नेपाल घुम्न आउने विदेशी पर्यटकले दैनिक ४१ अमेरिकी डलर खर्च गर्ने गरेको सरकारी तथ्यांक छ। पर्यटन मन्त्रालयको तथ्यांकमा विदेशी पर्यटकले सन् २०२३ मा औसतमा दिनमा ४१ अमेरिकी डलर खर्च गरेको उल्लेख छ। यो खर्च सन् २०२२ मा ४०.५ अमेरिकी डलर थियो। पर्यटन व्यावसायीले विदेशी पर्यटकले गरेको खर्च रकम कम भएकोले गतिविधि बढाएर खर्चने क्षमता बिस्तार गर्नुपर्नेमा जोड दिँदै आएका छन्।
तर, गण्डकी प्रदेश भित्रिने विदेशी पर्यटकले गर्ने दैनिक खर्च भने समग्र मुलुकको तुलनामा बढी छ। गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकको बसाई तथा खर्चको प्रवृत्तिबारे विशेष अध्ययन गरेको राष्ट्र बैंकको पोखरा कार्यालयको अनुसन्धान इकाइले गण्डकी प्रदेशमा भित्रिएका विदेशी पर्यटकले दैनिक औसतमा ५४ देखि ८९ अमेरिकी डलरसम्म खर्च गर्ने गरेको उल्लेख गरेको छ।
अध्ययन अनुसार गण्डकी प्रदेश भित्रिएका पर्यटकको भारित औसत दैनिक खर्च ६२.८९ अमेरिकी डलर छ। तर, प्याकेज लिएर गण्डकी प्रदेश घुम्न आउने पर्यटकको औसत दैनिक खर्च भने ८९.३१ अमेरिकी डलर रहेको उल्लेख छ। त्यसैगरी स्वतःस्फुर्त रुपमा खर्च गर्नेगरी गण्डकी प्रदेश भ्रमण गर्न आउने पर्यटकको दैनिक औसत खर्च भने ५४.३२ अमेरिकी डलर रहेको राष्ट्रबैंकको अध्ययनले बताएको छ।
औसत दैनिक खर्चको हकमा पर्यटकको सबैभन्दा बढी खर्च खानामा २८.२२ प्रतिशत हुने गरेको उल्लेख छ । त्यस्तै बसोबासमा २७.६ प्रतिशत, यातायातमा २१.७ प्रतिशत र मनोरञ्जनमा १२.३ प्रतिशत खर्च गर्ने गरेको अध्ययन प्रतिवेदनमा जनाइएको छ।
राष्ट्र बैंकको अध्ययन प्रतिवेदन तयारको क्रममा छलफलमा सहभागि पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीका अनुसार यो अध्ययन गण्डकी प्रदेशका पर्यटकीय गतिविधि बढी हुने मुख्य पाँचवटा जिल्ला (कास्की, मुस्ताङ, मनाङ, म्याग्दी, गोरखा) तथा पर्यटकीय गतिविधि कम हुने पूर्वि नवलपरासी गरी ६ जिल्लामा केन्द्रीत छ।
पर्यटकीय गतिविधि हुने आधारमा पर्यटकको बसाई अवधि र खर्च विवरण निकालिएको पन्थीले बताए। पन्थीका अनुसार कास्कीमा मात्रै बस्ने पर्यटकको बसाई अवधि कम हुन्छ भने खर्च पनि न्यून हून्छ। किनकी पोखरा क्षेत्रमा पर्यटक बस्ने भएकोले उनीहरुले सस्तोमा खान र बस्न पाउँछन। तर, पदयात्रा क्षेत्रमा पर्ने मुस्ताङ, मनाङ, म्याग्दी, गोरखा जाने पर्यटकको बसाई अवधि बढी हुने र खर्च पनि धेरै हुने उनले बताए।
‘मुख्य पदमार्ग पर्ने जिल्लामा यो अध्ययन केन्द्रीत छ। पदयात्राका लागि पर्यटक ती जिल्लामा जाने भएकोले पर्यटकको बसाई अवधि पनि बढी हुन्छ,’ पन्थीले भने, ‘बसाई अवधि लामो हुने भएकोले पर्यटकको खर्च पनि बढी हुन्छ। पदयात्रा अवधि अनुसार बसाई र खर्च लाग्छ।’
उनका अनुसार पोखरा आएका पर्यटकको बसाई भने निकै नै कम हुन्छ। ‘पदयात्रामा जाँदा विदेशीले खान, बस्न र यातायातका लागि मागेजति खर्च बेहोर्नुपर्छ। किनकी त्यहाँ सस्तो खोज्दैमा पाइँदैन। तर, पोखरामा भने धेरै संरचना भएकोले सस्तोमा खान र बस्न पनि पाइन्छ,’ उनले भने।
पदयात्रा हुने जिल्लामा यो अध्ययन केन्द्रीत भएकोले खर्च र बसाई अवधि बढी देखिएको उनले बताए। उनका अनुसार विदेशी पर्यटकको पोखराको बसाई अवधि बढीमा ३ दिन छ। तर, दुर्गम जिल्लामा जाँदा त्यो अवधि बढी हुन्छ। ‘पोखरामा मात्र रहने पर्यटकको त खर्चै हुँदैन। किनकी पोखरामा सस्तोमा बस्न र खान पाइन्छ। तर, अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाँदाको खर्च बढी पर्छ । पदयात्रा अनुमति, टिम्स शुल्क, पदयात्राका लागि सहयोगीको रकम सहित खानपिन र बसोबासको रकम पनि बेहोर्नुपर्छ,’ उनले भने।
पदयात्रा क्षेत्रमा पर्यटकको बसाई अवधि बढाउन सक्ने हो भने पर्यटकको खर्च पनि बढ्ने उनले बताए। ‘पर्यटकको खर्च बढाउने आधार तय गर्नुपर्छ। अहिले पदयात्रा अवधि छोटिएको छ, कुनै बेला २० दिन हाराहारीमा पुरा हुने अन्नपूर्ण फेरो अहिले एकसातामै सकिन्छ,’ उनले भने, ‘त्यसैले अब पर्यटकको बसाई अवधि र खर्च बढाउन पहल आवश्यक छ।’
नयाँ पदमार्ग बिस्तार गर्ने, मोटरबाटोको विकल्पमा नयाँ पदमार्ग पहिचान गराएर पर्यटकलाई हिड्न बाध्य पार्ने हो भने खर्च र बसाई अवधि बढाउन सकिने उनले बताए। ‘पुरानै पदमार्गको भरमा पर्यटन चलाउन सकस छ। त्यसैले नयाँ रुट पहिचान गर्नैपर्छ। त्यसले बसाई अवधि बढाउन पनि सकिन्छ,’ उनले भने।
उनले सस्ता भन्दा पनि पर्याप्त खर्चन सक्ने (क्वालिटी) का पर्यटक भित्र्याउन प्रतिश्पर्धा गर्नुपर्ने बताए। ‘अब मुल्यमा नभई क्वालिटीका पर्यटक भित्र्याउन प्रयास गर्नुपर्छ। नेपाल भित्रिने पर्यटक सस्ता होईनन, हामीले खर्च गराउन नसक्दा रकम फिर्ता लैजाने अवस्था आएको हो,’ उनले भने, ‘नेपालसम्म आउने हवाई भाडा नै महंगो रहेकोमा त्यो रकम तिरेर आउने पर्यटकलाई सस्तो भन्न मिल्दैन। तर, नेपाल भित्रिएपछि भने पर्यटकले खर्च गर्न सकेका छैनन, पर्यटकले खर्च ठाउँ पाएनन, हामीले उनीहरुलाई खर्च गराउन सकेनौ।’
पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ पनि पर्यटकको खर्च बढाउने आधार भएपनि त्यो अनुसार हुन नसकेको बताउँछन। ‘पर्यटकलाई नयाँ गन्तव्यमा लैजान सकिन्छ। साहसिक गतिविधिमा संलग्न गराउने हो भने पर्यटकको बसाई अवधि र खर्च बढाउन सकिन्छ,’ श्रेष्ठले भने, ‘हामीसँग अझै पर्यटकलाई खर्च गराउने पूर्वाधार कम छन।’ पाँचतारे र चेन होटल पोखरामा पनि थपिने हो भने महंगा पूर्वाधारमा बस्न महंगा पर्यटक आउने हूँदा खर्च पनि बढ्ने उनले बताए।
‘पोखरामा अहिले एउटा मात्र पाँचतारे होटल छ । अरु पनि यस्तै होटल हुने हो भने महंगा पर्यटक आउनेछन,’ उनले भने। त्यसबाहेक बजारीकरण गर्दा पनि महंगा पर्यटक भित्रिन सक्ने मुलुकलाई लक्षित गरेर गर्नुपर्ने उनले बताए। ‘भारतीय पाहुना पनि महंगा छन। भारतीय भन्दैमा सबै सस्तो हुँदैनन। त्यसैले अब क्वालिटी पर्यटकका लागि बजारीकरण गर्नुपर्छ। महंगा पर्यटक भित्रिन सक्ने मुलुक पहिचान गरेर जारीकरण गर्ने हो भने पर्यंटनमा लाभ पुग्छ,’ श्रेष्ठले भने।
मोटरबाटोले बिस्थापित भएका पदमार्गको साटो नयाँ पदमार्ग पहिचान गरेर पर्यटकलाई ती ठाउँमा लैजान सक्ने हो भने पर्यटकको बसाई र खर्च अवधि बढ्ने उनले बताए। ‘पर्यटक हिड्न आउने हुन, उनीहरुलाई गाडी नचल्ने पदमार्गमा लैजानुपर्छ,’ उनले भने, ‘त्यसैले बिस्थापित पदमार्गको विकल्प खोज्नुपर्छ । साहसिक गतिविधि बढाउनुपर्छ। महंगा पूर्वाधार थप्दै जाने हो भने पर्यटकको बसाई र खर्च बढिहाल्छ।’
प्रकाशित: १२ श्रावण २०८१ १८:२२ शनिबार