मुलुकमा पर्यटन क्षेत्रको विकास र विस्तारका लागि ठोस कार्य योजना नभएको सरोकारवालाले बताएका छन्। दीगो पर्यटन विकासका लागि नीति तर्जुमा गर्न नसक्दा पर्यटन क्षेत्रले सोचे अनुरूपको गति लिन नसकेको हो।
पर्यटन क्षेत्रको विकास, विस्तार र नियमन गर्न बनेको ऐन आजभन्दा ४७ वर्ष अघिकै छ। समय सापेक्ष ढंगले ऐन परिमार्जन हुन नसक्दा अथाह सम्भावनायुक्त क्षेत्र कसरी पछाडि पर्छ भन्ने कुरा मुलुकको पर्यटन क्षेत्रले चित्रण गरिरहेको छ। परिमार्जनको संघारमा रहेको ऐन कहिले संशोधन गरिने हो कसैले पत्तो पाउन सकिरहेका छैनन्।
मुलुकले कति पर्यटक धान्न सक्छ भन्ने जानकारी सरकारलाई नै नभएको होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले बताए। ‘सरकार मुलुकमा १५ लाख पर्यटक भिर्याउँछौं भन्छ। होटल पूर्वाधार क्षमता ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने छ।’ अध्यक्ष शाहले भने, ‘मुलुकले १५ लाख पर्यटक मात्र क्यारी गर्न सक्ने हो भने होटल पूर्वधारमा अनावश्यक लगानी गर्न किन दिएको हो ? आधा भन्दा पनि कम पर्यटक आगमनको लक्ष्य राख्ने अनि पर्यटन पूर्वाधारमा जति पनि लगानी गर्न दिने गर्दा पर्यटन क्षेत्रको विकास कसरी हुन्छ ? राज्यले पर्यटक आउने वातावरण सिर्जना गर्नुपर्ने बताउँदै यसका लागि सबैभन्दा पहिले हवाई र स्थल मार्ग निर्माण र सञ्चालनमा ध्यान आवश्यक रहेको उनले बताए।
अध्यक्ष शाहले पर्यटन विकासको राष्ट्रिय कार्यनीति बनाएर सरकारले द्रुत गतिमा काम गर्नु आवश्यक रहेको बताए। यस पटकको बजेटमा कृषि र आइटी दशक मनाउने घोषणा गर्दै गर्दा लगभग दुई वर्ष अघि घोषणा गरेको पर्यटन दशकको बारेमा मौन रहेको पनि बताए। ‘पर्यटन दशक मनाउने भनेको १८ महिना बितिसक्यो तर सरकारको नीतिगत कार्ययोजना अहिलेसम्म सार्वजनिक गरिएको छैन्। सरकारको लापरबाहीले नै पर्यटन क्षेत्रको अपेक्षित विकास हुन नसकेको हो।’
पर्यटकीय स्थल र ग्रामीण जीवनशैलीलाई भिडियो बनाएर युट्युबमार्फत देखाएर नेपालको पर्यटनलाई विश्वमाझ प्रचार र प्रसार गरिरहेका र मुलुकको पर्यटनलाई नजिकबाट हेरिरहेका कन्चन राई (घुमन्ते) का अनुसार नेपालको पर्यटनको कुनै एउटा निश्चित ढाँचा नै छैन।
‘सिजनको बेला चलेका ठाउँमा ह्वारह्वार्ती पर्यटक हुन्छन् तर कति राम्रा–राम्रा ठाउँहरू छन्, जुन पर्यटकले थाहा पाउन सकिरहेका छैनन्’, राईले भने, ‘कुनै पनि निकायले कहाँ कति पर्यटकलाई सेवा दिन सकिन्छ ? कति पर्यटक प्रवेश गराउने भनेर थ्रेसहोल्ड निर्धारण गर्ने न निकाय छ न कानुन नै।
उनका अनुसार अनियन्त्रित भिडभाडले सेवा सुविधालाई मात्र नभई त्यहाँको वातावरणलाई समेत असर गर्छ। दिगो पर्यटनको लागि यहाँको वातावरणीय र अन्य पक्षको संवेदनशीलताको ख्याल गनुपर्छ भन्ने पनि कसैले अनुभूति गरिहेका छैनन्। ‘जति पर्यटक आउँछन त्यति सबैलाई छिर्न दिन्छन र उस्तै परे डाइनिङ टेवलमासमेत सुताउँछन्’, उनले थपे, ‘दीर्घकालीन पर्यटनको विकास र विस्तार यस्तै व्यवहारले तय होला ?’
नयाँ पर्यटकीय स्थलको प्रचार प्रसार विश्वव्यापी रूपमा गर्न जरूरी छ। राईले पर्यटकलाई आकर्षित गर्न मौलिक र परम्परागत पक्षलाई उजागर गर्न सक्नुपर्ने बताए। ‘हाम्रोमा पर्यटक आउन थाले भने उनीहरू बस्ने घर स्थानीय शैलीको नभइ सिमेन्टको बनाउन थाल्छौं, त्यसपछि खानेकुरामा स्थानीय उत्पादनको खाजा/खाना नभई बजारबाट पाउरोटी र जाम ल्याएर ल्याएर ब्रेकफास्ट दिन्छौं। स्थानीय जीवनशैली र विविधता हेर्न आएका पर्यटकलाई बजारिया सेवा दिन्छौं।’
उनले भने, ‘प्राकृतिक र सांस्कृतिक विविधता महसुुस गर्न आएका पर्यटलाई हामीले आफ्नोपन दिन सकिरहेका छैनौं।’ दिगो पर्यटनको विकासको लागि सरकारले नै स्थानीय तथा समुदायस्तरबाट मौलिक तथा परम्परागत मूल्य मान्यताको महत्त्वलाई बुझाउन भूमिका खेल्नुपर्छ।
‘ग्रामीण तहका अधिकांश मानिसमा आफ्नो उत्पादन पर्यटनसँग जोडेर लाभ लिनुपर्छ भन्ने ज्ञानको कमी छ’, उनले भने, ‘यस्ता कुरा नीतिगत रूपमै ल्याई सरकारले बुझाउन सक्नुपर्छ।’ उनले सरकारी कार्यक्रम, प्रक्रिया र भूमिका एकदमै कमसल भएको धारण राख्दै निकै कम समयमा भूटानले पर्यटनको विकास र विस्तारमा फड्को मारेको देखेर पनि केही सिक्नुपर्ने बताए।
नेपाल प्राकृतिक र सांस्कृतिक विविधताका दृष्टिले धनी मुलुक हो। भौगोलिक विविधताले भरिपूर्ण नेपालमा प्राकृतिक रूपमा उच्च हिमाली र पहाडी भूभाग छन् भने समथर जमिन तराई छ। साथै सांस्कृतिक पक्षबाट हेर्ने हो भने १२५ भन्दा बढी जातजाति बसोबास गर्छन् र तिनको १२३ भन्दा बढी भाषा प्रयोग गरिरहेका छन्। त्यसैले नेपालको पर्यटनमा अर्को आकर्षक पक्ष भनेको यहाँको सांस्कृतिक पक्ष पनि हो।
पर्यटन क्षेत्रले मुलुकको कुल ग्राहस्थ्य उत्पादनमा करिब तीन प्रतिशतले योगदान पुर्याए पनि पर्यटन व्यवसायीहरूले प्रत्यक्ष परोक्ष रूपमा करिब १० प्रतिशत योगदान पुर्याएको दाबी गर्दै आएको छ। यस्तै नेपालको कुल रोजगारीमा पर्यटन क्षेत्रको योगदान ३.२ प्रतिशत रहेको छ। पर्यटन क्षेत्रमा चार लाख २६ हजार पाँच सय जनाले प्रत्यक्ष रोजगारी पाएको विश्व पर्यटन परिषद्को तथ्यांक छ। यो सन् २०१५ को तथ्यांक हो।
प्रकाशित: १९ असार २०८१ ०८:३७ बुधबार