साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ६२ औं वार्षिकोत्सव विविध कार्यक्रमसहित बिहीबार सम्पन्न भएको छ। नुन, चिनी लगायतका दैनिक उपभोग्य वस्तु र रासायनिक मल उपलब्ध गराउँदै आएको कर्पोरेसनमा सरकारसहित निजी क्षेत्रको पनि लगानी रहेको छ।
वार्षिकोत्सवको अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कर्पोरेसनले बजारमा उपभोक्तालाई सेवा दिनुपर्ने बताए। ‘बजारको मूल्यमा साल्ट ट्रेडिङ कर्पोरेसनले हस्तक्षेप गर्नुपर्छ,’ उनले भने।
साल्ट ट्रेडिङ कर्पोरेसनसँग सरकारको अलि धेरै अपेक्षा राखेको बताए। विभिन्न वस्तुमा हुने मूल्यको कार्टेलिङ र मूल्य वृद्धि रोक्नका लागि साल्ट ट्रेडिङ कर्पोरेसनले बजार विस्तार गर्नुपर्नेमा जोड दिए। ‘असहज परिस्थितिमा पनि साल्ट ट्रेडिङ कर्पोरेसनले वस्तुको उपलब्धता गराएको छ,’ मन्त्री भण्डारीले भने।
सुपथ मूल्यमा गुणस्तरीय वस्तु बिक्री गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताइन्। उनले कर्पोरेसन व्यावसायिक कारोबारका साथै सामाजिक सेवामा निरन्तर सक्रिय रहेको जानकारी दिइन्।
‘उपभोक्ताको घर दैलोमा सेवा दिएका छौं,’ उनले भनिन्, ‘सस्तोमा गुणस्तरीय वस्तु उपलब्ध गराउँदा सेवा पुगेको छ। कर्पोरेसनले उपभोक्तालाई नुन, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तु बिक्री गर्दै आएको छ। कर्पोरेसनले आमजनता तथा समस्त उपभोक्ताको लागि अति आवश्यक वस्तु नुन लगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिई सेवाको ६ दशकभन्दा बढी समय पूरा गरेको छ।
कर्पोरेसनले यस वर्षको लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कारको लागि मानव कल्याण समाज काभ्रेपलान्चोकलाई छनोट गरेको छ। संस्थालाई ताम्रपत्रसहित एक लाख रूपैयाँ नगद प्रदान गर्ने भएको छ।
कर्पोरेसनको श्रीवृद्धिमा उल्लेखनीय योगदान पु¥याएका अग्रजहरूको नाममा कर्पोरेसनले विभिन्न पुरस्कार र छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ। संस्थाका आदर्श पुरुष हेमबहादुर मल्लको नाममा स्थापित सम्मान कार्यक्रम नेपाल जनप्रशासन संघसँगको सहकार्यमा केही समय अघि सम्पन्न भएको थियो।
कर्पोरेसनले नुन जस्तो अत्यावश्यक वस्तु दूरदराजका उपभोक्ताहरू माझ सर्वसुलभ रूपमा उपलब्ध गराएको सेवा भावलाई कदर गर्दै ठूली भेरी नगरपालिका ३, डोल्पाका समाजसेवी डिलबहादुर मल्लले आफ्नो स्वामित्वको तीन कठ्ठा जग्गा कर्पोरेसनको भवन निर्माण गर्न निःशुल्क दिएका छन्।
एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने कर्पोरेसनका कर्मचारीका छोराछोरीलाई साल्ट ट्रेडिङ अनङमान शेरचन छात्रवृत्ति प्रदेश कार्यालय भैरहवाका कर्मचारी सुनिता गौतमको छोरा जतिन गौतमलाई प्रदान गरिएको छ।
त्यसैगरी, साल्ट ट्रेडिङ लोकनाथ जोशी छात्रवृत्ति प्रदेश कार्यालय काठमाडौंका कर्मचारी राजन लामाको छोरी निमासङ लामालाई प्रदान गरिएको छ।
छात्रवृत्ति दुई वर्षसम्म उपलब्ध हुने छ। कर्पोरेसनको अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी प्रबन्धक टुलेश्वरप्रसाद साह, अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने प्रदेश कार्यालय विराटनगरमा कार्यरत कर्मचारी प्रमुख सहायक बसन्तकुमार यादव तथा केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी सवारी चालक तृतीय यामबहादुर मगरलाई हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गरेको छ।
प्रकाशित: २८ भाद्र २०८१ ०९:१६ शुक्रबार