुम्लाको आर्थिक समृद्धिमा विकास हुने उनको भनाई छ। उनले यो व्यवसाय सफल भएमा घरघरमा टर्की जातको चरा पालन गर्न सकिने बताए। मालाभीड गाउँको बीचैमा टर्की पालन गरिएकोले गाउँले पनि आकर्षित भइसकेका छन्।

प्रकाशित: २३ वैशाख २०७५ ०३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App