१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

छलफलबिनै पानीजहाज सञ्चालन सहमति

काठमाडौं – मुलुकभित्र कुनै पनि छलफल र तयारीबिनै नेपाल र भारतबीच पानीजहाज सञ्चालन गर्ने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा भारतसँग पानीजहाज सञ्चालन गर्ने सहमति गरे पनि सम्बन्धित मन्त्रालयसँग छलफल भएको छैन।  

भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि काठमाडौंमा रेल, नेपाल र भारतबीच पानीजहाज चलाउने विषयमा सहमति भएको थियो ।यस विषयमा सम्बन्धित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भने छलफलै भएको थिएन । मन्त्रालयका एकजना उच्च अधिकारीका अनुसार भारतसँग सहमति भएको पानीजहाज सञ्चालन जस्तो ठूलो लगानीको विषयमा मन्त्रालयमा कुनै पनि छलफल भएको छैन।

‘पानीजहाजको विषय छलफलमा थिएन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘प्रधानमन्त्री कार्यालयमा छलफल भएको हुन सक्छ ।’उच्च व्यापार घाटा, बेरोजगारी र लगानीको समस्या जस्ता जल्दाबल्दा विषय उठिरहेको बेला पानीजहाज जस्तो ठूलो लगानी चाहिने विषय तयारीबिनै आएको अधिकारीहरूको भनाइ छ ।नेपालमा पानीजहाज भित्र्याउने बाटो कोसी, गण्डकी र महाकाली जस्ता ठूला नदी हुन्।

जानकारका अनुसार यसमध्ये पनि सबैभन्दा उपयुक्त कोसी हो । तर, यी नदीमा ठुल्ठूला बाँध निर्माण भइसकेका छन् । पानीजहाज यी बाँधसम्म मात्र ल्याउने हो कि मुलुकको भित्री भागसम्मै भन्नेमा अध्ययन वा छलफल भएको छैन।नेपाल सरकारका पूर्वसचिव सितलबाबु रेग्मीका अनुसार नेपाल–भारत गण्डक बाँध सम्भौताका बेला पानीजहाज सञ्चालन गर्न सकिने गरी नेभिगेसन च्यानल निर्माण गर्ने सहमति भएको थियो।

गण्डक बाँधमा ८–१० मिटर चौडाइको नेभिगेसन च्यानल बनेको छ । ‘पानी जहाज सञ्चालनको लागि यो सानो छ,’ रेग्मीले भने । यसमा अर्को समस्या भनेको बाँधबाट सिँचाइको लागि पानी लगेपछि नदी तल पानीजहाज चलाउन आवश्यक पानी हुँदैन ।
‘पानीजहाजलाई बाँधसम्म मात्र ल्याउने हो भने त ठिकै छ,’ यातायात मन्त्रालयका एक अधिकारीले भने, ‘त्यसयता (नेपालभित्रै) पनि ल्याउने हो भने उच्च प्रविधिको ‘सिप लक’ निर्माण गर्नुपर्छ र यसको लागि निकै ठूलो लगानी लाग्छ।’

ठूला बाँध निर्माण भएका नदीमा पानीजहाज सञ्चालन गर्न सिप लक अर्थात बाँधमाथि अतिरिक्त पूर्वाधार बनाउनुपर्छ । जानकारका अनुसार विदेशी मुलुकले बाँध निर्माणकै क्रममा यस्तो किसिमको प्रविधि निर्माण गर्छन् । नेपालमा पहिले नै बाँध निर्माण भइसकेकाले ती बाँधबाट पानीजहाज भिœयाउने प्रविधियुक्त थप संरचना बनाउनुपर्छ । भ्रमणअघि यी प्राविधिक समस्यामा छलफलै नगरी एकाएक पानीजहाजको विषय आएको छ।

पानीजहाज सञ्चालनको विषय प्रारम्भिक मात्र भएको र यसको थप अध्ययन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । ‘पानीजहाज सञ्चालन प्रारम्भिक विषय हो,’ मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले नागरिकसँग भने, ‘अब यससम्बन्धमा थप छलफल र अध्ययन हुन्छ।’
 

प्रकाशित: २७ चैत्र २०७४ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App