२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

पर्वतीय पर्यटन प्रवर्द्धन गर्न नेपाल र चीनकाे सम्झौता

नेपाल हिमाली तथा पर्वतीय पर्यटनमा बलियो सम्भावना बोकेको मुलुक हो। नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्रमध्ये हिमाली पर्यटन पनि एक हो। मुलुकमा हिमाली पर्यटनले सकारात्मक आर्थिक प्रभावका रूपमा विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आम्दानी वृद्धि, उत्पादन विकास र आपूर्ति सम्बन्धमा अनेक योगदान पुर्‍याएको छ।

यससँगै हिमाली तथा पर्वतीय पर्यटन संवेदनशील र जोखिमपूर्ण रहेको पनि निर्विवाद तथ्य हो। हिमाली तथा पर्वतीय पर्यटनको अनुभव लिने क्रममा पर्वतारोही तथा पथप्रदर्शक लड्ने, खस्ने, चोटपटक लाग्ने, लेक लाग्ने, चट्टान खस्ने, हिमपहिरो, बरफ खस्ने जस्ता उचाइ र मौसमबाट हुने खतराहरू प्रशस्त हुन्छन्। यही जोखिमलाई न्यूनीकरण गर्न र पर्वतीय पर्यटनलाई सुरक्षित एवम् चलायमान राख्न नेपाल पर्वतारोहण संघ र छिमेकी देश चीनको सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघ बीच दुई पक्षीय सम्झौता भएको छ।

उच्च पर्वतारोहण क्षेत्रमा दुई देशबीचको ज्ञान, सिप आदान प्रदान गर्न, उच्च पर्वतारोहण क्षेत्रमा हुने दुर्घटनामा तत्काल गरिनुपर्ने उद्धार, पर्वतीय वातावरण र पर्वतीय संस्कृतिको प्रवद्र्धन आदिका लागि दुई देशबीच सम्झौता भएको नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरू शेर्पाले बताए।

सम्झौता अनुसार पर्वतीय उद्धारमा सहयोग र सहकार्य गर्ने सवालमा दुई देशबीच ‘हाई अल्टिच्युड माउन्टेन रेस्क्यु मेकानिजम’ स्थापना गर्ने सहमति भएको छ। नेपाल पर्वतारोहण संघ र नेपालको सरकारी प्रतिनिधिहरू समेत रहने यस संयन्त्रले पर्वतीय उद्धार कार्यलाई थप छिटो, छरितो र प्रभावकारी बनाउने काम गर्ने संघका अध्यक्ष शेर्पाले बताए।

नेपाल पर्वतारोहण संघ र पर्वतारोहण क्षेत्रमा चीन जनसरकारको नेतृत्व गर्ने सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघबीच दुई पक्षीय सम्झौता भएको अध्यक्ष शेर्पाले बताए। ‘ट्रान्स हिमालयन फोरममा सहभागी भएको बेला यो सम्झौता भएको हो।’

अध्यक्ष शेर्पाले भने, ‘यसले मुलुकको पर्वतीय पर्यटन क्षेत्रको प्रचार र विकास महत्त्वपूर्ण भूमिका खेल्छ।’ यो संघले अन्तर्राष्ट्रिय निकाय र सरकारसँग गरेको अहिलेसम्मकै ठूलो सम्झौता भएको उनले बताए।

अध्यक्ष शेर्पाका अनुसार नेपाल र चीनबीच पर्वतीय उद्धारमा सहयोग, सहकार्य, आरोहण संस्कृतिको प्रवद्र्धन, पर्वतीय वातावरणको संरक्षण, आरोहण सम्बन्धी जनशक्ति उत्पादनमा जोड दिने विषयमा दुई देशबीच सम्झौता भएको छ।

 सम्झौताहरूको कार्यान्वयनका लागि नेपालको तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग नेपाल पर्वतारोहण संघ र चीनको तर्फबाट सिचाङ स्वशासित क्षेत्र जनसरकार, सिचाङ स्वशासित क्षेत्रको खेलकुद महासंघका प्रतिनिधिसमेत रहने गरी संयन्त्र निमार्णको लागि प्रस्ताव गरेको बताए।

अध्यक्ष शेर्पाका अनुसार संघले चीनको पर्वतारोहण कमिटीलाई आरोहणका लागि यसरी काम गर्नुपर्छ भनेर सहयोग गरेको, आरोहीहरू पठाइदिने, नेपालमा हिमाल आरोहण गरिसकेका आरोहीलाई त्यहाँ पनि छ भनेर जानकारी दिने जस्ता काम गरेको बताए। यसले कुनै न कुनै पक्षबाट चिनियाँ पर्वतारोही समुदायमा नेपालको पर्वतीय पर्यटनप्रति सकारात्मक बनाउन सहयोग गरेको अध्यक्ष शेर्पाले बताए।

नेपाल र चीनबीचको दौंत्य सम्बन्ध स्थापना भएपछि नेपालले सन् १९८८ मा चीन, नेपाल र जापानको ट्रायल एभरेष्ट एक्सपिडिसन गरेको थियो। जसमा नेपालबाट सगरमाथा आरोहण गरेकाले तिब्बतमा झर्ने र तिब्बतबाट सगरमाथा आरोहण गरेकाहरू नेपालमा झरेका थिए।

यस्तै सन् २००५ अर्को फ्रेन्डसिप एक्सपिडिसन भएको थियो। जसमा चोयु हिमाल एक्सपिडिसनका लागि पहल भएको थियो। जसमा नेपाल र चीनका आरोहीहरू सम्मिलित टोलीले ‘नेपाल–चाइना फ्रेन्डसिप पिक’को आरोहण गरेका थिए।

यसै क्रममा सन् २०१५ मा भूकम्प गएको बेला पनि दुई देशबीच सहकार्य भएको थियो। सो बेलाको भूकम्पमा विभिन्न हिमाल आरोहणमा समेत प्रभाव परेको थियो। भूकम्पले गर्दा आरोहणको बीचमै आरोहीहरू छोडेर झर्नुपर्ने भएको थियो।

एभरेष्ट, सिसापाङमा र चोयुजस्ता हिमालमा अलपत्र परेका २०५ जना आरोहीलाई नेपाल पर्वतारोहण संघ तथा तिब्बत स्पोर्टस ब्युरोको अध्यक्ष निमा छिरिङको पहलमा सरकारसँग सहकार्य गरेर आरोहीको उद्धार गरेको थियो।

यसै क्रममा अध्यक्ष शेर्पाले आगामी वर्ष नेपाल र चीनका प्रतिनिधिले नेपाल–चाइना फ्रेन्डसिप एक्सपिडिसन गर्ने जानकारी दिए। उनले नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा दुबै देशको प्रतिनिधित्व हुने गरी नेपाल–चाइना फ्रेन्डसिप एक्सपिडिसन हुने बताए।

‘चीन नेपालको दौंत्य सम्बन्ध स्थापना भएको ७० वर्ष सन् २०२५ मा पुग्ने भएकाले नेपाल–चाइना फ्रेन्डसिप एक्सपिडिसन गरौं भन्ने सहमति गरेका छौं’, उनले भने, ‘आगामी वर्ष नेपाल–चाइना फ्रेन्डसिप एक्सपिडिसन आयोजना हुन्छ।’

यस सहकार्यले नेपालको हिमाली पर्यटनको अन्तर्राष्ट्रिय प्रबद्र्धन हुने उनले बताए।

उनले संघको पहलमा भएको यस सम्झौताले पर्वतारोहण क्षेत्रमा दुई देशबीच सहकार्यको संस्कृति पुनः सञ्चालन हुने मात्र नभई यस क्षेत्रमा हुने कुनै पनि समस्याको समाधान गर्न र आवश्यक सहकार्य र सहयोग आदान प्रदान गर्न सहज हुने बताए।

नेपाल पर्वतारोहण संघले २७ हिमाल आरोहणको अनुमति दिँदै आएको छ। संघ हिमाल र हिमाली पर्यटन प्रवर्द्धन, पर्वतारोहण खेलकुद, हिमाली वातावरण संरक्षण र हिमाली जनताको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्न नेपालको राष्ट्रिय अल्पाइन संघको रूपमा काम गर्ने गैरसरकारी, गैरनाफामूलक र गैरराजनीतिक संस्था हो।

प्रकाशित: ७ श्रावण २०८१ ०८:१७ सोमबार

#Agreement between Nepal and China #Promotion of mountain tourism