२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

विपदबाट ६ अर्ब रुपैयाँ बराबरको बालीनाली नोक्सानी भयो: मन्त्री अधिकारी

कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले असोज ११ र १२ गते आएको विपदका कारण ६ अर्ब रुपैयाँ बराबरको बालीनालीमा नोक्सानी भएको बताएका छन् ।

बुधवार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको विपदले ६ अर्ब रुपैयाँ बराबरको बालीनाली नोक्सानी गरेको बताए । यद्यपी सो तथ्याङ्क प्रारम्भिक भएको उनको भनाई छ । उनले सरकारले किसानहरूलाई राहत दिने सन्दर्भमा गम्भीरतापूर्वक सोचिरहेको र मन्त्रालय छलफलमा रहेको जानकारी दिए । उनले राहतका लागि दातृ निकायहरूलाई पनि अनुरोध गरिएको बताए ।

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले विपद्को अहिलेको परिस्थितिमा सरकारले सङ्कटकाल लगाउनुपर्ने धारणा राखे। उनले सरकारले पूरक बजेटको माध्यमबाट पुनर्निर्माणलाई अगाडी बढाउनुपर्ने बताए । उनले नजिकिँदै गरेको चाडपर्वलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाबाट करिब २० लाख मानिसहरू काठमाडौं बाहिर जानुपर्ने भन्दै उनले सडक सञ्जाल निर्माण गर्न ढिलो गर्नु नहुने बताए ।

बैठकमा बोल्दै जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले पीडित किसानहरूलाई राहत दिन ढिलो गर्नु नहुने धारणा राखे । ऐन, कानुनले राहत वितरणमा ढिलाइ हुन्छ भने मन्त्रिपरिषदमा लगेर फुकाएर भए पनि किसानलाई उपलब्ध गराउनुपर्ने उनको भनाई छ । उनले दातृ निकायहरूले आफैँले राहत वितरण नगरी एकमुष्ट रकम दिनुपर्ने र सो रकम सरकारले वितरण गर्नुपर्ने बताए । उनले विपद्को पूर्व तयारीमा सरकारको ध्यान पुग्न नसकेको धारणा राखे । 

प्रकाशित: १६ आश्विन २०८१ १६:२० बुधबार

#Agriculture and Livestock Development Minister Ram Nath Adhikari #Crops-dry #loss