४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ताप्लीको यारी खोलामा बन्ने भो मोटरेबल पुल

यारी खोलामा पक्की पुल शिलान्यास गर्दै अध्यक्ष विक र उपाध्यक्ष मगरलगायत। तस्बिर : महेश्वर

उदयपुरको विकट पहाडी ताप्ली गाउँँपालिकाको यारी खोलामा मोटरेबल पक्की पुल निर्माण सुरु भएको छ। गाउँपालिका केन्द्र रहेको वडा ५ रुपाटार र वडा ४ को ठानागाउँ आउजाउ गर्ने मुख्य नाका ताप्ली ३ इनामेस्थित यारी खोलाको सती जँघारमा पुल निर्माण सुरु भएको हो।

गाउँपालिकाको मुख्य सडक नुनथला–ठानागाउँ–माझखर्क खण्डअन्तर्गत पर्ने सति जँघारमा पुल नहुँदा बर्खामा आउने खोला बाढीले स्थानीयवासीलाई ओल्लो गाउँदेखि पल्लो गाउँसम्म आउजाउ गर्न धेरै समस्या छ।

त्यसैगरी गाउँपालिका मुकाम र वडा कार्यालय आउजाउ गर्न पनि अत्यन्त जोखिमयुक्त छ। वर्षायामको समस्याको दीर्घकालीन समाधान गर्न पुल निर्माण थालिएको गाउँपालिका अध्यक्ष ढुङ्गराज विकले बताए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले आउँदो तीन वर्षभित्र पुल बनाइसक्ने गरी सङ्घीय सरकारको विशेष अनुदान रकममा पुल बनाउन लागिएको बताए।

बहुवर्षीय योजनाअन्तर्गत चालु वर्ष सङ्घीय सरकारले १ करोड ९ लाख बजेट सुनिश्चित गरिदिएको रकमबाट पुल बन्न थालेको राईले बताए, जसमध्ये ३० लाख पेश्की निकासा भइसकेको र बाँकी रकम आउने क्रममा छ।

निर्माण व्यवसायीसँग गत वैशाख १० गते सम्झौता भएको पुलको सिल्यान्यास शनिबार एक कार्यक्रमबीच अध्यक्ष विक र उपाध्यक्ष धनमाया मगरले गरेका छन्। आगामी ३ वर्षभित्र अर्थात् ०८३ वैशाख ९ सम्ममा सम्पन्न गर्नुपर्ने पुल निर्माणको ठेक्का आरएन–बिएनबी-शाहिल जेवी कटारी ३ ले लिएको छ।

४ करोड ४ लाख ४१ हजार ४ सय ६३ रुपैयाँको लागत इस्टिमेट भए पनि निर्माण व्यवसायीबीच प्रतिस्पर्धा हुँदा मूल्य अभिवृद्धि कर (भ्याट) सहित ३ करोड ५९ लाख ९० हजार ८ सय ४१ मा ठेक्का सकार भएको गाउँपालिकका इन्जिनियर मनीषकुमार यादवले बताए।

इन्जिनियर यादवका अनुसार ७.४० मिटर चौडाइ र २०.६२ मिटर लामो उक्त पुलको दुवैतर्फ पैदल यात्राका लागि १.४० मिटर सडक पेटी र ६ मिटर सवारी आउजाउ गर्न मिल्ने छ। पुल निर्माणपछि इनामे र ठानागाउँसँगै गाउँपालिकाका पाँचवटै वडावासी लाभान्वित हुने छन्।

प्रकाशित: २० जेष्ठ २०८१ ०८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App