१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

माथिल्लो काबेली जलविद्युत आयोजनाको काम २५ प्रतिशत सकियो

ताप्लेजुङको सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकामा पर्ने काबेली नदीमा निर्माणाधीन माथिल्लो काबेली जलविद्युत आयोजनाले एक चौथाइ काम सम्पन्न भएको जनाएको छ। २८ दशमलव १ मेगावाट क्षमताको जलविद्युत आयोजनाका व्यवस्थापक प्रकाश ढुङ्गानाले आयोजनामा २५ प्रतिशत भौतिक प्रगति भएको जनाएका छन्। 

गएको चैत अन्तिमबाट निर्माणको काम थालिएको हो। ‘प्राकृतिक विपद् सहितका कुनै समस्या नभए २०८२ साल साउन १ गते भित्रमा आयोजना निर्माणको कार्य पूरा गरी विद्युत् परीक्षण प्रसारण हुने गरी काम भइरहेको छ,’ ढुङ्गानाले भने। 

आयोजनाको हेड वर्क सिरिजङ्गा गाउँपालिकाको तेल्लोकमा र विद्युत् गृह सिनाममा हुनेछ। विद्युत् आयोजनाका लागि खोयाहाङ देखि सिनाम सम्म गरी ५ किलोमिटर दुरीको सुरुङ मार्ग हुने भएको छ। पिस इनर्जी कम्पनी प्रालि आयोजनाको मुख्य प्रवर्द्धक रहेको छ। पिस इनर्जी अमेरिकामा स्थापना भएको कम्पनी टेस्ला हाइड्रो युएसएको नेपाली सहायक कम्पनी हो। 

व्यवस्थापन इकाई सहित प्राविधिक जनशक्तितर्फ ८० जना र निर्माण क्षेत्रमा १ सय ३५ जना जनशक्ति परिचालन भई निर्माणको काम द्रुत गतिमा बढेको ढुङ्गानाले जानकारी दिए। सिरिजङ्गा गाउँपालिकाको सिनाम, आम्बेगुदिन र तेल्लोक तथा सिदिङ्जा गाउँपालिकाको लिम्बू दिन र मेहेले आयोजनाको मुख्य प्राविधिक क्षेत्र हुन्। 

आयोजनाका लागि कुल ५ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। कूल लागत अनुमानमध्ये ७५ प्रतिशत हिस्सा नेपाली बैङ्कहरूको ऋण लगानी रहने छ भने २५ प्रतिशत हिस्सा प्रवर्द्धकको स्वपुँजी रहने भएको छ। माछापुच्छ्रे बैंकको अगुवाइमा बैकहरूले ऋण लगानी गर्ने भएका छन्।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड९एचआइडिसिएल०,राष्ट्रिय वाणिज्य बैंक र लक्ष्मी सनराइज बैंक ऋण लगानीका साझेदार वित्तीय निकाय हुने प्रवर्द्धक कम्पनीले जनाएको छ।

आयोजनाले स्थानीय  प्रभावित तथा सर्वसाधारणका लागि आइपिओ समेत जारी गर्ने जनाएको छ। आयोजनामार्फत करिब साढे ३ करोड रुपैयाँ सामुदायिक उत्तरदायित्व अन्तर्गत समुदायमा खर्च हुने भएको छ। सामुदायिक उत्तरदायित्वको रकम परिचालन गर्दा सम्बन्धित पालिका र वडासँगको परामर्शका आधारमा योजना छनौट र पालिका तथा वडाकै अगुवाइमा खर्च हुँदै आएको समेत ढुङ्गानाले जानकारी दिए।

प्रकाशित: १५ कार्तिक २०८१ १६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App