४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आम्दानी सवा खर्ब सञ्चित नाफा ४७ अर्ब

वित्तीय सूचकांक सुधारमा विद्युत् प्राधिकरण

पत्रकार सम्मेलनमा विद्युत् प्रधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ। तस्बिर: रासस

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले ‘बहाना बनाएर हटाउन लागेको’ नेकपा माओवादी केन्द्रका नेताले दाबी गरिरहेका बेला घिसिङले प्राधिकरणको प्रगति सार्वजनिक गरेका छन्। मुलुकमा लोडसेडिङ हटाएर लोकप्रिय भएका घिसिङले प्राधिकरणका सकारात्मक सूचकहरू सार्वजनिक गरेर आफूले राम्रो काम गरिरहेको सन्देश दिएका छन्।

प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले दोस्रो कार्यकाल सम्हालेपछि तेस्रो वर्षका उपलब्धि शुक्रबार सार्वजनिक गर्दै यस्तो सन्देश दिएका हुन्। घिसिङका अनुसार प्राधिकरणका सूचक अब्बल देखिएका छन्। प्राधिकरणले विद्युत् बिक्री गरेर आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब १६ अर्ब रूपैयाँ आम्दानी गरेको छ।

वार्षिक सवा खर्ब हाराहारी आम्दानी गरेको प्राधिकरणले गत आवमा १३ अर्ब ३१ करोड खुद नाफा आर्जन गरेको छ। प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब ७१ करोड पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड रूपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरण त्यसयता भने निरन्तर नाफामा छ।

प्रबन्ध निर्देशक घिसिङले प्राधिकरण नाफामा लगेर मुलुकभर विद्युतीकरण गरेको दाबी गरे। तीन वर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा सफलता मिलेको घिसिङले बताए।

माओवादी नेतृत्वको सरकारबाट नियुक्ति पाएका घिसिङले नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा नयाँ सरकार बनेपछि असहयोग गरेको आरोप लागेको छ। पछिल्लोपटक डेडिकेटेड र ट्रंक लाइन विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन कार्यान्वयन गर्न अटेर गरेपछि उनको आलोचना भएको थियो। माओवादी सरकारका पालामा नियुक्त घिसिङलाई माओवादी नेताहरूले बचाउ गर्दै आएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्देशन कार्यान्वयन गर्न अटेर गरेको भन्दै घिसिङको टिप्पणी हुँदै आएको छ।

उनले वित्तीय तथा प्रशासनकि सुधार, वितरण तथा ग्राहक सेवा उत्पादन तथा इन्जिनियरिङ प्रसारण विद्युत् व्यापार शीर्षकमा ५५ बुँदे उपलब्धि सार्वजनिक गरे। दोस्रो कार्यकालको तीन वर्ष निरन्तर नाफा गरेको बताए। प्राधिकरणले आव २०७८/७९ मा १३ अर्ब ३४ करोड, २०७९/८० मा नौ अर्ब ४२ करोड र २०८०/८१ मा १३ अर्ब ३१ करोड (अपरिष्कृत) खुद नाफा गरेको बताए।

त्यसैगरी सञ्चित नाफा आव २०७८/७९ मा २४ अर्ब ७७ करोड, २०७९/८० मा ३३ अर्ब ६४ करोड र २०८०/८१ मा ४७ अर्ब ४१ करोड (अपरिष्कृत) रहेको छ। प्राधिकरणको आम्दानी आव २०७८/७९ मा ८७ अर्ब १५ करोड रूपैयाँ, २०७९/८० मा एक खर्ब तीन अर्ब र २०८०/८१ मा एक खर्ब १६ अर्ब रूपैयाँ छ।

त्यसैगरी चलअचल सम्पत्ति आव २०७८/७९ मा पाँच खर्ब २२ अर्ब रूपैयाँ, २०७९/८० मा पाँच खर्ब ७७ अर्ब र २०८०/८१ मा ६ खर्ब ३२ अर्ब रूपैयाँ पुगेको प्राधिकरणले जनाएको छ। अन्तर्राष्ट्रिय परामर्शदाताबाट प्राधिकरणको सम्पत्तिको वास्तविक मूल्यांकन गरिएकोमा ६ खर्ब ३२ अर्ब रूपैयाँको रहेको छ।

९९ प्रतिशत नागरिकको घरमा विद्युतीकरण गरेको उपलब्धिसहित प्राधिकरण नाफामा रहेको कार्यकारी निर्देशक घिसिङले तथ्यांक सार्वजनिक गरे। विद्युत्को पहुँच बढेसँगै खपत पनि बढेको प्रबन्ध निर्देशक घिसिङले बताए। ‘प्रतिव्यक्ति बिजुली खपत एक सय ३१ युनिटबाट बढेर चार सय युनिट पुगेको छ,’ घिसिङले भने।

आठ वर्षअघि प्रतिवर्ष तीन अर्ब ७२ करोड युनिट विद्युत् खपत हुने गरेकामा अहिले १० अर्ब २३ करोड युनिट पुगेको प्राधिकरणले जनाएको छ।

जनताका घरमा मात्र नभएर उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पुर्‍याएर आन्तरिक खपत बढाई देशलाई नै समृद्ध बनाउने अभियानमा पनि सफलता मिलेको उनले दाबी गरे। ‘घर, भान्सामा मात्र नभएर विद्युतीय सवारीसाधनको प्रयोगमा पनि विद्युत्को प्रयोग भएको छ,’ घिसिङले भने, ‘विद्युत्को खपत बढ्दा पेट्रोलियम पदार्थको खपत घटेको छ।’

प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका विद्युत् आयोजनाहरू गरी कुल जडित क्षमता तीन हजार एक सय ५७ मेगावाट पुगेको छ। विगत तीन वर्षमा मात्र १७ सय ६ मेगावाट प्रणालीमा थप भएको छ।

प्राधिकरणका अनुसार जडित क्षमतामा सबैभन्दा बढी करिब ९५ प्रतिशत अर्थात् २९ सय ९१ मेगावाट योगदान जलविद्युत्कै रहेको र थर्मल ऊर्जा ५३ मेगावाट, सौर्य ऊर्जा एक सय ७ मेगावाट र बायोमास ऊर्जा ६ मेगावाट रहेको घिसिङले बताए। प्राधिकरणले आन्तरिक उपभोक्ता मात्र नभएर विदेश विद्युत् निर्यात गरेको छ।

गत आर्थिक वर्षमा एक अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी १७ अर्ब सात करोड रूपैयाँ आम्दानी गरेको छ। यद्यपि गत आवमा १६ अर्ब ९३ करोड रूपैयाँ बराबरको एक अर्ब ९१ करोड युनिट विद्युत् भारतबाट आयात गरेको प्राधिकरणले जनाएको छ। गत आवमा आयातभन्दा करिब १३ करोड रूपैयाँ बढीको विद्युत् निर्यात भएको छ। वर्षायाममा दैनिक सात सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ।

विगत आठ वर्षमा मात्र प्राधिकरण करिब एक खर्ब रूपैयाँ पुँजगत लगानी गरेको छ। प्राधिकरणले आफ्ना सहायक र सम्बद्ध कम्पनीहरूमा ५६ अर्ब ६८ करोड रूपैयाँभन्दा बढी लगानी गरेको छ। प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि दुई खर्ब ११ अर्ब रूपैयाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्व रूपैयाँ पुगेको छ। प्राधिकरणको मुलुकभर करिब ४० हजार दुई सय रोपनी जग्गाको पहिचान भएको र गत वर्ष काठमाडौ उपत्यकाभित्रको करिब ७२ रोपनी १२ आना जग्गाको पुर्जा प्राप्त भएको जनाएको छ।

अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको वितरण प्रणाली नियन्त्रण तथा डेटा सेन्टर निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ। विद्युत् खपत बढाउन विद्युतीय सवारीसाधनलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्न प्राधिकरणले आफैं ६२ वटा चार्जिङ स्टसेन निर्माण गरी सञ्चालनमा ल्याएको जनाएको छ।

आठ वर्षअघिसम्म विद्युत् वितरणतर्फका वितरण सबस्टेसनहरू ८० वटा रहेकामा अहिले बढेर एक सय ९७ वटा पुगेको, सबस्टेसन क्षमता ६ सय ४० एमभिए मात्र रहेकोमा अहिले दुई हजार पाँच सय एमभिए पुगेको जनाएको छ। यसैगरी वितरण लाइनतर्फ आठ वर्षअघि एक लाख २१ हजार सर्किट किलोमिटर रहेकामा अहिले बढेर दुई लाख आठ हजार सर्किट किलोमिटर पुगेको छ।

प्रकाशित: २६ श्रावण २०८१ ०६:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App