४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एक दशकपछि विद्युतीय कारको हिस्सा आधा

विद्युतीय गाडीको इतिहास धेरै पुरानो छ। धेरैलाई आश्चर्य लाग्न सक्छ, सन् १९०० सुरु ताका अमेरिकी सडकमा गुड्ने गाडीमा एक तिहाइ हिस्सा विद्युतीय गाडीको थियो। समयसँगै ग्यासोलिन सवारी साधनको प्रयोग बढ्दै जाँदा विद्युतीय गाडीको उत्पादन बन्द भएको थियो। हाल विद्युतीय सवारी साधनप्रति बढ्दो आकर्षणले अबका केही वर्षमा विश्वका सडकमा गुड्ने अधिकांश गाडी इभी नै हुने आकलन गर्न थालिएको छ।

सन् १८३२ मा स्कटल्यान्डका रोबर्ट एन्डर्सनले पहिलो विद्युतीय गाडी निर्माण गरेका थिए। त्यसपछि लगातार इभी गाडीमा प्रयोग हुने व्याट्रीमा आएको सुधारसँगै सन् १८९९ मा बेल्जियमका रेसिङ कार ड्राइभर केमीले जेनान्टीले निर्माण गरेको कार प्रतिघन्टा ९६.५ किलोमिटरको गतिमा कुद्न सक्थ्यो।

पछिल्ला वर्षमा विश्वका ठूला–ठूला अटोमोवाइल कम्पनी विद्युतीय कार निर्माणमा लागि परेका छन्। विद्युतीय गाडीको विगत, वर्तमान र भविष्य सम्बन्धी पुस्तकका लेख केभिन ए विल्सनका अनुसार सन् १९६० को दशक यता प्रविधिमा भएको दु्रततर विकासले विश्वमा पुनः विद्युतीय गाडीप्रति आकर्षण बढेको हो। यो क्षेत्रमा भएको तर प्रविधिको विकास सँगसँगै, जिवास्म इन्धनमा आधारित गाडीले गर्ने उत्सर्जनले निम्त्याउने वातावरणीय चिन्ताका कारण पछिल्ला वर्षमा विश्वमा यसको माग ह्वात्तै बढेको छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार यस वर्ष विश्वव्यापी विद्युतीय सवारी साधनको बिक्री बढेर एक करोड ७० लाख पुग्ने अनुमान गरिएको छ। विशेष गरी चिनियाँ बजारमा यसको माग ह्वात्तै बढ्दा यो वर्ष २० प्रतिशत भन्दा बढीले विश्वव्यापी माग बढ्ने आकलन छ। 

गत अप्रिलमा एजेन्सीले सार्वजनिक गरेको एक प्रतिवेदनमा आगामी दशकमा इभीको माग बढ्दा यसले अटो उद्योगलाई समेत पुनः परिभाषित गर्ने र सडक यातायातमा खनिज तेलको खपत उल्लेखनीय रूपमा घट्ने प्रक्षेपण गरिएको छ। सन् २०३५ सम्ममा विश्वव्यापी रूपमा बिक्री हुने सबै कारमध्ये आधा विद्युतीय हुने अपेक्षा गरिएको छ। 

यो वर्ष बिक्री हुने हरेक पाँचमध्ये एक विद्युतीय सवारी रहेकोमा चार्जिङ पूर्वाधारले गति कायम राखेको खण्डमा सन् २०३५ सम्ममा ५० प्रतिशत नाघ्ने प्रक्षेपण गरिएको हो। एजेन्सीले विद्युतीय सवारी र प्लग–इन हाइब्रिड गाडीहरूलाई इभी गाडीको रूपमा परिभाषित गर्ने गरेको छ।

एजेन्सीले विश्वका सरकारले हाल अवलम्बन गरेको नीति र विश्वको अग्रणी इभी कार निर्माता टेस्लाले मूल्य घटाएका कारण यस्तो आकलन गरिएको हो । यसैगरी स्थापित चिनियाँ कार निर्माता कम्पनीको बढ्दो प्रतिस्पर्धात्मक उत्पादन क्षमताको आधारमा इभीको माग बढ्ने देखिएको हो।

चिनिया खरिदकर्ताको बढदो संख्याका कारण मात्र इभी गाडीको संख्यामा वृद्धि भएको होइन। युरोपेली अटोमोबाइल उत्पादक संघका अनुसार २०२३ को सोही अवधिको तुलनामा यस वर्षको पहिलो तीन महिनाभित्र विद्युतीय कारहरूको बिक्रीमा झन्डै चार प्रतिशतले बढेको छ।

इभी गाडीको बजार संभावनाको बारेमा एक विज्ञप्ति जारी गर्दै एजेन्सीका प्रमुख फतिह बिरोलले ‘इभी क्रान्तिले विकासको नयाँ चरणमा प्रवेश गर्ने तयारी गरिरहेको’ प्रतिक्रिया दिएका छन्। सन् २०३० सम्ममा चीनमा गुड्ने हरेक तीन गाडीमध्ये एक विद्युतीय गाडी हुने आकलन गरिँदैछ । यसैगरी सन् २०३० मा अमेरिकाको सडकमा गुड्ने गाडीमा १७ प्रतिशत र युरोपियन युनियनमा १८ प्रतिशत हिस्सा विद्युतीय गाडीले लिने अनुमान छ।

इभी गाडीप्रतिको उत्साहजनक आकर्षण हुँदाहुँदै पनि कार निर्माताहरूबीच चर्काे प्रतिस्पर्धाका कारण यी कम्पनीहरू थोरै नाफामा भए पनि गाडी बिक्री गरिरहेका छन्। हालसालै अमेरिकी कम्पनी टेस्ला, चिनिया कम्पनी ली अटोले विश्वका प्रमुख बजारमा मूल्य घटाएका छन्।

गत अप्रिलको सुरुमा टेस्लाले विगत चार वर्षयता पहिलो पटक बिक्रीमा गिरावट आएको बताएको थियो । यो वर्ष टेस्ला कम्पनीको सेयर ४० प्रतिशतभन्दा बढीले घटेको छ। उता, चिनियाँ कम्पनी बिवाइडीले पनि बिक्रीमा ह्रास आएको बताएको छ। सन् २०२३ को अन्तिम तीन महिनामा कुल पाँच लाख २५ हजार गाडी बेचेको बिवाइडीले यो वर्षको सुरुका चार महिनामा मात्र तीन लाख गाडी बिक्री गरेको छ।

प्रतिस्पर्धाका कारण मूल्य कटौती गर्नुपरे पनि यी कम्पनीहरू विश्वभर आफ्नो बजार विस्तार गर्न अगाडि बढेको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको ठम्याई छ। उदाहरणको लागि गत वर्ष चीनमा बिक्री भएका ४० प्रतिशत इभी गाडीहरू परम्परागत गाडीभन्दा सस्ता खालका थिए। युरोप र अमेरिकामा भने जिवास्म इन्धनबाट चल्ने परम्परागत गाडीको मूल्य औसतमै न्यून रहने गरेको छ। एजेन्सीका अनुसार आगामी वर्षहरूमा इभी गाडीको मूल्य झन् घटनेछ। विशेषगरी व्याटरी प्रविधि र प्रतिस्पर्धाका कारण यसको मूल्य घट्ने ठानिएको हो।

इभी गाडीको बिक्रीका लागि चार्जिङ स्टेसनको उपलब्धता महत्त्वपूर्ण रहँदै आएको छ। अमेरिका र युरोपमा समेत यो सुविधा सीमित छ। एजेन्सीका अनुसार यो दशकको अन्त्यसम्म विश्वमा एक करोड ५० लाख सार्वजनिक चार्जिङ स्टेसन निर्माण हुनेछन्। समग्रमा भन्नुपर्दा विद्युतीय गाडीको मूल्य कटौती र प्रविधिको उच्चतम विकासका कारण यी गाडीमा सर्वसाधारणको पहुँच बढ्ने निश्चित छ।

प्रकाशित: ११ भाद्र २०८१ ०७:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App