३ कार्तिक २०८१ शनिबार
image/svg+xml
अर्थ

चिनियाँ र अमेरिकीहरू किन सुन किन्दैछन् ?

सुनमा त्यति रुचि नराख्ने अमेरिकीहरू अहिले कीर्तिमानी तहमा सुनमा लगानी गरिरहेका छन्। उनीहरूलाई सुनको गहनामा रुचि भएर यसमा लगानी गरिरहेका भने होइनन्। पछिल्ला केही वर्षमा सुनको भाउ अकासिएको देखेपछि वैकल्पिक लगानी गर्न थालेका हुन्।

हुन पनि गत वर्षको अक्टोबर यता सुनको भाउमा ४० प्रतिशत वृद्धि भएको छ। रुस र युक्रेन युद्ध, इजरायल–प्यालेस्टाइन क्षेत्रमा बढ्दो अशान्ति र यो अशान्ति अन्यत्र पनि बढ्ने सम्भावना देखेका कारण अमेरिकी सर्वसाधारणले पनि वैकल्पिक लगानीका रूपमा सुन किन्न थालेका छन्।

त्यसो त सुन संकलनमा चिनियाँहरूको चासो पनि उत्तिकै बढेको छ। चीनको आर्थिक सुस्तता बढ्दै जान थालेपछि सर्वसाधारण चिनियाँहरूमाझ सुनका डल्ला किन्ने चासो बढेको हो। लगानीका क्षेत्र खुम्चँदै जानुले उनीहरूलाई सुनतर्फ आकर्षित गरेको विश्लेषकहरू बताउँछन्।

गएको मार्च यता चीनमा सुनको आयात ४० प्रतिशतले बढेको छ। सात वर्षमा पहिलो पटक यति धेरै आयात भएको हो। चिनियाँहरू बढीभन्दा बढी मूल्य तिर्न राजी भएका कारण पनि एसियाली बजारमा सुनको भाउ अकासिएको हो।

सुनमा यत्रो लगानी कसले गरिरहेको छ त ? विश्लेषकहरू भन्छन्, सुनमा सर्वसाधारणको चासो बढेर गएको छ। सर्वसाधारणको चासो बिना यत्रो सुन कसैले पनि किन्दैन। सन् २०१९ र २०२३ को अध्ययनमा अहिले सुनको बजार ३६ प्रतिशतले बढेर गएको छ।

सन् २०२२ मा युक्रेनमाथि रुसले आक्रमण गरेयता नै अमेरिकी सर्वसाधारणले सुन किन्ने हतारो देखाएका थिए। सुनप्रतिको चासोमा डलरको भाउ जुनसुकै बेला घट्ने आशंकाले पनि काम गरेको केहीको धारणा छ। संसारभर नै ऋणको तह उक्लिएको छ।

अघिल्ला वर्षहरूको तुलनामा ऋणको मात्रा २४ प्रतिशतले बढेको छ। जुन बेला यो ऋणको भाँडो विष्फोट हुन्छ, कैयौँ देशको अर्थतन्त्र धराशायी हुने डरका कारण सर्वसाधारणले सुनमा लगानी बढाएको सिटी ग्रुपका अमेरिकी कमोडिटी प्रमुख आकाश दोषी बताउँछन्। त्यसैले अबका ६ देखि अठार महिनाभित्र सुनको भाउ अकासिएर अर्को तहमा पुग्ने उनको प्रक्षेपण छ। –एजेन्सी

प्रकाशित: २ जेष्ठ २०८१ ०८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App