१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

मंगलबार देखि ललितपुरमा श्रमाधान रोजगार मेला सुरु

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार देखि बाग्मती प्रदेशको ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ । दुई दिनसम्म चल्ने मेलाको सम्पूर्ण तयारी भै सकेको मन्त्रालयले जनाएको छ।

मेलाको विषयमा जानकारी दिन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका उप सचिव एवम् बाग्मती प्रदेशको श्रमाधान रोजगार मेलाका संयोजक डम्बर सुनुवारले श्रमको खोजीमा रहेका युवाका लागि श्रमाधान रोजगार मेला कोशेढुगां साबित  हुने बताए ।‘स्वदेशमा नै रोजगारी गर्न चाहने युवालाई आर्थिक र सामाजिक रुपमा स्थापित गराउन मेलाले महत्त्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने । 

मेलाले रोजगारी मात्रै हैन रोजगारीका लागि ज्ञान, सीप आर्जन गरेका युवालाई सीपको सदुपयोग कसरी ल्याउने, सीपमा निखारता कसरी ल्याउने भन्ने बिषयमा पनि जानकारी दिने उनले बताए । 

त्यस्तै, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सूर्य बहादुर कँडेलले दैनिक बिदेसिएका युवा शक्तिलाई नेपालमा नै रोजगारीको अवसरको सम्भावना देखाउन मेला महत्त्वपूर्ण भएको बताए । ‘नेपालमा रोजगारी नपाएर बिदेसिनु पर्ने अवस्था र श्रमिक नपाएर रोजगारदाताले आप्रवासी श्रमिक भित्राउनु पर्ने बाध्यतालाई सम्बोधन गर्नेछ,’ उनले भने । 

ललितपुर स्थित पाटन बहुमुखी क्याम्पसमा मंगलबार विहान ११ बजे शिक्षा, प्रविधि तथा विज्ञान मन्त्री सुमना श्रेष्ठले मेलाको उद्घाटन गर्नेछिन् । मेलामा बाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल सहितको उपस्थित हुनेछ। 

मन्त्रालयले आयोजना गरेको मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एसोसिएसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघ गर्नेछन् । मेला बुधबारसम्म सञ्चालन हुनेछ । मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल रहनेछ छन् ।

प्रकाशित: २८ जेष्ठ २०८१ १८:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App