वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरु यति बेला दीपावली तथा छठ पर्वको तयारीमा लागेका छन्। यी दुवै पर्वमा माटाका भाँडाकुँडाको माग अत्याधिक हुने गर्दछ।
यो माग पूर्ति गर्नकै लागि जनकपुरका कुम्हाल समुदाय यति बेला माटोका भाँडाकुँडा बनाउन व्यस्त छन्। तर पछिल्लो समय यो पेसाबाट मनग्य आम्दानी नहुँदा युवाहरू पेसाबाटै पलायन हुँदै गइरहेको गुनासो उनीहरूको छ।
उमेरले ७० वर्ष पुगेका उपेन्द्र पण्डित माटाका सामानहरू बनाउन यति बेला व्यस्त छन् । अनुभव र सीपले युवाहरू भन्दा पनि छिटो माटोका भाँडा बनाउँछन् । उनलाई अहिले आउँदै गरेको लक्ष्मीपूजा र आस्थाको पर्व छठका लागि माटोको दियो, हाथी, ढकना, सर्वा लगायतका सामाग्रीहरू बनाउने चटारो छ। यी पर्वहरूको समयमा माटाका सामानहरूको माग बढेपछि उनी बिहानैदेखि माटाका सामानहरू बनाउन व्यस्त छन् । जनकपुरधाम वडा नम्बर २४ बसहियाका स्थानीय पण्डितले माटोबाट निर्माण हुने विभिन्न कलात्मक सामाग्रीहरू बनाउन थालेको लगभग ४० वर्ष भइसकेको छ । उपेन्द्र घरपरिवार चलाउन पुख्र्यौली पेसाका साथै अन्य कामहरू पनि गर्दछन्।
माटोको सामग्री कुनै विशेष पर्व वा सिजनमा मात्रै विक्री हुने गर्दछ । त्यसमध्ये दीपावली र छठ पनि हो । यही पेसाको भर पर्ने हो भने घर चलाउन हम्मे हम्मे पर्छ। त्यसैले घरपरिवार धान्न पुर्ख्यौलीका साथै अन्य पेसा समेत अपनाउने गरेको कुम्हाल समुदाय बताउँछन्। उपेन्द्र जस्तै दैनिकी परीक्षण पण्डितको पनि छ। उनले माटाको भाँडाकुँडाको व्यवसाय सुरु गरेको लगभग ३० वर्ष भइसकेको छ। उनले पहिलेभन्दा माटाको भाँडाकुँडाको व्यापार बढेको बताए। मागअनुसार त्यसको आपूर्ति गर्न नसकेको उनको भनाई छ ।
महँगी बढिरहेको छ । तर आजभन्दा ५ वर्ष पहिले ५० रुपैयाँ पाउने कलशको मूल्य अहिले पनि त्यस्तै छ। २ रुपैयाँमै पछिल्लो ५ वर्षदेखि माटोको दियो बेच्न परिरहेको कुम्हाल समुदायको गुनासो छ। विष्णु पण्डित भने यी समस्याहरूलाई पन्छाउँदै आफ्नो पुख्र्यौली पेसालाई निरन्तरता दिने सोचमा छन्।
माटो किन्नेदेखि लिएर दाउरासम्मको मूल्य तिरेर एक महिनासम्म मेहनत गरे पनि मनग्य आम्दानी हुन नसक्दा कुम्हाल पेसामा लाग्न युवाहरू रुचाउँदैनन्। यसले कुम्हाल पेसा नै सङ्कटमा पर्ने उनीहरु गुनासो गर्दछन्।
प्रकाशित: ७ कार्तिक २०८१ १६:२७ बुधबार