६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

तीन महिनामा एक लाख ७० हजार नेपाली श्रमिक बिदेसिए

देशमै सुरक्षित र भरपर्दो रोजगारी नपाउँदा दैनिक हजारौं नेपाली नागरिक बाहिरिन बाध्य भएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को तीन महिना (साउन, भदौ र असोज) मा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या एक लाख ७० हजार पाँच सय ९३ जना पुगेको छ। यो तीन महिनामा वैदेशिक रोजगारीमा जाने युवाको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ।

नेपालीले रोजगारीका लागि रोज्ने देशहरूमा खाडी राष्ट्रमध्ये सबैभन्दा पहिलो युएई नै हो। रोजगारीका लागि साउनमा विदेसिएका ५९ हजार पाँच सय ७५ जना मध्ये युएई जानेको संख्या १७ हजार पाँच सय ४१ जना छ।

त्यसैगरी भदौमा विदेसिएका ५७ हजार चार सय ९३ जना युवामध्ये १८ हजार ६ सय पाँच जना र असोजमा ५३ हजार पाँच सय २५ जनामध्ये १७ हजार सात सय २४ युवाहरू श्रम स्वीकृति लिएर युएई पुगेका छन्। यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या हो।

गत आर्थिक वर्षबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ। यसले चालु आर्थिक वर्षको तीन महिनामा समेत उच्च देखिनुले आगामी वर्ष पनि रेमिट्यान्स वृद्धि हुने देखिएको छ। विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०÷८१ साउनदेखि असारसम्ममा मात्रै एक लाख ९३ हजार चार सय ३८ युवा श्रमका लागि युएई पुगेका थिए। जसमा एक लाख ६६ हजार चार जना पुरूष र २७ हजार चार सय ३४ जना महिला श्रम स्वीकृति लिएर विदेसिएका छन्।

यस तथ्यांकमा श्रम स्वीकृति नलिई युएई पुगेका युवाको भने गणना छैन। दलालमार्फत भिजिट भिसामा जाने महिलाको रोजाइ पनि युएई नै हुने गरेको छ। घरेलु कामदारका रूपमा पनि काम पाउने भएपछि उनीहरू त्यसरी जाने गरेका हुन्। विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले रोजगारीको खोजीमा विदेश जाने नेपालीको संख्यामा कमी नआएको बताए। रोजगारीका प्रमुख गन्तव्य मुलुक खाडी भएसँगै यो वर्ष पनि विदेसिनेको संख्या गत वर्षकै नजिक पुग्ने देखिएको बताउँछन्।

उनका अनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म युएई पहिलो श्रम गन्तव्य बनेको छ। असोजमा मात्रै युएईका लागि १७ हजार सात सय २४ जना, साउदी अरेबिया १० हजार चार सय ६८ जना, कतार नौ हजार सात सय ९८ जना, कुवेत तीन हजार आठ सय ७ जना र रोमानियाको लागि दुई हजार २०४ जना श्रम स्वीकृति लिएर विदेश गएको तथ्यांक विभागसँग छ।

‘नेपालीहरूको पहिलो रोजाइ युएई बनेको छ,’ सुवेदीले भने, ‘श्रमिकलाई मलेसिया जान बन्द भएर पनि हो युएई जानेको संख्या उच्च भएको। पछिल्लो वर्ष नेपाली श्रमिकको नयाँ गन्तव्य युरोप बनेको छ तर युरोपको प्रक्रिया चाल्दा असफल भएको खण्डमा खाडीलाई प्राथमिकता दिने हो। खाडीमध्येको पनि पहिलो रोजाइ भनेकै युएई हो ।’ खाडी राष्ट्रको तुलनामा सेवा सुविधा र श्रमिकमैत्री कानुन भएकाले पनि युरोप नेपालीहरूको आकर्षक गन्तव्य बनिरहेको विभागका सूचना अधिकारी सुवेदीले बताए।

‘भिजिट भिसामा गएर दुबईमा काम गर्नेको संख्या पनि उत्तिकै छ। भिजिट भिसामा युएई गई श्रम भिसा लिने र भारतको बाटो भएर वा अध्यागनसँग सेटिङ गरेर श्रम स्वीकृति नलिई युरोपेली देशहरू जानेहरूको संख्या पनि बढ्दो छ,’ उनले भने।

अहिले युएई, साउदी अरेबिया, कतार, कुवेत, ओमान, बहराइन, दक्षिण कोरिया नेपालीका प्रमुख श्रम गन्तव्य बनेका छन्। युरोपको विकसित देशमा छिर्ने बाटो खोजिरहेका युवाहरू क्रोएसिया, पोल्यान्ड, रोमानियाजस्ता देश पनि जान थालेका छन्। यसले नेपालीको श्रम गन्तव्य फेरिन सक्ने भए पनि विदेसिनै पर्ने आम मानिसको नियति भने नफेरिने संकेत गरेको छ।

‘बढ्दो सुविधा र विभिन्न कारणले नेपाली श्रमिकका लागि युएई पहिलो रोजाइ बनेको छ,’ उनले भने, ‘युएई एक समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मध्यपूर्वको व्यापार केन्द्र पनि हो। त्यसैले युएई सबैभन्दा धेरै नेपाली जाने गरेका छन्। दुबईमा उच्च जनसंख्या वृद्धिदरका लागि धेरै कारक छन्, तीमध्ये सबैभन्दा महŒवपूर्ण विश्वव्यापी दृष्टिकोण हो। जसका कारण धेरै विदेशी नागरिक यस क्षेत्रमा बसोबास गर्ने क्रम बढ्दै गएको पनि छ।’

देशभित्र पर्याप्त रोजगारीको अवसर नहुँदा ठूलो संख्यामा युवाहरू विदेसिएका छन्। महामारीका कारण देशमै केही स–साना व्यवसाय गरेर बसेका युवाहरू पनि विदेसिएका उनी बताउँछन्।

खाडी मुलुकमध्येको युएईको आकर्षणबारे सुवेदी भन्छन्, ‘एउटा अवधि काम गरेर स्वदेश फर्किएकाहरू पनि यहाँ अवसर नपाएकै कारण युएई नै फर्किरहेका छन्। मलेसिया बन्द भएपछि अन्य खाडी देश जानुभन्दा युएई जानु उपयुक्त ठान्ने गरेका छन्। धेरै नेपाली युवाका लागि विदेसिनु बाध्यता भएको छ।’

वैदेशिक रोजगारीमा युएईमा कारखाना, सरसफाइ, घरेलु काम, निर्माण क्षेत्र र सुरक्षा गार्ड आदिका लागि धेरै नेपाली विदेश जाने गरेको विभागका सूचना अधिकारी सुवेदीले बताए। ‘जहाँबाट कामदारको माग आउँछ, त्यहीं धेरै नेपाली जाने हुन् तर नेपाली कामदारहरू जाने गरेका अधिकांश गन्तव्य तलब÷सुविधा कम हुने खालका छन्,’ उनले भने।

विभागका सूचना अधिकारी सुवेदीका अनुसार युएई एसियाली र अफ्रिकी नागरिकहरूका लागि बस्न र काम गर्न सुरक्षित गन्तव्य हो। ‘युएईमा विदेशी कामदारमध्ये सबैभन्दा धेरै भारतीय छन्,’ उनले भने, ‘त्यसपछि पाकिस्तानी, बंगलादेशी, फिलिपिनो, इरानी, इजिप्सियन, नेपाली, श्रीलंकाली र चिनियाँ छन्। धार्मिक र सांस्कृतिक विविधताले युएईलाई सहअस्तित्वको देश भनेर चिनाएको छ। त्यही विविधताले उनीहरूलाई त्यहाँ पु¥याउने गरेको छ।’

उनका अनुसार राजनीतिक र आर्थिक स्थिरताका कारण तुलनात्मक रूपमा विश्वभरका लगानीकर्ताहरूले युएईमा व्यापार खोल्न सस्तो र दिगो ठान्ने गरेका छन्। साथै स्वतन्त्र राष्ट्र बनेदेखि युएईले लाखौं आप्रवासीलाई आश्रय दिएको छ। युएईले तेल र पूर्वाधार गतिविधि सञ्चालन गर्दा रोजगारी र लगानीका अवसरको खोजीमा रहेका नेपालीले युएईलाई प्रमुख गन्तव्य मानेका हुन्।

वैदेशिक रोजगार विज्ञ गणेश गुरुङका अनुसार पर्यटकीय हिसाबले पनि घुम्न जानेको चाप युएईमा बढ्दो छ। युएई खुला मुलुक हो। नेपालबाट युएई गएका प्रायः युवामा सन्तुष्टि पाउने गरेका छौं। नेपालीले चाहे अनुसारको काम युएईमा पाइन्छ। ‘नेपाली आप्रवासीले काम गर्न र बस्न रोज्ने पाँच प्रमुख गन्तव्य देशमध्ये युएई एक हो,’ उनले भने, ‘अहिले खाडी मुलुकहरूमध्ये युएई वैदेशिक रोजगारीको पहिलो गन्तव्यका रूपमा रहेको छ।’

नेपाली भन्नेबित्तिकै राम्रो काम गर्ने, लगनशील, इमानदार र उत्कृष्टता प्रदर्शन गर्ने भनेर हरेक देशमा चिनिने गरेका छन् तर युएईलाई पहिलो गन्तव्य मुलुक बनाउँदै त्यहाँको केही वर्षको बसाइपछि थप अवसरका लागि साथै बढ्दो आर्थिक लाभ र गतिलो गन्तव्य खोज्दै युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलियालगायतका देशमा रोजगार स्थानान्तरण तथा पलायन भइरहेको अवस्था पनि देखिन्छ।

सुरक्षा, ड्राइभिङ, सेल्स, आतिथ्य, निर्माण, सरसफाइ आदि क्षेत्रमा नेपाली कामदारको युएईमा ठूलो माग छ। नेपालले यो देशमा अर्धदक्ष र दक्ष जनशक्तिलाई तालिम दिएर पठाउने हो भने धेरै फाइदा लिन सकिने आप्रवासी विज्ञ गुरुङले बताए। वैदेशिक रोजगारीका लागि व्यवस्थित, सुरक्षित र मर्यादित गन्तव्य मुलुकलाई मध्यनजर गर्दै आफ्नो परिवारसहित नेपाली युवा युएई जाने गरेका छन्।

सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०६४–६५ मा दुई लाख चार हजार श्रमिक नयाँ श्रम स्वीकृति लिएर विदेसिएका थिए। यसरी तथ्यांक बढ्नुमा गत वर्ष २०८०÷८१ र चालु आर्थिकको वर्ष समेत जोडिएकाले संख्या बढेर अकासिएको छ।  वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा एक सय ११ र व्यक्तिगतरूपमा एक सय ७८ वटा देशलाई खुला गरिएको छ। २०८० फागुनसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि एक हजार पाँच सय ९९ वटा म्यानपावर कम्पनी दर्ता भएका छन्।

प्रकाशित: २२ कार्तिक २०८१ ०९:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App